काठमाडौँ । काठमाडौँमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गरेर चुनावी मैदानमा होमिएका छन् ।
कांग्रेसमा नयाँलाई प्राथमिकता
प्रमुख दलले युवा र समाजका विभिन्न क्षेत्रमा परिचित अनुहारलाई उम्मेदवार बनाउँदा केही क्षेत्रमा पुरानैले दोहो¥याएर अवसर पाएका छन् । कांग्रेसले काठमाडौँका १० मध्ये नौ वटा क्षेत्रमा नयाँलाई अवसर दिएको छ । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसका नेता प्रकाशमान सिंहले २०७९ मा जितेको काठमाडौँ क्षेत्र नं. १ मा युवा नेता ४२ वर्षीय प्रबल थापाक्षेत्रीलाई उम्मेदवार बनाएको छ ।
कांग्रेस काठमाडौँ क्षेत्र नं. २ का सभापति ३७ वर्षीय कविर शर्मा फुयाँल काठमाडौँ क्षेत्र नं. २ बाट उम्मेदवार हुनुहुन्छ । त्यसै गरी काठमाडौँ क्षेत्र नं. ३ मा ५९ वर्षीय रमेश अर्याल र काठमाडौँ क्षेत्र नं. ४ मा युथ कांग्रेसका पूर्वसभापति एवं युवा राजनीतिज्ञ ३३ वर्षीय सचिन तिमल्सिना उम्मेदवार हुनुभएको छ । उहाँहरू चारै जना नयाँ हुनुहुन्छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौँ क्षेत्र नं. ५ मा पुनः उम्मेदवार हुनुभएको छ । ५० वर्षीय पौडेल २०७९ मा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ क्षेत्री काठमाडौँ क्षेत्र नं. ६ बाट उम्मेदवार हुनुभएको छ । ६१ वर्षीय बानियाँ पहिलो पटक संसद् प्रवेशको प्रयासमा हुनुहुन्छ ।
काठमाडौँ क्षेत्र नं. ७ मा कांग्रेसका प्रमोदहरि गुरागाईं उम्मेदवार हुनुभएको छ । ५१ वर्षीय गुरागाईं पहिलो पटक जनप्रतिनिधिका रूपमा अनुमोदित हुने प्रयत्नमा हुनुहुन्छ । विघटित प्रतिनिधि सभा सदस्य सपना राजभण्डारी काठमाडौँ क्षेत्र नं. ८ मा उम्मेदवार हुनुहुन्छ । उहाँ नेता नवीन्द्रराज जोशीको निधनपछि औपचारिक राजनीतिक जीवन आरम्भ गर्नुभएकी ५९ वर्षीय राजभण्डारी २०७९ मा समानुपातिक सांसद भएर संसद् प्रवेश गर्नुभएको थियो । कांग्रेसले केन्द्रीय सदस्य नानुमैया बाँस्तोलालाई काठमाडौँ क्षेत्र नं. ९ मा उम्मेदवार बनाएको छ । ४४ बाँस्तोला सामाजिक क्षेत्रसँगै राजनीतिमा क्रियाशील रहे पनि पहिलो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएको हो । काठमाडौँ क्षेत्र नं. १० मा कांग्रेसले हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ । ५५ वर्षीय कार्की तत्कालीन गाउँ विकास समितिमा जनप्रतिनिधिका रूपमा काम गरे पनि प्रतिनिधि सभाको उम्मेदवार पहिलो पटक हुनुभएको हो ।
एमालेका ५० माथिका धेरै
नेकपा (एमाले) ले काठमाडौँ क्षेत्र नं. १ मा मोहनराज रेग्मीलाई उम्मेदवार बनाएको छ । ५६ वर्षीय रेग्मी पहिलो पटक उम्मेदवार बन्नुभएको हो । काठमाडौँ क्षेत्र नं. २ मा मणिराम फुयाँल एमालेका उम्मेदवार हुनुहुन्छ । ६० वर्षीय फुयाँल २०७४ मा प्रदेश सभा सदस्य र २०७९ मा प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभएको थियो । काठमाडौँ क्षेत्र नं. ३ मा रामेश्वर फुयाँलले उम्मेदवारी दिनुभएको छ । ६३ वर्षीय फुयाँल संविधान सभा सदस्य एवं २०७४ मा बागमती प्रदेश सभा सदस्य हुनुहुन्थ्यो ।
काठमाडौँ क्षेत्र नं. ४ मा एमाले सचिव डा. राजन भट्टराई उम्मेदवार हुनुहुन्छ । ५७ वर्षीय भट्टराई २०७४ र २०७९ मा कांग्रेस सभापति गगनकुमार थापासँग पराजित हुनुभएको थियो । काठमाडौँ क्षेत्र नं. ५ मा एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी दिनुभएको छ । २०७४ मा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी ७२ वर्षीय पोखरेल २०७९ मा कांग्रेस महामन्त्री प्रदीप पौडेलसँग पराजित हुनुभएको थियो ।
काठमाडौँ क्षेत्र नं. ६ मा एमालेका अमनकुमार मास्केले उम्मेदवारी दिनुभएको छ । ५३ वर्षीय मास्के प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । काठमाडौँ क्षेत्र नं. ७ मा प्रकाश श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । ४७ वर्षीय श्रेष्ठले दुई कार्यकाल प्रदेश सभा सदस्यको जिम्मेवारीमा काम गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं. ८ मा राजेश शाक्य उम्मेदवार हुनुहुन्छ । ५८ वर्षीय शाक्य २०७४ मा प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । काठमाडौँ क्षेत्र नं. ९ मा अजयक्रान्ति शाक्य उम्मेदवार हुनुहुन्छ । ५७ वर्षीय शाक्य २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । त्यसै गरी काठमाडौँ क्षेत्र नं. १० मा विनोद श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । ६१ वर्षीय श्रेष्ठले संविधान सभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो ।
युवामय नेकपा
नेपाली कम्युनिस्ट पार्टीले युवालाई प्राथमिकता दिएको छ । काठमाडौँ क्षेत्र नं. १ मा मेनुका भण्डारी (कृतु) लाई उम्मेदवार बनाएको छ । ३८ वर्षीय भण्डारी विद्यार्थी राजनीतिसँगै रुसी सेनामा भर्ती भएका नेपालीको जीवनरक्षाका लागि सक्रिय हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं. २ मा नीतेश पौडेललाई उम्मेदवार बनाएको छ । पहिलो पटक नै उम्मेदवार भएका ३८ वर्षीय पौडेल नेकपा केन्द्रीय सदस्य हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं. ३ मा नीरज लामा उम्मेदवार हुनुहुन्छ । ४५ वर्षीय लामा नेकपाका काठमाडौँ महानगरपालिकाका अध्यक्ष हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं. ४ मा इन्द्रकुमार भुसाल उम्मेदवार हुनुभएको छ । ४० वर्षीय भुसाल नेकपा केन्द्रीय सदस्य हुनुहुन्छ ।
काठमाडौँ क्षेत्र नं. ५ मा नेकपाले कल्पना शर्मालाई उम्मेदवार बनाएको छ । पहिलो पटक उम्मेदवारी दिएकी ४८ वर्षीय शर्मा पनि केन्द्रीय सदस्य हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं. ६ मा हेमलाल शर्मा (हिमाल) उम्मेदवार हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट उदाएका ५६ वर्षीय शर्मा २०७० मा पनि उम्मेदवार हुनुहुन्थ्यो ।
काठमाडौँ क्षेत्र नं. ७ मा वसन्तप्रसाद मानन्धर उम्मेदवार हुनुहुन्छ । ५४ वर्षीय मानन्धर दुई कार्यकाल प्रदेश सभा सदस्यको जिम्मेवारीमा रहिसक्नुभएको छ । काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमि उम्मेदवार हुनुभएको छ । सामाजिक अभियन्ता एवं राजनीतिज्ञ ५२ वर्षीय सायमि यसअघि सोही क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो । काठमाडौँ क्षेत्र नं. ९ मा राधाकृष्ण महर्जन उम्मेदवार हुनुहुन्छ । ५४ वर्षीय महर्जन नेवा सभ्यता र संस्कृति संरक्षण अभियन्ता हुनुहुन्छ । नेकपाले काठमाडौँ क्षेत्र नं. १० मा रूपा महर्जन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । ४५ वर्षीय महर्जनले २०७० मै समानुपातिक सदस्य भएर प्रतिनिधि सभामा काम गर्नुभएको छ ।
रास्वपाबाट मिश्रित प्रतिनिधित्व
राष्ट्रिय स्वतन्त्र पार्टीले युवा र महिलालाई मिलाएर उम्मेदवार मनोनयन दर्ता गराएको छ । काठमाडौँ क्षेत्र नं. १ मा रञ्जु दर्शना न्यौपाने उम्मेदवार हुनुहुन्छ । ३० वर्षीय न्यौपाने काठमाडौँ महानगरसँगै प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएर प्रतिस्पर्धा गरिसक्नुभएको छ । काठमाडौँ क्षेत्र नं. २ मा सुनील केसी उम्मेदवार हुनुहुन्छ । २०७९ मा राप्रपाबाट बागमती प्रदेश सभा सदस्य निर्वाचित सामाजिक अभियन्ता ४३ वर्षीय केसीले उक्त पदबाट राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएको हो । काठमाडौँ क्षेत्र नं. ३ मा राजुनाथ पाण्डे उम्मेदवार बन्नुभएको छ । ५५ वर्षीय पाण्डे काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख भएपछि चर्चामा आउनुभएको हो । काठमाडौँ क्षेत्र नं. ४ मा रास्वपाका उम्मेदवार पुकार बम हुनुहुन्छ । विवेकशील नेपाली दलबाट राजनीतिक अभियानमा सव्रिmय ३८ वर्षीय बम २०७९ मा काठमाडौँ क्षेत्र नं. १ मा उम्मेदवार हुनुहुन्थ्यो । काठमाडौँ क्षेत्र नं. ५ मा सस्मित पोखरेल उम्मेदवार हुनुभएको छ । २९ वर्षीय पोखरेलले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहका शिक्षा सल्लाहकार भएर काम गर्नुभएको थियो । काठमाडौँ क्षेत्र नं. ६ मा शिशिर खनाल उम्मेदवार बन्नुभएको छ । पूर्वमन्त्री ४७ वर्षीय खनाल २०७९ मा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । काठमाडौँ क्षेत्र नं. ७ बाट गणेश पराजुली उम्मेदवार हुनुभएको छ । ४६ वर्षीय पराजुली २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । काठमाडौँ क्षेत्र नं. ८ बाट विराजभक्त श्रेष्ठ उम्मेदवार हुनुभएको थियो । पूर्वमन्त्री ४४ वर्षीय श्रेष्ठ २०७९ मा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
काठमाडौँ क्षेत्र नं. ९ बाट रास्वपा उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दिनुभएको छ । पूर्वमन्त्री ५१ वर्षीय अर्याल २०७९ मा समानुपातिक कोटाबाट सांसद हुनुभएको थियो । काठमाडौँ क्षेत्र नं. १० मा प्रदीप विष्ट उम्मेदवार हुनुभएको छ । ५१ वर्षीय विष्ट पहिलो पटक उम्मेदवार हुनुभएको हो ।
अन्य चर्चित उम्मेदवार
राजनीतिक दलहरूले युवालाई प्राथमिकतामा राख्दा सामाजिकसँगै व्यावसायिक जीवनमा प्रसिद्धि आर्जन गरेका उम्मेदवार पनि प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवारीमा रहेका कुलमान घिसिङले काठमाडौँ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनुभएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष ५५ वर्षीय घिसिङले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
तत्कालीन राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपाका तर्फबाट काठमाडौँ क्षेत्र नं. ५ मा उम्मेदवारी दिनुभएको छ । ७० वर्षीय थापाले २०७९ मा मकवानपुर क्षेत्र नं. १ बाट सूर्य चिह्न लिएर उम्मेदवारी दिए पनि पराजित हुनुभएको थियो । काठमाडौँ क्षेत्र नं. १ बाट राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र उम्मेदवार हुनुहुन्छ । २०७४ र २०७९ का सोही क्षेत्रबाट पराजित ६० वर्षीय मिश्र सञ्चारकर्मी छोडेर राजनीतिमा होमिनुभएको हो । काठमाडौँ क्षेत्र नं. ३ मा नेकपा माओवादीका शेखरनाथ आचार्य उम्मेदवार हुनुभएको छ । ६० वर्षीय आचार्य काठमाडौँका नदी र खोला संरक्षणको पक्षमा क्रियाशील हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं. ५ मा गतिशील लोकतान्त्रिक पार्टीबाट कलाकार निशा अधिकारी उम्मेदवार हुनुहुन्छ । ३९ वर्षीय अधिकारीले कला क्षेत्रमा अढाई दशकभन्दा बढी समय बिताउनुभएको छ । त्यसै गरी काठमाडौँ क्षेत्र नं. ९ बाट नेकपा माओवादीका नेता माइला लामा उम्मेदवार हुनुभएको छ । ५३ वर्षीय लामा माओवादीको जनयुद्धदेखि जनकलाकार, कवि र सङ्घर्षशील राजनीतिज्ञका रूपमा उदाउनुभएको हो ।
नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल, श्रम संस्कृति पार्टीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमा २५० जनाको उम्मेदवारी परेको छ ।