सर्लाही । सर्लाहीका तीनवटै चिनी मिलले यो वर्ष चैतभर नै उखु क्रसिङ गर्ने भएका छन् । मिलमा किसानले उखु ल्याइरहेकाले १५/२० दिन अझै क्रसिङको काम हुने भएको हो ।
गत वर्ष उखु अभाव हुँदा चैत पहिलो हप्तासम्ममा सर्लाहीका चिनी उद्योगहरु बन्द भएका थिए । यो वर्ष भने छिमेकी जिल्ला महोत्तरीको एक मात्र चिनी उद्योग एभरेष्ट चिनी उद्योग रामनगर बन्द भइसक्दा समेत सर्लाहीका तीनवटा चिनी उद्योग सञ्चालनमै रहेका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित इन्दुशङ्कर चिनी उद्योग हरिवनका उखु प्रवन्धक योगनारायण रजकले यो वर्ष उखु खेती बढेकाले अहिलेसम्म उखु अभाव नरहेको बताउनुभयो । रजकका अनुसार इन्दुशङ्कर चिनी उद्योग चैतभर नै उखु क्रसिङको सुरसारमा छ ।
उद्योगले अहिलेसम्म २७ लाख १५ हजार क्विन्टल उखु पेलिसकेको छ । शुक्रबार साँझको हावाहुरीपछि बन्द गरिएको उद्योगको उखु क्रसिङ शनिबार अपराह्नदेखि सुचारु भएको रजकले बताउनुभयो ।
सीमावर्ती क्षेत्रस्थित महालक्ष्मी चिनी उद्योग बगदह अब १५ दिनजति चलाएर बन्द गर्ने तयारी गरिएको छ । उद्योगका प्रशासन प्रमुख शिवशङ्कर महतोले १३ लाख ६० हजार क्विन्टल उखु क्रसिङ गरिएको जानकारी दिनुभयो ।
अन्य उद्योगभन्दा ढिलो गरी सञ्चालन भएको पश्चिमी भेगस्थित अन्नपूर्ण चिनी उद्योग धनकौल पनि अझै २० दिनजति सञ्चालन हुने भएको छ । उद्योगले अहिलेसम्म आठ लाख क्विन्टल उखु पेलेर सकेको उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिनुभयो ।
गुप्ताका अनुसार शुक्रबार बेलुकाको हावाहुरीपछि २४ घण्टासम्म उद्योगले क्रसिङ स्थगित गरेको छ । यो वर्षदेखि चिनी उद्योगहरुले आ–आफ्नो जिल्लाको उखु मात्र उठाउने सहमति भएसँगै मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीका चिनी उद्योगहरुले पर्याप्त उखु पाएका हुन् ।
किसानले पर्याप्त उखु ल्याएपछि मिलहरुले ढिलोसम्म उखु क्रसिङ गर्न पाएका हुन् । मिलहरुले अहिलेसम्म सेड्यूल अनुसार क्रमशः उखुको भुक्तानी पनि गरिरहेका किसानले बताएका छन् । गोरखापत्र अनलाइन