काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ नेपाली सेना मुलुकभर बुधबारबाट परिचालित हुने भएको छ । निर्वाचनको महिना दिनअघिबाटै परिचालन गर्ने योजनाअनुसार सेना बुधबारबाट परिचालित हुने भएको हो । सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय भएको छ । सोही फौज बुधबारबाट फिल्डमा देखिने गरी परिचालन हुन लागेको हो ।
परिचालित सेना एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार फिल्डमा खटिनेछन् । सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले निर्वाचन सुरक्षार्थ नेपाली सेना बुधबारबाट फिल्डमा परिचालित हुने बताए । ‘निर्वाचन हुनभन्दा एक महिनाअघिबाटै परिचालन गर्ने म्यान्डेटअनुसार सेना आगामी २१ माघदेखि फिल्डमा खटिनेछन् । यसका लागि आवश्यक सबै तयारी पूरा भएको छ । सेना एकीकृत सुरक्षा योजनाले दिएको म्यान्डेटअनुसार नै फिल्डमा खटिनेछ,’ उनले भने ।
सुरक्षा योजनाअनुसार सेना निर्वाचन सुरक्षाको तेस्रो घेरामा रहनेछ । यो भनेको प्रत्येक मतदानस्थल आसपासका क्षेत्रमा संयुक्त तथा एकल गस्ती गर्ने, भिभिआइपी तथा भिआइपी रहने निवास क्षेत्रको सुरक्षा गर्नु हो । त्यसबाहेक कारागार, सुरक्षा निकायका हेडक्वार्टर, बैंक, विमानस्थलजस्ता सामरिक महŒवका क्षेत्र सुरक्षा गर्ने जिम्मा पनि सेनाको रहनेछ । यसका लागि आवश्यक बेस स्थापना गर्नुपर्ने हुन्छ । परिचालित सेनाले पहिलो चरणमा यही काम गर्नेछ । जसका लागि आवश्यक सहयोग सेनाले जिल्लास्थित गुल्म, गण, बाहिनी र प्रदेशस्थित पृतनाबाट लिनेछ । ‘फिल्डमा परिचालित हुन सेनाले आफ्नो बेस बनाउनुपर्ने हुन्छ । बुधबारबाट परिचालित सेनाले बेस स्थापना गर्नेछ । सोही बेसबाट सेनाले निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध जुटाउनेछ । यसका लागि आवश्यक सहयोग जिल्लास्थित गुल्म, गण, बाहिनी, प्रदेशस्थित पृतनाबाट लिनेछ,’ बस्नेतले भने ।
गृह मन्त्रालयले गत ३० कात्तिकमै एकीकृत निर्वाचन सुरक्षा योजना, ०८२ स्वीकृत गरेको थियो । सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर र निर्वाचन प्रहरी गरी कुल तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी निर्वाचनको दौरानमा खटिँदै छन् । जसअनुसार सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ४९७, सशस्त्र प्रहरी ३४ हजार ५७६, निर्वाचन प्रहरी एक लाख ४९ हजार ९० र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर एक हजार ९२१ खटाउने निर्णय भएको छ ।
सेना, प्रहरी र सशस्त्रका सुरक्षा फौजबिच सुरक्षा कार्यविधि स्वीकृत भएलगत्तै संयुक्त रूपमा आवश्यक तालिम यसअघिबाटै चल्दै आएका छन् । यसक्रममा उनीहरूले संयुक्त पेट्रोलिङ, ड्रिलिङ, गस्तीलगायत तालिम लिइरहेका छन् । यसक्रममा भिभिआइपी र भिआइपी क्षेत्र तथा व्यक्तिको सुरक्षाका क्रममा अपनाइने रणनीति, निर्वाचन बिथोल्ने समूहको पहिचान र कारबाहीजस्ता विषयमा पनि उनीहरूले तालिम लिएका छन् । निर्वाचनका वेला हुन सक्ने झडप रोक्न अपनाइने आवश्यक तयारी, उम्मेदवारको सुरक्षा, मतपेटिकाको रक्षाजस्ता विषयमा पनि उनीहरूले तालिम लिएका छन् ।
निर्वाचन प्रहरीले लिए नियुक्ति
निर्वाचन सुरक्षार्थ सरकारले मुलुकभर छनोट भएका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरीले आइतबार नियुक्तिपत्र पाएका छन् । नियुक्तिपत्र लिएकाको तालिमसमेत सुरु भइसकेको छ । उनीहरूलाई १० दिन तालिम दिइनेछ । त्यसलगत्तै निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइनेछ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले छनोट भएका निर्वाचन प्रहरीलाई नियुक्तिपत्र दिइएको र उनीहरूको तालिमसमेत सुरु भएको बताए । उनले भने, ‘मुलुकभर छनोट भएका सबै निर्वाचन प्रहरीले आइतबार नियुक्तिपत्र लिएका छन् । उनीहरूको तालिम पनि सुरु भइसकेको छ । अब १० दिन उनीहरू तालिममा रहनेछन् । त्यसलगत्तै उनीहरूलाई निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइनेछ । टेकराज थामी / नयाँ पत्रिका