काठमाडौँ । “जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन,” ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले शुक्रबार आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा भन्नु भयो।
मन्त्री खड्काले उत्पादित विद्युतको उचित मूल्य प्राप्त गर्दै मुलुकलाई समृद्ध बनाउने यात्रामा सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो।
समृद्धि इनर्जी प्रालिको अगुवाइमा निर्माणाधीन उक्त आयोजनाको वित्तीय व्यवस्थापनका लागि आयोजित कार्यक्रममा मन्त्री खड्काले निजी क्षेत्रको उत्साहजनक सहभागिताले ऊर्जा क्षेत्रमा नयाँ आशा थपिएको बताउनुभयो। “निर्माणकालागि आवश्यक सम्पूर्ण वित्तीय व्यवस्थापनको चरण पार भएको छ। अब यो आयोजना समयमै सम्पन्न हुने विश्वासका साथ अघि बढाइएको छ,” मन्त्री खड्काले भन्नुभयो।
उहाँले ऊर्जा मन्त्रालय मुलुकको दीर्घकालीन समृद्धिको आधार ऊर्जा क्षेत्र हो भन्ने बुझाइका साथ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्नुभयो। “हामी निजी क्षेत्रलाई निरुत्साहित गर्ने प्रवृत्तिलाई स्थान दिन्दैनौं। बुझाइ र भोगाइमा आधारित अवरोधहरूले अब विकास रोकिनेछैन,” उहाँको जोड थियो।
मन्त्री खड्काले लामो समयदेखि विद्युत खरिद सम्झौता पीपीए रोकिएको, बजार सुनिश्चितता नभएको र ट्रान्समिशन लाइनको अभावजस्ता समस्याले निजी क्षेत्र हतोत्साहित बनेको भए पनि अब ती अवरोध क्रमशः हट्दै गएको बताउनु भयो। “देशभित्र १३ हजार ५ सय मेगावाट विद्युत खपत गर्न सकिने सम्भावना छ। भारत र बंगलादेश निर्यात सुरु भइसकेको अवस्थामा अब हाम्रा स्रोत र उत्पादनको सदुपयोग नगर्ने प्रवृत्तिले देशलाई पछि पार्छ,” मन्त्री खड्काले स्पष्ट गर्नुभयो।
“हामी जनताको पसिना बेचेर समृद्धि ल्याउन चाहन्छौं, तर खून बेच्ने कुरा हुँदैन,” भन्दै उहाँले राष्ट्रिय स्रोत साधनको समयमै उपयोग गरेर दिगो आर्थिक विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। यस्ता आयोजनाहरूमा देखिने समस्या समाधान गर्ने जिम्मा सरकारले लिनैपर्छ भन्ने धारणा पनि उहाँले राख्नुभयो।
उक्त अवसरमा समृद्धि इनर्जीका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र गुरागाईं र कुमारी बैंकका तर्फबाट रामचन्द्र खनालबीच वित्तीय व्यवस्थापन सम्झौतापत्रमा हस्ताक्षर भई कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि, ऊर्जा विज्ञहरू, निर्माण क्षेत्रका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले माथिल्लो सेती आयोजना नेपालको ऊर्जा सुरक्षाको दृष्टिकोणले मात्र नभई आर्थिक उत्थानका लागि पनि महत्वपूर्ण कडी हुने धारणा व्यक्त गरेका थिए।