वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंजमा भ्रष्टाचारजन्य कार्यहरु बढीरहेकोमा सेवाग्रहीहरु सास्ती भोग्न बाध्य भएको समाचार प्राप्त भएको छ । कार्यालय प्रमुख कुशेश्वर साहले मोटरसाईकल फाँट, टेक्टर फाँट, ठूलो सवारी फाँट, लेखा फाँट, प्राविधिक फाँट लगायतकाहरुमा दररेट तोकेर मासिक रुपमा असुली गर्न थाले पछि फाँटका आधिकारीक कर्मचारीहरु सेवाग्रहीहरुलाई दुहुनो गाई बनाएको स्रोतले जनाएको छ ।
सेवाग्रहीहरु सँग फाँटका कर्मचारीहरुले आफै घुसको रकम नलिई आफ्ना बिचौलियाहरु मार्फत लिने गरेको बताईन्छ । कार्यालयको प्रायः फाँटहरुमा बिचौलियाहरु राखिएको छ, जुन कर्मचारीहरुको हैसियतमा अनाधिकृत तरिकाले कुर्सीमा बस्ने गर्दछन् ।
सेवाग्रहीहरु ती कार्यालयको आधिकारीक कर्मचारी हो भन ठानेर मरमोलाई गरी आफ्नो काम गराएर फर्किने गरेको आईतवार काम गराउन गएका एक सेवाग्रहीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । सो कार्यालयमा करिब डेढ दर्जन बिचौलियाहरु फाँटहरुमा बस्ने गरेको सहजै हेर्न सकिन्छ । बेला–बेलामा बिचौलियाहरुलाई प्रहरीले छापा हानी पक्राउ गरे पनि भरपर्दो कारवाही नगरी यतिकै छाडदा सेवाग्रहीहरु झन सास्ती भोग्न बाध्य भएका छन् ।
कार्यालय प्रमुख कुशेश्वर साह यस भन्दा अगाडि वीरगंज यातायातको प्रमुख भएर यहाँको भ्रष्टाचार सन्दर्भमा सुक्ष्म तरिकाले अनुभव बटुलीसकेकाले उनलाई असुली गर्न सहज भईरहेको स्रोतले जनाएको छ ।
सवारी शाखाको अलावा सवारी चालक अनुमति पत्रमा पनि लिखित प्रमुख बद्री दाहाल र ट्रायल प्रमुख रामसुन्दर महतोको मिलोमतोमा व्यापक अनियमित्ता भईरहेको स्रोतको कथन रहेको छ ।
सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई रकम लिएर पास गराउने कार्य भईरहेको ती स्रोतले जनाएको छ ।
यस सन्दर्भमा कार्यालय प्रमुख कुशेश्वर साह सँग मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा कल फरवार्ड गरेकोले सम्पर्क हुन सकेन ।