काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको नेपालको सेयर बजारमा ऐतिहासिक उत्साह देखिएको छ । बजार खुलेको केही मिनेटमै लगातार तीन पटक सर्किट ब्रेक लाग्दै नेप्से परिसूचक छ प्रतिशतले उकालो लागेर २९ सयको नजिक पुगेपछि सोमबारका लागि कारोबार बन्द गरिएको छ ।
करिब एक सातापछि खुलेको बजारमा लगानीकर्ताको उच्च उत्साह देखिँदा नेप्से परिसूचक छ प्रतिशतले बढ्दै तेस्रो सर्किट ब्रेक लागेर कारोबार बन्द भएको हो । बजार प्रिओपन सेसनमै १.६४ प्रतिशतले बढेको थियो । नियमित कारोबार सुरु भएको एक मिनेटमै नेप्से चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो । ११ बजेर २१ मिनेटमा पुनः खुलेको बजार केही सेकेन्डमै पुनः तीव्र रूपमा बढेर पाँच प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो ।
१२ बजेर १ मिनेटमा पुनः खुलेको बजारले वृद्धिको क्रमलाई निरन्तरता दिँदै १२ बजेर १ मिनेट ३८ सेकेन्डमा छ प्रतिशत उकालो लागेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । तेस्रो सर्किट लागेसँगै सोमबारका लागि सम्पूर्ण कारोबार बन्द गरिएको थियो । सोमबार नेप्से १६२.९३ अङ्कले सुधारिँदा परिसूचक २८७५.४३ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि २८.११ अङ्क बढेर ४९४.१० को विन्दुमा पुगेको छ । समग्रमा सोमबारको नेप्से छ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ६.०३ प्रतिशतले बढेको छ ।
राजनीतिक स्थिरता हुनेमा मनोबल उच्च
अब मुलुकमा राजनीतिक स्थिरताको सङ्केतले लगानीकर्ताको मनोबल उच्च बनाएको लगानीकर्ता बताउँछन् । यसअघि २०८१ असार तेस्रो साता संसद्का तत्कालीन दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ता साझेदारीको सहमति गरेपछि सेयर बजारमा परिसूचक उकालो लागेको थियो । त्यो बेला बजार तीन हजारको विन्दुमा पुगेको थियो भने कारोबार रकम २९ अर्ब ९५ करोड रुपियाँ पुगेको थियो । नेपालको पुँजी बजारमा राजनीतिक घटनाक्रमको प्रभाव फेरि एक पटक स्पष्ट देखिएको लगानीकर्ता जनक कार्कीले बताउनुभयो । निर्वाचनपछिको पहिलो कारोबार दिन नेप्से छ प्रतिशतले बढेर सर्किट ब्रेक लाग्दा लगानीकर्ताले सम्भावित स्थिर सरकार र आर्थिक सुधारप्रति उच्च अपेक्षा राखेको सङ्केत दिएको उहाँको विचार छ ।
नेपाल सेयर बजार लगानीकर्ता सङ्घका महासचिव रविन कँडेल सोमबारको बजारमा मनोविज्ञान बढेको भन्दै त्यसलाई कारोबारको भोल्युमले रिप्रेजेन्ट गर्न नसकेको बताउनुभयो । नयाँ सरकार गठन भइनसकेको अवस्थामा मनोविज्ञानमा आधारित सेयर बजारका लागि स्थिर सरकार र आर्थिक सुधारले आगामी बाटो तय गर्ने उहाँको भनाइ छ । अहिले बजारमा देखिएको असाधारण उछाललाई मुख्यतः राजनीतिक सङ्केत, लगानीकर्ताको मनोविज्ञान र रोकिएको ‘बाइङ डिमान्ड’ सँग जोडेर हेरेको भन्दै लगानीकर्ता कार्कीले करिब एक साता बजार बन्द रहँदा लगानीकर्तामा खरिद दबाब जम्मा भएको बताउनुभयो । त्यसमा पनि प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक परिणामले राजनीतिक स्थिरताको सङ्केत देखिएपछि बजार खुल्नेबित्तिकै तीव्र खरिद आदेश बढेको उहाँको भनाइ छ ।
स्थिर सरकार बन्ने अपेक्षा, आर्थिक सुधारको सम्भावना र लगानीमैत्री नीतिको सङ्केतले बजारमा बनाएको सकारात्मक मनोविज्ञानका कारण बजार खुलेको केही मिनेटमै सर्किट ब्रेकसम्म पुग्ने अवस्था बनेको ब्रोकर रामचन्द्र भट्टराईको भनाइ छ ।
यद्यपि यस्तो उछाललाई भावनात्मक प्रतिक्रियाका रूपमा पनि हेरिएको छ । राजनीतिक घटनाक्रमले छोटो अवधिमा बजारलाई तीव्र रूपमा प्रभावित गर्न सक्छ तर दीर्घकालीन प्रवृत्ति भने आर्थिक आधार, कम्पनीको नाफा, तरलता र नीतिगत कार्यान्वयनमा निर्भर रहने लगानीकर्ता कार्कीको भनाइ छ ।
कारोबार ५५ करोडमा सीमित
निर्वाचनपछिको पहिलो कारोबार दिन २६१ कम्पनीको ११ लाख ४३ हजार ७६७ कित्ता सेयर चार हजार ५१ पटक खरिदबिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कारोबारमा आएका १३ वटामध्ये म्युचुअल फन्डबाहेक १२ उपसमूहको परिसूचक उछालिएको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.७३ प्रतिशतले उकालो लागेको छ भने लगानी उपसमूह ७.०६ प्रतिशत, बैङ्किङ ६.९२ प्रतिशत, जलविद्युत् ६.८१ प्रतिशत, विकास बैङ्क ५.९१ प्रतिशत, होटेल तथा पर्यटन ५.७३ प्रतिशत, अन्य ५.५६ प्रतिशत, फाइनान्स ५.४७ प्रतिशतले उकालो लागेको छ । यता म्युचुअल फन्ड भने ०.१८ प्रतिशतले मात्रै उकालो लागेको छ । सोमबार नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको तीन करोड १३ लाख ६७ हजार ८८० रुपियाँ बराबरको सेयर कारोबार भएर सर्वाधिक सेयर कारोबार भएको छ ।
अर्थशास्त्री चर्चा
निर्वाचन परिणामसँगै अर्थमन्त्रीका रूपमा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको चर्चाले पनि सेयर बजारमा लगानीकर्ताबिच सकारात्मक अपेक्षा बढेको छ । सार्वजनिक नीति र विकास अर्थशास्त्रमा अन्तर्राष्ट्रिय अनुभव भएका वाग्लेले नेपाल सरकारको योजना आयोगमा उपाध्यक्षका रूपमा काम गर्दै आर्थिक नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
वाग्ले अर्थमन्त्री बनेमा आर्थिक सुधार, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण निर्माणतर्फ पहल हुन सक्ने अपेक्षा गरिएको छ । यसले निजी क्षेत्र, वित्तीय क्षेत्र र विशेषगरी पुँजी बजारमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पार्न सक्ने छ ।
रास्वपाको घोषणापत्रमा के छ ?
रास्वपाको घोषणापत्रमा पुँजी बजार सुधारलाई प्राथमिकतामा राखेको छ । पुँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने रास्वपाको निर्वाचन २०८२ को वाचापत्रमा उल्लेख छ ।
धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिने तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने रास्वपाको घोषणापत्रमा उल्लेख छ ।