काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट् नारुहितोले नेपाल–जापानबिचको मित्रतालाई प्रगाढ बनाउँदै भविष्यमा थप बलियो बनाउने प्रतिबद्धता जनाउनुभएको छ । दुई राष्ट्रप्रमुखबिच मङ्गलबार जापानमा भएको उच्चस्तरीय द्विपक्षीय राजकीय भेटवार्तामा दुई देशबिचको ७० वर्ष लामो मित्रतालाई आपसी सहयोग र साझेदारीका बलमा सम्बन्धको आयामलाई थप उच्च बनाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । जापानको चारदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट् नारुहितो बिच इम्पेरियल प्यालेस टोकियोमा उच्चस्तरीय द्विपक्षीय राजकीय भेटवार्ता भएको हो ।
भेटवार्तामा राष्ट्रपति पौडेलले सम्राट् नारुहितोसामु नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार बनेर निरन्तर गर्दै आएको सहयोग र भूमिकाको उच्च कदर गर्दै प्रशंसा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले भन्नुभयो, “जापानले नेपाललाई मानव संसाधन विकाससँगै पूर्वाधार विकास, स्वास्थ्य, कृषि, वातावरण संरक्षण, मौलिक संस्कृतिको जगेर्नालगायतका बृहत्तर क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली जनता अत्यन्त लाभान्वित भएका छन् ।” साथै उहाँले दुवै देश गौतम बुद्धको शिक्षा र आदर्शबाट प्रेरित रहेको प्रस्ट्याउनुभयो । राष्ट्रपति पौडेलले थप्नुभयो, “बुद्धको जन्म स्थल लुम्बिनीले नेपाल र जापानका जनताबिचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ ।”
भेटवार्ताका क्रममा, नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर, आपसी मित्रता, सद्भाव र सहयोगको गहिरो भावनाले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा आपसी धारणा आदानप्रदान गर्नुभएको मन्त्रालयले स्पष्ट पारेको छ ।
उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बताएको भन्दै राष्ट्रपति पौडेलले समय अनुकूल मिलाएर सम्राज्ञीसहित सम्राट् नारुहितोलाई नेपाल भ्रमणका लागि निम्तो दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट् नारुहितोले नेपालमा गर्नुभएको मैत्रीपूर्ण उच्चस्तरीय भ्रमणका क्रममा काठमाडौँ, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमणको स्मरण सम्राट् नारुहितोलाई गराउनुभयो । साथै उहाँले सन् २०२० मा जापान सरकारका तर्फबाट आफूलाई ‘ग्रान्ड कर्डन अफ दी अर्डर अफ दी राइजिङ सन’ को सम्मानबाट विभूषित गर्नुभएकोमा सम्राट् र जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि पनि कृतज्ञता प्रकट गर्नुभयो ।
नेपाल भ्रमणको स्मरण
द्विपक्षीय भेटका अवसरमा जापानका सम्राट् नारुहितोले नेपाल–जापान कूटनीतिक सम्बन्धको गहिराइ गहन रहेको बताउनुभयो । त्यसैले पनि सम्बन्धलाई अझ प्रगाढ बनाउन वार्षिकोत्सव समारोह थप हर्षोल्लासका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा उहाँले सन् १९८६ मा आफूले गरेको नेपाल भ्रमणको याद आफ्नो मनमा अझै ताजा रहेको स्मरण गर्नुभयो । नेपाल आउँदाका बेला सम्राट् नारुहितोले पोखरामा सराङ्कोटको पदयात्रा गर्दा त्यहाँ महिलाले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा मिलेको सन्दर्भ कोट्याउनुभएको थियो । उहाँले नेपाल हिमालको काखमा रहेको सुन्दर देश रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । पुरानो तर सदाबहार मित्रका रूपमा नेपाललाई लिएकाले पनि हर अवस्थामा जापान सरकारले सकेसम्म सहयोग गर्ने प्रतिबद्धता सम्राट् नारुहितोले राष्ट्रपति पौडेलसमक्ष व्यक्त गर्नुभयो ।
शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखियता दुई देशको सम्बन्ध अझ निकटता र गहन गहिरो मित्रताका साथ अघि बढेको प्रस्ट पार्नुभएको छ । राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री ताकाइची सनायले टोकियोमा गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले आपसी सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग आगामी दिनमा अझ गहन रूपमा मिलेर काम गर्न चाहेको पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले भन्नुभयो, “हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौँ, दुई मुलुकबिचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौँ ।”

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव दुई देशबिच स्थापित द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै उहाँले यस प्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत र सुमधुर तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको सामाजिक र आर्थिक विकासमा जापान प्रमुख विकास साझेदार रहेको औँल्याउँदै राष्ट्रपति पौडेलले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको अवगत गराउनुभयो । राष्ट्रपति पौडेलले जापानका प्रधानमन्त्रीसँग भन्नुभयो “लगानी आकर्षित गर्दै नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी बढाउन र नवप्रवर्तनलाई प्रवर्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ ।”
जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक तथा स्वयंसेवी मानव संसाधनलगायतका माध्यमबाट गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्वपूर्ण योगदान पुगेको पनि राष्ट्रपति पौडेलले स्मरण गर्नुभयो । यसै वर्ष नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले थप सहयोग आशा राखेको उहाँले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “त्यसका लागि जापानबाट, सदा झैँ सहयोग र सद्भाव प्राप्त गर्ने नै छ भन्ने विश्वास लिएको छु ।” उहाँले जापानमा चाँडै हुन लागेको आमनिर्वाचनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नेपालको स्थायित्वको कामना
सो अवसरमा जापानका प्रधानमन्त्री ताकाइची सनायले नेपालको स्थायित्व जापानका लागि र यस क्षेत्रकै लागि महत्वपूर्ण भएको स्पष्ट पार्नुभयो ।
नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको पनि प्रस्ट पार्नुभयो । निर्वाचनका लागि आवश्यक हार्दिकतासहितको साथ जापानको रहेको पनि उहाँले राष्ट्रपति पौडेलसमक्ष बताउनुभयो । निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने तयारी गरेको पनि जानकारी गराउनुभयो ।
उहाँले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीको आवतजावत र नेपाल पुगेर जापानी नागरिकले नेपालका हिमाल चढ्ने गरेको स्मरण गर्दै यसले दुई देशबिचको सम्बन्ध प्रगाढ बनाउनुका साथै आपसी हितमा बढावा गर्ने जापानका प्रधानमन्त्रीले धारणा व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री सनायले नेपाल–जापान कूटनीतिक सम्बन्धका अवसरमा दुवै देशबिचको सम्बन्ध झन् प्रगाढ होस् भन्दै जापानले नेपालको सूचना प्रविधिको क्षेत्रमा र लोकतन्त्र संस्थागत गर्नका लागि निरन्तर सहयोग प्रतिबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उहाँहरूबिच कूटनीतिक सम्बन्ध स्थापनापछि विगत ७० वर्षमा नेपाल र जापानबिच रहेको उत्कृष्ट सम्बन्धको समीक्षा गर्दै आगामी वर्षमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा छलफल भयो । जापान सरकारको निमन्त्रणामा नेपाल–जापानबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा त्यहाँ आयोजित विशेष समारोहमा सरिक हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार जापान पुग्नुभएको हो ।
वार्षिकोत्सवका अवसरमा आयोजित विशेष स्वागत समारोहमा सरिक हुनुका साथै उहाँले जापानका व्यापारिक समुदायका सदस्यसँग छलफल गर्नुभएको थियो । साथै त्यहाँस्थित नेपाली दूतावासको भ्रमण गर्नुभएको थियो । सोमबार नै विदेश राज्यमन्त्री होरी इवाओले उहाँसमक्ष शिष्टाचार भेट गर्नुभएको थियो । जापानको चारदिने राजकीय भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमा बस्ने नेपालीको योगदान महत्वपूर्ण
राष्ट्रपति पौडेलले जापानमा बस्ने नेपालीले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मङ्गलबार यहाँ आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । “आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सिप, पुँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुने छ भन्ने मैले अपेक्षा गरेको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले जापानमा विभिन्न पेसा र क्रियाकलापमा आबद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आइपरेका समस्याको समाधान गर्न नेपाल सरकार प्रतिबद्ध छ भन्नुभयो ।
“नेपालमा भएको युवापुस्ताको आन्दोलनबाट सुशासनको माग अझै मुखरित भएको छ, यसै अनुरूप जनताको सर्वोपरि हित रक्षा गर्दै सुशासनमार्फत देशको समृद्धिका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन गइरहेको छ, यो निर्वाचनपछि मुलुकमा स्थायित्व र विकासको थप नयाँ सम्भावना खुल्ने मैले विश्वास लिएको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो । त्यसैले आसन्न निर्वाचन सफल बनाउन विदेशमा रहेका नेपालीले आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

राष्ट्रपति रामचन्द्र पौडेललाई मङ्गलबार यहाँ गार्ड अफ अनर प्रदान गरिएको छ । जापान भमणमा रहनुभएका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । जापान सरकारका तर्फबाट राष्ट्रपति पौडेललाई जापानका प्रधानमन्त्री सनायले गार्ड अफ अनर सम्मान प्रदान गर्नुभयो । यो जापान सरकारका तर्फबाट प्रदान गरिने उच्च सम्मान हो । सो क्रममा राष्ट्रपति पौडेलले गत जेनजी आन्दोलनपछि उत्पन्न जटिल अवस्थामा लोकतन्त्रको संरक्षणमा पुर्याउनुभएको योगदानको स्मरण गरिएको थियो । गोरखापत्र अनलाइन