काठमाडौं | नयाँ सरकार बनेसँगै पहिलो कामका रुपमा जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनलाई अघि बढाइयो । योसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । ओलीलाई काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई महाराजगञ्जमा रहेको प्रहरीको गण नं. २ मा राखिएको छ ।
'भीआईपी'लाई पक्राउ गर्नुअघि के-के भएको थियो त ?
शुक्रबार शुभसाइतमा प्रधानमन्त्री बालेन्द्र शाहले सपथ लिंदै प्रधानमन्त्रीको कार्यालय सिंहदरबार प्रवेश गरे । उच्च स्रोत भन्छ- उनी प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेसँगै केही महत्त्वपूर्ण छलफलमा जुटेका थिए । दलका सांसददेखि मन्त्रीलाईसम्म प्रवेश निषेध गरेर प्रधानमन्त्री शाहले केही छलफल अघि बढाए । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र रास्वपा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहबीच मात्रै छलफल भयो । उनीहरुबीच जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा छलफल भएको स्रोतको दाबी छ ।
प्रतिवेदन कार्यान्वयन गर्दा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसँगै सुरक्षा निकायका धेरै अधिकारी कारवाहीको दायरामा आउँथे । परिस्थिति जटिल बन्नसक्थ्यो । योबारे दुवै नेताले गम्भीर छलफल गरेको बुझिएको छ । लामिछानेले तत्काल 'एक्सन' नलिन सुझाएका थिए, स्रोतको दाबी छ । लामिछाने लगतै सुरक्षाकर्मी समेत बाहिर राखेर प्रधानसेनापति अशोकराज सिग्देल प्रधानमन्त्री बालेनसँग भेट्न उनको कार्यकक्ष पसे । उनीहरुबीच सुरक्षा गम्भीरतादेखि सतर्कतासम्मका विषयमा चर्चा भएको थियो, उच्च स्रोत भन्छ । प्रधानमन्त्री बालेन र प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि 'वान–टू–वान' छलफल भएको थियो ।
प्रधानमन्त्रीलाई भेट्न जान लागेका रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीलाईसम्म भेट्न दिएन । प्रधानसेनापति सिग्देलले सुरक्षा अधिकारीहरुलाई सामात्दा विद्रोह हुनसक्ने भएकाले यो विषय अलगै छानबिन गर्न सुझाएका थिए । तर, पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, तत्कालीन काठमाडौ प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतलाई समात्न सकिने सुझाव दिएका थिए । एउटा प्रश्न उठेको छ, प्रधानमन्त्री बालेनले किन कानूनविद्हरुसँग परामर्श नगरेर प्रधानसेनापतिसँग गरे ? प्रधानसेनापतिसँगको भेटपछि भने बालेनले उच्च तहका केही कर्मचारीसँग छलफल गरेका थिए । तर, उनले पार्टीका पदाधिकारीसँग भेट नै गरेनन् ।
प्रधानमन्त्री बालेनले त्यसपछि गृहमन्त्री सुधन गुरुङलाई बोलाएर 'एक्सन'लिन भने र सोही प्रकारको निर्णय लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले पनि गर्यो । बैठकमा प्रतिवेदन कार्यान्वयन गर्ने प्रस्ताव पेश भयो । तर, सुरक्षाकर्मी तथा अधिकारीबारे अलगै छानबिन गर्न समिति बनाउने निर्णय गरियो । बैठकपछि गृहमन्त्री गुरुङले प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग राति निकैबेर छलफल गरे । उनले तुरुन्तै पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न आदेश दिए ।
लगत्तै प्रहरी प्रधान कार्यालयले वरिष्ठ प्रहरी उपरिक्षकदेखि जवानसम्मलाई बिहानै तयारी अवस्थामा रहन निर्देशन जारी गर्यो । बिहान ५ बजे अगावै प्रहरीको टोली ओली निवास भक्तपुरको गुण्डु र लेखक निवास कटुन्जेमा तैनाथ गराइयो ।
शुक्रबार दिउँसैदेखि मध्यरातसम्म प्रधानमन्त्री बालेन खुब सक्रिय बने, साथ दिइरहेका थिए-प्रधानसेनापति अशोकराज सिग्देल । साँझदेखि नै आर्मी हेडक्वाटरमा पनि तैनाथीको निर्देशन दिइएको थियो । परिस्थिति जटिल बने स्थिति नियन्त्रणमा लिन सेना परिचालनसम्मको तयारी आर्मी हेडक्वाटरले गरेको छ । नेपाललिड