काठमाडाैं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यकाल सोमबारदेखि सकिँदै छ । पाँचवर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश हुन लागेका दुवै डेपुटी गभर्नरलाई सोमबार औपचारिक कार्यक्रम गरी बिदा गरिँदै छ । तर, नयाँ डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया भने अझै अघि बढाइएको छैन । सरकारले २५ फागुन ०७७ मा तिम्सिना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्ति गरेको थियो ।
राष्ट्र बैंक ऐनले डेपुटी गभर्नरको कार्यकाल पाँच वर्ष तोकेको छ । ऐनको व्यवस्थाअनुसार दुवै डेपुटी गभर्नर सोमबारदेखि अनिवार्य अवकाशमा जाने राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । ‘सोमबार उहाँहरू (तिम्सिना र मिश्र)लाई बिदाइ गर्न औपचारिक कार्यक्रम राखिएको छ, राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त हुनेछ,’ उनले भने, ‘रिक्त पदपूर्ति अर्थात् डेपुटी गभर्नर नियुक्तिको प्रक्रियाको विषय भने राष्ट्र बैंकका गभर्नर र नेपाल सरकारलाई थाहा हुने कुरा हो ।’
सोमबारदेखि रिक्त हुने डेपुटी गभर्नरका लागि छनोट प्रक्रिया भने थालिएको छैन । हालसम्म डेपुटी गभर्नर नियुक्ति प्रक्रिया सुरु नभएको गभर्नर विश्वनाथ पौडेलले जानकारी दिए । यसबिचमा निर्वाचन आचारसंहिताका कारण सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन पाएको थिएन । अर्थमन्त्री रामेश्वरप्रासद खनालले राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन आयोगसँग परामर्श गरेको भए पनि कार्यान्वयनमा गएनन् । नयाँ सरकारलाई डेपुटी गभर्नरको नियुक्तिको जिम्मेवारी दिने उनले मनस्थिति बनाएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकमध्येबाट तीन योग्य व्यक्तिलाई डेपुटी गभर्नरका लागि गभर्नरले सिफारिस गर्ने व्यवस्था छ । गभर्नरको सिफारिस–सूची अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले तीनमध्ये दुईजनालाई डेपुटी गभर्नर नियुक्ति गर्ने प्रावधान छ । डेपुटीहरू पछि गभर्नर नियुक्तिको समेत बलियो प्रत्याशी हुने गरेका छन् । त्यसैले डेपुटी गभर्नर नियुक्तिलाई मन्त्रिपरिषद्ले समेत ‘चासोपूर्वक’ निर्णय गर्ने गरेको छ ।
डेपुटी गभर्नरहरू राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । डेपुटी गभर्नर पदमा नियुक्तिका लागि सिफारिस गर्दा केन्द्रीय बैंकका विशिष्ट श्रेणीका अधिकृतहरूमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्ने ऐनमा व्यवस्था छ । तर, मन्त्रिपरिषद्मा नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गर्ने अभ्यास छ । राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरको दौडाहामा छन् । नयाँ पत्रिका