काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज गृहमन्त्री लेखकले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सबैभन्दा महत्वपूर्ण विषय भएकाले मौसम पूर्वानुमान सम्बन्धी सूचनाको जानकारी गराउने र सूचना प्रणालीलाई थप व्यवस्थित बनाउने कार्यमा सरकार लागिरहेको जानकारी दिनुभयो ।
मन्त्री लेखकले जोखिम उत्पन्न भयो भने त्यसको प्रतिकार्य खोज, उद्धार, राहत, पुर्ननिर्माण र पुनः स्थापनाका लागि सरकार देशैभर तयारी अवस्थामा रहेको पनि जानकारी गराउनुभयो ।
यही असार २४ गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी बेपत्ता भएकाहरूको खोजीकार्य भइरहेको मन्त्री लेखकले जानकारी दिनुभयो ।
मन्त्री लेखकले बाढीमा परेर मृत्यु भएकाहरूका परिवारलाई र कानुनी व्यवस्थाअनुसार १० दिनसम्म पनि फेला नपरेका व्यक्तिहरूलाई मृतकसरह मानी प्रतिपरिवार दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको पनि जानकारी गराउनुभयो ।
बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवाको भोटेकोसी नदीमा गएको बाढीबाट पुगेको क्षति र भइरहेको कामका विषयमा जानकारी गाउनुभएको थियो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर भट्टले बाढीमा परेकामध्ये हालसम्म ११ जनाको शव फेला परेको र १७ जना बेपत्ता रहेको जानकारी गराउनुभयो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर भट्टले घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको जानकारी दिँदै ७ सय ४९ जनालाई स्थलगत उद्धार र २ सय जनाको हवाई उद्धार भएको पनि बताउनुभयो ।
बैठकमा सांसदहरुले सरकारले विपद् जोखिम कम गर्न सकिने खालका सबै तयारी गर्नुपर्ने, पूर्व सूचना प्रणालीलाई सबै ठाउँमा पुर्याउनुपर्ने र थप व्यवस्थित बनाउनुपर्ने, विपद् न्यूनीकरणका लागि प्रशिक्षण दिनुपर्ने धारणा राख्नुभयो ।
सांसदहरुले विपद् कोषको जिम्मेवारी स्थानीय तहलाई दिने गरी कार्यविधि बनाउनुपर्ने, हिमतालहरूको अध्ययनका लागि भूगर्भ विभागसँग सहकार्य गर्नुपर्ने र विपद् भनेको राहत र उद्धार मात्र हो भन्ने बुझाइमा सुधार गर्नुपर्नेलगायतका धारणा राख्नुभयो ।