संखुवासभा । नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिले पूर्वमन्त्री तथा पार्टीका नेता दीपक खड्का को पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएको छ।
जिल्ला कार्यसमितिका सचिव कुमार बाबु अधिकारीले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत गरिएको पक्राउप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, विधिको शासन र मानवअधिकारप्रति प्रतिबद्ध जिम्मेवार नेतामाथि गरिएको कारबाहीले कानुनी प्रक्रिया भन्दा बाहिर गएर राजनीतिक उद्देश्य बोकेको देखिएको ठहर गरेको छ।
विज्ञप्तिमा कुनै पनि व्यक्तिमाथि आरोप लागेमा कानुनी प्रक्रिया अनुसार बोलाएर अनुसन्धान गर्नु, आवश्यक परे उपस्थित गराउनु र अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै एक्कासी पक्राउ गर्ने शैलीले विधिको शासनमाथि नै प्रश्न उठाएको जनाइएको छ।
यसैबीच, पछिल्ला घटनाक्रमहरूलाई जोड्दै विज्ञप्तिमा केपी शर्मा ओली र रमेश लेखक सँग सम्बन्धित घटनाहरूले समेत राज्य शक्ति राजनीतिक प्रतिशोधका लागि प्रयोग भइरहेको आशंका पैदा गरेको दाबी गरिएको छ। फरक विचार राख्ने नेताहरूलाई लक्षित गरिने यस्ता गतिविधिले लोकतान्त्रिक प्रणाली कमजोर बनाउने र मुलुकलाई अनावश्यक द्वन्द्वतर्फ धकेल्ने चेतावनी पनि दिइएको छ।
जिल्ला कार्यसमितिले घटनालाई विपक्षी आवाज दबाउने प्रयासका रूपमा व्याख्या गर्दै यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेको छ। साथै, पूर्वमन्त्री खड्का लगायत सम्बन्धित सबै नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्नुपर्ने मागसमेत राखिएको छ।
विज्ञप्तिमा राज्यका सुरक्षा निकायहरूलाई कुनै पनि राजनीतिक दबाबमा नपरी स्वतन्त्र, निष्पक्ष र कानुनी दायराभित्र रहेर आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरिएको छ। लोकतन्त्रको मूल मर्म फरक विचारको सम्मान र विधिको निष्पक्ष कार्यान्वयन भएको उल्लेख गर्दै यसबाट विचलित भए राजनीतिक प्रणालीमै नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।
कांग्रेस संखुवासभाले सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिक, राजनीतिक दल र सरोकारवालाहरूलाई यस्ता गतिविधिविरुद्ध एकजुट हुन आह्वान गर्दै लोकतान्त्रिक मूल्य र विधिको शासनको पक्षमा उभिन आग्रह गरेको छ।