उद्योगीले कमिसन वृद्धि गराउने नियोजित योजना बनाएर बजारमा खाना पकाउने ग्यास अभाव गराएका छन् । तर, अहिले ग्यास ढुवानीका लागि प्रयोग भइरहेका भारतीय बुलेटको संख्या घटेको कारण आयातमा समस्या भइरहेको उद्योगीको तर्क छ । नेपालमा ग्यास आयात गर्ने सबै बुलेट भारतीय नै छन् । विगतमा सात सय बुलेटले ढुवानी गरेकामा एक वर्षयता डेढ सय घटेका छन् ।
भारतीय बुलेट व्यवसायीले पछिल्लो समय ढुवानी भाडा वृद्धि गर्न दबाब दिएर ग्यास आपूर्तिमा कडाइ गरेको एक उद्योगीले बताए । ‘भारतीय बुलेट व्यवसायीले ग्यासको ढुवानी भाडा बढाउन लिखित रूपमै दबाब दिएका छन् । चाँडै ढुवानी भाडादर वृद्धिको निर्णय गर्नुपर्ने दबाब बढेको छ,’ ती उद्योगीले भने ।
देशभर सञ्चालित ५९ ग्यास उद्योगले भारतीय बुलेटसँग करार गरेर ग्यास आयात गरिरहेका छन् । बुलेटको ढुवानी खर्चबापतको रकम उद्योगीले आयल निगमबाट लिने गरेका छन् । आयल निगमले उद्योगीलाई ढुवानी, सञ्चालन खर्च, प्रशासनिक खर्च, आतिथ्य सत्कार, उद्योगी र डिलरको नाफालगायत विभिन्न शीर्षकमा हाल प्रतिसिलिन्डर तीन सय रुपैयाँभन्दा बढी रकम एकमुस्ट उपलब्ध गराउँदै आएको छ । ग्यास उद्योगीलाई दिने यो रकमलाई निगमले आफ्नो वासलात (ग्यास उद्योगीको खर्च एवं मुनाफा) शीर्षकमा राखेर उपभोक्ता मूल्यमा जोड्दै आएको छ ।
अन्य पेट्रोलियम पदार्थको तुलनामा ग्यास कारोबारमा आयल निगमको उपस्थिति न्यून छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी, पानीपत, मथुरा र हल्दिया रिफाइनरीबाट कुन उद्योगले कति ग्यास ल्याउने भनेर कोटा तोकिदिने मात्र गर्छ । त्यसपछि, उद्योगीले आइओसीको रिफाइनरीबाट ग्यास लोड गरेर आयात गर्ने, उद्योगमा रिफिलिङ गर्ने र डिलर नियुक्ति गरी बजारसम्म पुर्याउने गर्दै आएका छन् ।
ग्यासको आयातदेखि उपभोक्तालाई वितरण गर्दासम्मको सबै खर्च निगमले दिँदै आएको छ । अहिले ढुवानी खर्च वृद्धिका लागि उद्योगीले दबाब बढाएका हुन् । भारतीय बुलेट व्यवसायीले ढुवानी भाडा वृद्धिका लागि दिएको दबाबबारे उद्योगीले पनि निगमलाई जानकारी गराइसकेका छन् । ‘कुन दरमा ढुवानी भाडा बढाउने भन्नेबारे केही उल्लेख छैन, तर अहिलेको ढुवानी भाडादरमा काम गर्न सकिँदैन भन्ने भारतीय व्यवसायीको भनाइ छ,’ ती उद्योगीले भने ।
ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने बजार हल्लामा कुनै सत्यता नरहेको बताए । उनले भारतीय बुलेट व्यवसायीसँग कुनै दायित्व नरहेको, तर बुलेट संख्या भने घटेको जानकारी दिए । ‘भारतीय बुलेटको संख्या २५ प्रतिशत घटिसकेको छ । जसकारण ग्यास आयातमा केही समस्या भइरहेको यथार्थ हो,’ उनले भने, ‘तर, एक साताभित्रै आवश्यक संख्यामा बुलेट थप हुँदै छन् । त्यसपछि आपूर्ति सहज गर्न मद्दत मिल्छ ।’
आयल निगमका अधिकारीले भने मासिक कोटाअनुसार ग्यास आयात भइरहे पनि अभावको हल्ला फैलिएका कारण सहज आपूर्ति गर्न कठिनाइ भइरहेको बताएका छन् । निगमका अनुसार दैनिक औसत एक लाख सिलिन्डरका दरले मासिक ४५ हजार टन ग्यास खपत हुने गरेको छ । जाडो मौसममा १५ प्रतिशतसम्म खपत बढ्ने गरेको छ । त्यसैले तीन महिनायता ग्यास आयात औसतभन्दा बढी नै भइरहेको निगमको तथ्यांक छ । नोभेम्बरमा ४७ हजार २६४ टन, डिसेम्बरमा ४८ हजार ५३१ टन र जनवरीमा ४७ हजार २०४ टन ग्यास आयात भएको निगमले जनाएको छ ।
आयोग प्रवक्ता मनोज ठाकुरले आयात भएको परिमाण मागअनुसार नै भएको, तर बजारमा अभावको हल्ला फैलाएका कारण उपभोक्ता अत्तालिएर अनावश्यक सञ्चय गर्नतिर लागेको दाबी गरे । ‘मागअनुसार नै ग्यास आयात भइरहेको छ । तर, अभावको हल्ला फैलिएपछि उपभोक्ताहरू घरमा रहेको सबै खाली सिलिन्डर भरेर सञ्चय गर्नतिर लागेको देखिन्छ,’ उनले भने ।
अहिले काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति असहज भए पनि अन्यत्र भने समस्या नरहेको उनले बताए । सुरुमा ‘नेपाल ग्यास’को आपूर्ति सहज थियो । अहिले भने उपत्यकामा कारोबार गर्दै आएका करिब २५ ग्यास उद्योगमै समस्या बढेको छ ।
निगमको एलपिजी तथा एभिएसन विभाग निर्देशक विनीतमणि उपाध्यायले मासिक रूपमा खपत परिमाणअनुसार ग्यास आयातको कोटा निर्धारण भइरहेको बताए । ‘अहिले मासिक ४९ हजार पाँच सय टन कोटा निर्धारण गरिएको छ । आवश्यक परे अझै बढाउन सकिन्छ,’ उनले भने, ‘तर, त्यति परिमाण पनि नआइरहेकाले हाल निर्धारित कोटा नै पर्याप्त रहेको हाम्रो बुझाइ छ ।’
ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने उद्योगबाट पर्याप्त ग्यास नपाएकाले उपभोक्ताले मागेजति वितरण गर्न नसकिएको बताए । ‘उपभोक्ताहरू डिलरमा आएर ग्यास पाइएन भनेर गुनासो गर्नुहुन्छ, तर हामीले माग गरेअनुसारको परिमाण उद्योगबाटै आइरहेको छैन,’ उनले भने, ‘उद्योग मन्त्रालय र आयल निगमको नेतृत्वले अहिलेको अभाव हल गर्न तदरुकता पनि नदेखाएको जस्तो लाग्छ ।’
एक वर्षअघि पनि अभाव गराएर बढाएका थिए कमिसन
उद्योगीकै दबाबमा एक वर्षअघि गत २० फागुनमा आयल निगमले प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा कमिसन वृद्धि गरेको थियो । त्यतिवेला ग्यास उद्योग संघले कमिसन वृद्धिका लागि संयुक्त आन्दोलन नै घोषणा गरेको थियो । संघको आह्वानमा गत वर्ष १८ फागुनदेखि सबै उद्योगले भारतमा ग्यास लिन जान बन्द गरेका थिए । जसकारण तत्कालै बजारमा ग्यास आपूर्ति असहज भएको थियो । त्यसपछि उद्योग मन्त्रालयले प्रतिसिलिन्डर १२.७५ रुपैयाँ कमिसन वृद्धि गर्ने निर्णय गराएर उद्योगीको आन्दोलन फिर्ता गराएको थियो । उद्योगीले डिजेलको भाउ घटबढ भएअनुसार प्रतिशतका आधारमा ढुवानी भाडादर लागू हुनुपर्ने माग राखे पनि त्यतिवेला प्रतिसिलिन्डर रकम तोकेर मात्रै कमिसन वृद्धि गरिएको थियो । प्रतिशतका आधारमा कमिसन बढाउन अध्ययन गरिने भनिए पनि अहिलेसम्म यस विषयमा केही टुंगो लागेको छैन । उद्योगीले कमिसन वृद्धिका लागि सधैँ ग्यास अभाव गराउँदै आएका छन् ।
सिलिन्डरको कोटा बढाउन पनि लबिङ
आयल निगमका अनुसार अहिले बजारमा एक करोड ४३ लाख थान ग्यास सिलिन्डर प्रयोगमा छन् । दुई वर्षयता बजारमा नयाँ सिलिन्डर थपिएका छैनन् । त्यसैले बढ्दो माग धान्ने कारण देखाएर सिलिन्डर संख्यासमेत बढाउन उद्योगीले लबिङ गरिरहेका छन् । अहिले एक सिलिन्डर ग्यास बिक्री गर्दा उद्योगीले मुनाफाबापत ३२ रुपैयाँ पाउँछन् । तर, नयाँ सिलिन्डर बिक्री गर्दा कम्तीमा चार सय मुनाफा हुन्छ । त्यसैले निगमसँग स्वीकृति लिएर नयाँ सिलिन्डर बजारमा पठाउन उद्योगीको एक समूह सक्रिय छ । बजारमा जति सिलिन्डर पठाए पनि बिक्री हुने प्रवृत्ति छ । उपभोक्ताहरूले अभावका वेला ग्यास भरेर राख्ने प्रयोजनका लागि घरमा थप सिलिन्डर खरिद गर्ने प्रवृत्ति छ । उपभोक्ताको यही मनोवृत्तिको फाइदा उठाएर आवश्यकभन्दा बढी सिलिन्डर बजार पठाएर लाभ लिन उद्योगीहरू लागिपरेका छन् ।
काठमाडौंमा नेपाल ग्यासका सबैभन्दा धेरै आठ लाख सिलिन्डर
उपत्यकाबाहिर ग्यास आपूर्तिमा समस्या नरहेको आयल निगमले जनाएको छ । काठमाडौं उपत्यकामा भने सबैभन्दा धेरै ग्यास बिक्री गर्दै आएको ‘नेपाल ग्यास’ को आपूर्ति असहज बनिरहेको छ । उपत्यकामा नेपाल ग्यासका मात्रै आठ लाख सिलिन्डर बजारमा छन् । उपत्यकामा करिब २५ ग्यास उद्योगका सिलिन्डर खपत भए पनि नेपाल ग्यास सबैभन्दा धेरैका भान्सामा पुगेको छ । निगमले नेपाल ग्यासलाई अन्य उद्योगमा भन्दा धेरै मासिक एक हजार टन ग्यास आयातको अनुमति पनि दिने गरेको छ । तर, यसपटक सोही उद्योगको ग्यास आपूर्ति असहज बनेको छ । नेपाल ग्यासका खाली सिलिन्डर लिएर बालाजु औद्योगिक क्षेत्रभित्र रहेको ग्यास उद्योगपरिसरमा उपभोक्ताको भिड लाग्न थालेको छ । उद्योगका सञ्चालक गोकुल भण्डारीले भारतीय बुलेट कटौतीको असरले आयातमा केही समस्या भइरहेको जानकारी दिए । ‘भारतीय बुलेटहरू कटौती भएका छन्, त्यसैले मागअनुसार ग्यास समयमै ल्याउन सकिएको छैन । तर, यो समस्या चाँडै हल भइहाल्छ,’ उनले भने, ‘आयल निगमसँग पनि समस्या समाधानका लागि समन्वय भइरहेको छ ।’
साताभित्रै आपूर्ति सहज हुने उद्योगीको दाबी
ग्यास उद्योग संघले एक सातापछि बजारमा आपूर्ति सहज हुने दाबी गरेको छ । जुन संख्यामा ग्यास ढुवानी गर्ने बुलेट घटेका छन्, त्यति नै संख्यामा नयाँ बुलेट थप हुन लागेको संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । ‘ग्यास ढुवानी गर्न प्रयोग भइरहेकामध्ये करिब २५ प्रतिशत बुलेट घटेका छन् । त्यसका ठाउँमा नयाँ बुलेट थप गर्न उद्योगीले आफ्नो च्यानल प्रयोग गरिसकेका छन्,’ उनले भने, ‘दुई–तीन दिनमा आवश्यक संख्यामा नयाँ बुलेट थपिन्छन् र आपूर्ति सहज भइहाल्छ ।’
बरौनी रिफाइनरीसमेत सञ्चालनमा आएकाले तुलनात्मक रूपमा छोटो समयमा धेरै ग्यास आयात हुने उनको भनाइ छ । ‘अर्कातिर, जाडो पनि कम हुँदै गएको छ । गर्मी लागेपछि खपत स्वत: घट्न थाल्ने भएकाले आपूर्ति सहज गर्न मद्दत पुग्छ,’ घिमिरेले भने । नयाँ पत्रिका