जनकपुरधाम । गत वर्ष मंसिर १६ गते बिहान सिरहाको बरियारपट्टी गाउँपालिका–१ छोटकी टोली कचनारीमा सीमा पार गरिरहेको मदिराले भरिएको गाडी रोक्न खोज्दा सशस्त्र प्रहरीका नायव निरीक्षक ४६ वर्षीय लक्ष्मण यादवको तस्करहरूले हत्या भयाे।
मदिरा तस्करीमा संलग्न गिरोहलाई रोक्ने कोसिस गर्दा तस्करहरू सवार गाडीले सशस्त्रका सई यादवलाई किचेर हत्या गरी फरार भएको थियो। । सो घटनामा भारतीय र नेपाली गरी पाँच जना संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
सशस्त्र प्रहरी बेस क्याम्प बडहरीमा कार्यरत सई यादवले मदिरा लिएर नेपालबाट एउटा जीप भारत जाँदैछ भन्ने सूचनाका आधारमा गस्तीमा खटिएका थिए। प्रहरीका अनुसार उनीसहित केही दूरीमा फरकफरक स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ८ जना प्रहरी त्यसबेला ड्युटीमा थिए।
बिहानको ३ बजेको समयमा सई यादव गस्ती गर्दै हिँडिरहेकै स्थानमा आइपुगेको जीपलाई उनले रोक्न खोज्दा ठक्कर दिएर भारततर्फ भागेको थियो। अन्य प्रहरीहरू घटनास्थलदेखि करिब सय मिटरको दूरीमा मात्रै भए पनि गाडी तीव्र गतिमा भागेकाले प्रतिकार गर्न नसकिएको प्रहरीको भनाइ छ।
घटनालगत्तै उनलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
यस घटनामा सिरहाको नवराजपुर गाउँपालिका–५ का पूर्ववडाध्यक्ष मनोज यादवलाई प्रहरीले पक्राउ गर्यो। उनीसहित संलग्न पाँच जना विरुद्ध ज्यान सम्बन्धी कसुर(ज्यान मार्ने उद्योग र सवारी ज्यान) तथा संगठिन अपराध सम्बन्धी मुद्दामा कारवाही अघि बढ्यो। मुद्दा जिल्ला अदालत सिरहामा अभियोजन भयो। यादव एक लाख २० हजार धरौटी बुझाएर तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उक्त घटनामा संलग्न थप तीन जना नेपाली र एक भारतीय अभियुक्त अझै फरार रहेको सिरहा प्रहरीले जनाएको छ।
गत सोमबार सशस्त्र प्रहरी बलले वीरगन्जस्थित एउटा गोदाममा छापा मार्ने क्रममा झडप भयो। सशस्त्र प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका– १० आदर्शनगरस्थित एक गोदाममा छापा मार्ने क्रममा व्यापारी र सुरक्षाकर्मीबिच झडप भएको थियो तर सशस्त्रसँग झडप हुँदा व्यापारीहरू थिएनन्, तस्करहरू मात्र थिए।
आर्थिक नगर मानिने वीरगन्जमा भन्सार छलेर भित्र्याइएका सामान भण्डारण गरिएको आशंकामा मदनप्रसाद गुप्ताको गोदाममा सशस्त्र प्रहरी बल १३ नं गण र भन्सार कार्यालयको संयुक्त सुरक्षा टोलीले दिउँसो छापा मारेको थियो। छापा मार्ने क्रममा टोलीले करिब पाँच लाख रुपैयाँभन्दा बढी मूल्यबराबरका पाँच पोका कपडा बरामद गरेपछि तस्कर समुहले आक्रमण गरेको थियो।
भन्सार छलीका कपडा बरामदपछि लोड गर्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गरिएको थियो। त्यसपछि भएको झडपका क्रममा तीन सशस्त्र प्रहरीका तीनजना सामान्य घाइते भएको र गाडीमा क्षति पुगेको थियो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आक्रमणकारीको आक्रमणबाट घाइते सशस्त्रका तीन प्रहरीको नारायणी अस्पतालमा उपचारपछि निको भएर काममा फर्केका छन्। उक्त घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पहरीले पक्राउ गरेको छ।
भारतीय तस्करको समूह र सशस्त्र प्रहरीबिच २०७७ जेठ ३१ मा सर्लाहीको नारायणपुर नाकामा झडप भएको थियो। त्यस दिन अवैधरूपमा नेपाल पस्न खोजेको भारतीय तस्करको टोलीलाई रोक्न सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीयको मृत्यु भएको थियो। घटनामा सशस्त्र प्रहरीका तीन र तस्कर समुहका दुईजना घाइते भएका थिए।
यसैगरी २०७७ जेठ १८ मा सर्लाहीकोको विष्णु गाउँपालिका– २ पकडीस्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समुहले आक्रमण गरेको थियो। यसरी तस्करको समुहले सशस्त्र प्रहरीमाथि आक्रमण गर्दै आएका छन्।
तस्करको तारो नेपालका सुरक्षाकर्मी मात्र बन्दै आएका छैनन्। भारतीय सीमा सुरक्षा वल पनि तस्करको चपेटमा पर्दै आएको छ।
०७९ भदौ १५ गते राती करिब १० बजे सिरहा नगरपालिका–२१ लगडिगोठबाट मदिराले भरिएको स्कार्पियो जीप तीव्र गतिमा पारी जोगिया हुँदै जयनगरतर्फ जाँदै थियो। भारतको मधुवनी जिल्ला दलनीया प्रहरी चौकी अन्तर्गत जोगिया गाउँ प्रवेश गरेको मदिराले भरिएको उक्त जीपलाई भारतीय सशस्त्र सीमा बलका हेड कन्सटेबल देवराज शर्माले रोक्न खोजे। तीव्र गतिको सो जीप शर्मालाई किचेर भाग्यो। रगतले लतपत शर्मालाई उपचारका लागि जयनगर अस्प्ताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। शर्मा मधुबनी जिल्लाको राजनगर राज कम्प्लेक्समा रहेको १८ औं बाहिणी मुख्यालय राजनगर अन्तर्गत आराहा बिओपीमा हेड कन्सटेबल पदमा कार्यरत्त थिए।
चुनावी सुरक्षा चुनौती र योजना
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेसलाई सम्वेदनशील सूचीमा राखिएको छ। अपराधको इपिसेन्टर मानिएको मधेस प्रदेशमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन यहाँका सुरक्षाअधिकारी केन्द्रित छन्। निर्वाचनलाई स्वच्छ र निष्पक्ष र भयरहित बनाउन प्रदेशभर तीन तहको सुरक्षा घेरा परिचालन गर्ने तयारी छ। अति संवेदनशील क्षेत्रमा ड्रोन तथा सीसी क्यामेरामार्फत निगरानी गर्ने तयारी गरिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका आठ जिल्लामा रहेका कुल २ हजार १६० मतदानस्थलमध्ये ५७ प्रतिशत अर्थात् १ हजार २३७ स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ। सुरक्षाका दृष्टिले सप्तरी जिल्ला ‘रेड जोन’ मा देखिएको छ, जहाँका २०९ मतदानस्थल अति संवेदनशील छन्। यसैगरी धनुषाका १९४, महोत्तरीका १६३ र अन्य जिल्लाका विभिन्न केन्द्रहरूलाई पनि सुरक्षा चुनौतीका आधारमा वर्गीकरण गरिएको छ।
प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले निर्वाचनका लागि ४० हजारभन्दा बढी नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने जानकारी दिए। साथै सशस्त्र प्रहरीका १० हजार र नेपाली सेनाको टोली समेत गरी मधेसमा कुल ५० हजारभन्दा बढी सुरक्षाकर्मी र फैज चुनावी सुरक्षाका लागि मैदानमा उत्रनेछन्। मधेस प्रदेशमा चार सय ६४ किलोमिटर क्षेत्र सीमासँग जोडिएको छ। खुला सीमाका कारण हुनसक्ने अवाञ्छित गतिविधि रोक्न सीमा क्षेत्रमा विशेष कडाइ अपनाइने तयारी छ।
सशस्त्र प्रहरी बलका डीआईजी कृष्ण ढकालका अनुसार निर्वाचन अधिकृतको कार्यालय, मोबाइल टोली र रिजर्भ फोर्समार्फत जनशक्ति परिचालन भइसकेको छ। यता, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरूले भारतीय सुरक्षा निकायसँग समन्वय बैठक गरिसकेको र फागुन ९ गते पुनः सीमा सुरक्षा बैठक बस्ने तयारी भइरहेको बताए।
मधेस प्रदेशका आधि मदतान केन्द्रलाई ‘उच्च जोखिम क्षेत्र’ को रूपमा वर्गीकरण गरिनुले यहाँको सुरक्षा सम्वेदनशीलतालाई प्रष्ट्याउँछ। राजनीतिक प्रतिस्पर्धा, दल परिवर्तन, प्रभावशाली नेताहरूको उम्मेदवारी, धार्मिक संवेदनशीलता र अघिल्ला निर्वाचनमा भएका अवाञ्चित गतिविधिका कारण मधेस सुरक्षाका दृष्टिले सम्वेदनशील बनेको हो।
प्रदेशभर ३६ लाख ३६ हजारभन्दा बढी मतदाता मतदानको तयारीमा रहँदा सुरक्षा निकायले ‘कुनै पनि मूल्यमा अवाञ्छित गतिविधि हुन नदिने’ रणनीति अघि सारेको छ। यही सन्दर्भमा नेपाल प्रहरीले तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई विशेष सुरक्षा अनुगमन तथा समन्वयको जिम्मेवारी दिएको छ।
प्रदेश तालिम केन्द्र राजविराजका एसएसपी भीमबहादुर दाहाल, संघीय प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसएसपी शान्तिराज कोइराला र एसएसपी कमल थापालाई निर्वाचनपूर्व सुरक्षा अवस्था मूल्यांकनदेखि योजना निर्माणसम्मको जिम्मेवारी दिइएको सुरक्षा स्रोतले जनाएको छ। दाहालले सिरहा र सप्तरी, कोइरालाले बारा, पर्सा, रौतहट तथा थापाले धनुषा, महोत्तरी र सर्लाहीको विशेष सुरक्षा सम्हाल्नेछन्।
यी नियुक्ति केवल प्रशासनिक व्यवस्थापन नभई ‘सुरक्षा रेड जोन’ को संकेत भएको जानकारहरू बताउँछन्। विशेषगरी सिरहा, सर्लाही, रौतहट र पर्सालाई बढी चुनौतीपूर्ण जिल्ला मानिएको छ। विगतका चुनावमा यहाँ भएका झडप, बुथ कब्जा प्रयास, राजनीतिक कार्यकर्ताबीचको द्वन्द्व र सीमावर्ती गतिविधिका कारण यी क्षेत्र सुरक्षाका हिसाबले सधैं संवेदनशील सूचीमा पर्ने गरेका छन्।
मतदानस्थलको वर्गीकरण
मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा २ हजार १६० मतदानस्थल र ४ हजार ४७१ मतदान केन्द्र छन्। तर तीमध्ये १ हजार २३७ मतदानस्थल ‘अति संवेदनशील’ र ७६३ ‘संवेदनशील’ को सूचीमा छन्। अर्थात् झन्डै आधाभन्दा बढी मतदानस्थल उच्च जोखिम श्रेणीमा पर्नुले सुरक्षा चुनौतीको गम्भीरता झल्काउँछ। ‘अति संवेदनशील’ क्षेत्रहरूमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको संयुक्त निगरानी रहनेछ। ड्रोन निगरानी, मोबाइल पेट्रोलिङ, सादा पोसाकका प्रहरी परिचालन र सीमावर्ती नाकामा विशेष चेकजाँचको तयारी गरिएको सुरक्षा स्रोत बताउँछन्।
निर्वाचन सुरक्षाका लागि १२ हजार ६९२ जना नेपाल प्रहरी र २८ हजार २९५ जना निर्वाचन प्रहरी परिचालन हुने जानकारी मधेस प्रदेश प्रहरी कार्यालयले दिएको छ। यसले मधेसमा चुनाव शान्तिपूर्ण गराउन राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट संकेत दिन्छ। यो केवल मतदानको दिनको सुरक्षा होइन, मतदानअघि र पछि सम्भावित गतिविधिलाई समेत नियन्त्रण गर्ने रणनीति रहेको सुरक्षा अधिकारी बताउँछन्।
सुरक्षा अधिकारीहरुका अनुसार मधेस प्रदेश राजनीतिक रूपमा अत्यधिक प्रतिस्पर्धी क्षेत्र हो। यहाँ साना–ठूला दल, क्षेत्रीय दल र स्वतन्त्र उम्मेदवारबीच कडा टक्कर देखिएको छ। दल परिवर्तनको लहर, प्रभावशाली नेताहरूको एकै क्षेत्रमा भिडन्त, जातीय र धार्मिक संवेदनशीलता तथा सीमावर्ती खुला आवागमनले सुरक्षा जोखिम थप बढाएको छ।अघिल्ला निर्वाचनहरूमा देखिएका बुथ कब्जा प्रयास, मतपेटिका तोडफोड, झडप र अवरोधका घटनाले पनि सुरक्षा निकायलाई मधेसले थप गम्भीर बनाएको छ।
भारतसँग जोडिएका खुला सीमाका कारण मधेस प्रदेशमा निर्वाचनका बेला बाह्य प्रभाव, अवाञ्छित व्यक्तिको आवतजावत र गैरकानुनी गतिविधिको जोखिम रहने आकलन सुरक्षा अधिकारीहरुको छ। जसकारण सीमावर्ती नाकाहरूमा कडाइ गरिएको छ भने शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ। संवेदनशील क्षेत्रमा हतियार ओसारपसार, अवैध रकमको प्रयोग र मतदातालाई प्रभाव पार्ने गतिविधिमाथि विशेष निगरानी भइरहेको मधेस प्रदेशका एक सुरक्षा अधिकारीले बताए।
केही जिल्लामा धार्मिक तथा सामाजिक मुद्दा चुनावी एजेन्डासँग गाँसिँदा तनाव बढ्ने सम्भावना देखिएको छ। सुरक्षा संयन्त्रले समुदायस्तरमा संवाद, स्थानीय अगुवासँग समन्वय र शान्ति समितिको सक्रियता बढाएको जनाएको छ। सानो अफवाहले पनि ठूलो तनाव निम्त्याउन सक्ने भएकाले साइबर निगरानी समेत तीव्र बनाइएको छ।
निर्वाचन आचारसंहिता उल्लंघन, भीड नियन्त्रण, जुलुस–सभा व्यवस्थापन र सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना रोक्न सुरक्षा निकायको विशेष ध्यान केन्द्रित गरेका छन्। उम्मेदवार र दलका गतिविधिमाथि निगरानी बढाइएको छ। मधेसका मतदाताका लागि यो चुनाव मतदानको अवसर हो भने सुरक्षा निकायका लागि सफल र सुरक्षित व्यवस्थापनको परिक्षा। नागरिक दैनिक