काठमाडौँ । सरकारले एक महिनाभित्र एसइई नतिजा प्रकाशन गर्ने निर्णय गर्दै देशभरिका परीक्षा केन्द्रलाई नै उत्तरपुस्तिका परीक्षण केन्द्र तोकेको छ। परीक्षा सकिएलगत्तै दैनिक रूपमा परीक्षा केन्द्रहरू नै परीक्षण केन्द्रमा बदलिएका छन् र उत्तरपुस्तिका परीक्षण कार्य तीव्र गतिमा भइरहेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा परीक्षण भएका उत्तरपुस्तिका आउने क्रम जारी छ। केन्द्रले एक महिनाभित्र नतिजा प्रकाशनबारे कस्तो तयारी गरिरहेको छरु यस विषयमा नागरिककर्मी रुबी रौनियारले परीक्षा नियन्त्रक टुकराज अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश।
एसइई परीक्षा भइरहेको छ, कसरी चलिरहेको छ?
देशभरिबाट पाँच लाख १२ हजार चार सय बढी विद्यार्थीले परीक्षा दिइरहेका छन्। परीक्षा विगतमा भन्दा सहज रूपमा सञ्चालन भइरहेको छ । परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन्। केही फाट्टफुट्ट घटनाबाहेक सबै केन्द्रमा विद्यार्थी मर्यादित रूपमा ढुक्कसाथ परीक्षा दिइरहेका छन् । सरकारले परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र बनाएकाले दैनिक रूपमा परीक्षासँगै उत्तरपुस्तिका परीक्षण कार्य भइरहेको छ। मार्क स्लिपहरू परीक्षा केन्द्रमा आउने क्रम जारी छ।
परीक्षालाई मर्यादित बनाउन केन्द्रले कस्तो अभ्यास गरिरहेको छ?
यसपटकको परीक्षा शान्तिपूर्ण वातावरणमा चलिरहेको दैनिक सूचना प्राप्त भइरहेको छ। परीक्षा, परीक्षा केन्द्र तथा परीक्षण केन्द्रलाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समिति र प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले संयुक्त सहकार्यमा अनुगमन गरिरहेको छ । प्रदेशबाट गरिएका अनुगमन एवं रिपोर्टिङ केन्द्रलाई प्राप्त भइरहेको छ। जिल्लाले पनि स्वच्छ र सुव्यवस्थित रूपमा परीक्षा सञ्चालन गराउन सहयोग गरिरहेकै छन्। परीक्षा समयमा भएका अनियमितताको तत्काल कारबाही प्रक्रिया अघि बढाइएको छ। परीक्षा सहज, व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोग प्राप्त भएको छ।
परीक्षा केन्द्रहरूलाई नै परीक्षण केन्द्र बनाउने सरकारको निर्णयलाई परीक्षा बोर्डले कसरी कार्यान्वयन गराइरहेको छ?
यसपटकको एसइई परीक्षामा अलि फरक र नौलो अभ्यास भइरहेको छ। विद्यार्थीको परीक्षापछिको समय सदुपयोग गर्न र समयमै कक्षा ११ मा भर्ना गराउने लक्ष्यसहित सरकारले एसइई परीक्षा सकिएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । त्यसलाई बोर्डले कार्यान्वयन गराउने काम अगाडि बढाएको छ।
त्यसका लागि बोर्डले माध्यमिक शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन र उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ बनाएर मन्त्रालयबाट पारित गराएको छ । त्यो निर्देशिका खासगरी उत्तरपुस्तिका परीक्षण व्यवस्थामा केन्द्रित रहेको छ। जहाँ परीक्षा केन्द्र छ, त्यसैलाई परीक्षण केन्द्र बनाउने र त्यहीं उत्तरपुस्तिका परीक्षण र संपरीक्षण गराउने व्यवस्था निर्देशिकाले नै गरेको छ। यसका आधारमा सबै परीक्षा केन्द्रहरू परीक्षा सकिएलगत्तै दैनिक परीक्षण केन्द्रमा बदलिन्छन्।
परीक्षा केन्द्रलाई परीक्षण केन्द्रमा बदल्दा उत्तरपुस्तिका परीक्षण सवालमा के–कस्ता चुनौती आएका छन्?
उत्तरपुस्तिका परीक्षण सवालमा चुनौती वा गुनासोभन्दा पनि धेरै ठाउँबाट शिक्षकहरू नै उत्तरपुस्तिका परीक्षण गर्न पाउँदा उत्साहित भएको खबर प्राप्त गरिरहेका छौं । सीमित जनशक्ति, सीमित साधन स्रोतको उपलब्धताका कारण गुनासो आउनु स्वाभाविक हो । यस्तो अभ्यास नेपालमा पहिलोपटक भएको छ। चैत १६ गते निर्णय भएर चैत १९ गते परीक्षा सञ्चालन गर्ने निर्णय कार्यान्वयन भयो। धेरै छिटो कार्यान्वयन भएकाले व्यवस्थापकीय रूपमा केही कमीकमजोरी हुन्छन्। तैपनि सबै तहबाट शिक्षक साथीहरूले आत्मसात गर्नु राम्रो पक्ष हो । उत्तरपुस्तिका परीक्षण सवालमा स्रोत व्यवस्थापनका विषयमा केही गुनासा आएका छन् । देशको भौगोलिक विकटताका कारणले सबै केन्द्रमा सिसिटिभी क्यामरा छैन । कतै सुरक्षा सवालमा प्रहरी चौकी लामो दूरीमा छ । परीक्षण गर्दागर्दै उत्तरपुस्तिका लैजाने–ल्याउने क्रममा चुनौती थपिएको छ। तैपनि गृह मन्त्रालयले सुरक्षालाई थप कडा बनाएको छ । कतिपय ठाउँमा सुरक्षाकर्मी केन्द्रमै बस्नुभएको छ। ती प्रहरीलाई खानबस्ने सवालमा व्यवस्थापकीय कमजोरी रहेको पनि गुनासो छ। उत्तरपुस्तिका परीक्षण सवालमा विद्यार्थी कम भएका दुर्गम क्षेत्रका हिमाली र पहाडी भागमा माध्यमिक तहका शिक्षक छैनन्। कुनै जिल्ला वा पालिकामा एउटा मात्र विद्यालय छ। त्यस्ता ठाउँमा शिक्षक पाउन गाह्रो छ। त्यस्ता केन्द्रहरूमा उत्तरपुस्तिका परीक्षणमा चुनौती छ।
यस्तो अवस्थामा परीक्षण केन्द्रले उत्तरपुस्तिका परीक्षण कार्य कसरी व्यवस्थापन गर्छ त?
त्यस्ता परीक्षण केन्द्रको सवालमा निर्देशिकाले परीक्षणका लागि बाटो खोलिदिएको छ । मुख्यतः आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नगर्ने–नगराउने निर्देशिकाको पहिलो बाध्यता हो। हामीकहाँ होम सेन्टर छैन । भौतिक सुविधा राम्रो भएको स्कुलमै परीक्षा केन्द्र राखिएको छ। त्यस्ता ठाउँमा शिक्षकको पहुँच बढी छ । होम सेन्टर नभएका केन्द्रहरूमा त्यहींका शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्नुभएको छ। छिटो परीक्षण कार्य सक्नुपर्ने भएकाले वरिपरिका विद्यालयका शिक्षकलाई समेत सहभागी गराएर परीक्षण गराइरहेका छौं । मनाङ र मुस्ताङलगायतका जिल्लामा केही होम सेन्टर पनि छन्। त्यस्तो ठाउँमा उत्तरपुस्तिका आफैं परीक्षण गर्न नपाइने र अन्यलाई बोलाएर गराउने भनिएको छ।
उत्तरपुस्तिका परीक्षणमा विश्वसनीयता कायम गर्न कस्तो कदम चालिएको छ?
काठमाडौंमा विद्यालय संख्या बढी छ। विषयगत शिक्षक केन्द्रमा तान्ने परिपाटी छ। यसकारण काठमाडौंका परीक्षण केन्द्रहरूमा पर्याप्त परीक्षक नहोलान्, तर दुर्गममा लामो दूरीमा विद्यालय भएकाले शिक्षक व्यवस्थापन त्यहीअनुसार गरिएको छ। निर्देशिकाले माध्यमिक शिक्षक नभए पनि निमावि शिक्षकले योग्यता पुगेरै माथिल्लो तहमा पढाइरहनुभएको र विद्यालयले मावि तहमा पढाइरहेका शिक्षकलाई प्रमाणित गरिदियो भने त्यस्ता शिक्षकसँग पनि उत्तरपुस्तिका परीक्षण गराउन निर्देशिकाले बाटो खोलिदिएको छ। दुर्गममा सहज बनाइदिएको छ। दुर्गमकै कुरा गर्दा कतिपय केन्द्रको त परीक्षा सकिएको दिन परीक्षण सकेर रेकर्ड पनि परीक्षा केन्द्रमा आइसकेको अवस्था छ। यसरी परीक्षण कार्यलाई व्यवस्थित र विश्वसनीय बनाउन सबै पक्ष लागेको छ।
अहिलेसम्म कति जिल्लाको मार्कस्लिप केन्द्रमा आइसकेको छ त?
जहाँजहाँबाट परीक्षण सकिएको छ, त्यहाँबाट मार्कस्लिप आउने क्रम जारी छ। चैत २५ भित्र ६ जिल्लाका केही परीक्षण केन्द्रबाट परीक्षा केन्द्रमा मार्कस्लिप प्राप्त भएको छ। धेरै जिल्लाले जहाजसम्म पहुँच नभएको र मार्कस्लिप पठाउन यातायात समस्या भयो भन्ने गुनासो गर्नुभएको छ। त्यस्तो अवस्थामा म आफैंले जिल्ला शिक्षा समन्वय एकाइसँग कुरा गरेर व्यवस्थापन गर्नु भनेको छु। कोसी प्रदेश धनकुटा एकाइले आफैं गाडी व्यवस्था गरेर कोसी प्रदेशका सबै जिल्लाका परीक्षण केन्द्रबाट मार्कस्लिप ल्याउने काम गरिरहनुभएको छ। पोखराको आउँदै छ । सुर्खेतको जहाजबाट आइसकेको छ । चैत २९ भित्र सबै आइपुग्छ।
नतिजा प्रकाशन प्रक्रिया कस्तो छ?
सबै मार्कस्लिप उत्तरपुस्तिकासहित आइसकेपछि परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को केन्द्रीय कार्यालयमै नतिजा प्रकाशनसम्मको काम हुन्छ। यसपटक परीक्षा केन्द्रमै परीक्षण भएको छ । हामीले पहिले त जिल्लाबाटै इन्ट्री गराउने सोचेका थियौं, तर धेरै छोटो समय भएकाले त्यो सम्भव भएन। एसइई परीक्षा नियन्त्रण कार्यालयलाई प्राप्त भएको उत्तरपुस्तिका र मार्कस्लिप परीक्षा केन्द्रमा इन्ट्री हुन्छ । मार्क स्लिपको हार्डकपी नै मगाएका छौं । प्राप्त भएपछि परीक्षा नियन्त्रण कार्यालयले इन्ट्री गर्न थाल्छ। इन्ट्री प्रक्रिया चैत २५ देखि बोर्डबाटै सुरु भइसकेको छ । उत्तरपुस्तिका परीक्षणपछि नतिजा प्रकाशनका सबै प्रक्रिया बोर्डबाटै हुन्छ।
पाँच लाख १२ हजार चार सय २१ विद्यार्थीले परीक्षा फाराम भरेका छन् । परीक्षामा कति सहभागी भए त्यो परीक्षा सम्पन्न भएपछि थाहा हुन्छ । इन्ट्री सकिएपछि प्रोसेसिङ हुन्छ । यी सबै बोर्डले प्रकाशन गर्छ।
एसइई नतिजा कहिले प्रकाशन गर्ने तयारी छ त?
एसइई परीक्षा चैत २९ मा सम्पन्न हुन्छ । परीक्षा सकिएको एक महिनाभित्र नतिजा प्रकाशन हुन्छ । वैशाख २९ गते नै नतिजा प्रकाशन हुन्छ। विगतमा ७९ दिनमा नतिजा प्रकाशन गरेको तथ्यांक छ । ९० दिनभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था छ, तर छिटोमा ७९ दिनमा नतिजा प्रकाशन गरिएको रेकर्ड पनि छ।
सरकारले एसइई नतिजा छिटो प्रकाशन गर्न खोज्नुको कारण के हो?
वास्तवमा कक्षा ९, १० र ११ उस्तै हो । विद्यालय शिक्षा नै हो। एसएलसी भनेको कक्षा १२ हो । यसकारण कक्षा १० लाई हाउगुजी बनाउनुपर्ने आवश्यक छैन। कक्षा १० लाई सहजरूपमा लैजानुपर्ने मान्यता सरकारको रहेको छ । साथै ढिलो नतिजा प्रकाशनले परीक्षा दिएर बसेका विद्यार्थीले लामो समय खाली बस्नुपर्दा पथ भ्रमित हुने सम्भावना बढी देखियो। साथै शैक्षिक सत्र ढिलो हुँदा विभिन्न अवसरबाट विद्यार्थीले वञ्चित हुनुपरेको पाइयो । यसकारण समयमै शैक्षिक सत्र पूरा गराउन र परीक्षापछिको समय सदुपयोग गर्नका लागि पनि छिटो नतिजा प्रकाशन गर्न खोजिएको हो, जुन निर्णय सकारात्मक छ। हामी अचेल बिहान पाँच बजे नै कार्यालय आइपुगेर परीक्षणमा संलग्न हुन्छौं। छिटो नतिजा प्रकाशन गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि परीक्षा केन्द्र सानोठिमीमा बसेर पनि सफल बनाउन परीक्षा केन्द्र जुटिरहेको छ।
त्रुटिरहित नतिजा प्रकाशन गर्न बोर्डले कसरी काम गरिरहेको छ?
पहिलो कुरा शीघ्र रूपमा नतिजा प्रकाशन गर्दा केही न केही त्रुटि हुन जान्छ नै। दोस्रो कुरा, परीक्षण प्रक्रियामा अहिलेसम्म सहभागी नभएका शिक्षकहरू पनि सहभागी हुनुभएको छ । उहाँहरूलाई सबै प्रक्रिया र अभिलेख व्यवस्थापन प्रक्रियाबारे अभिमुखीकरण गर्न नपाउँदै हामीले उहाँहरूलाई परीक्षणको जिम्मेवारी दिएका छौं। यसले पनि त्रुटि हुन्छ भन्ने हाम्रो आशंका हो, तर त्यसलाई निराकरण गरेर नतिजा प्रकाशन गर्ने छौं। सवा पाँच लाख विद्यार्थीमा त्रुटि नहुने दाबी हामी गर्न सक्दैनौं । विगतमा पनि त्रुटि भएका छन्। सकेसम्म नहोस् भन्ने हाम्रो चाहना हो।
विगतमा राम्रो नतिजाका लागि केन्द्र किनबेचसमेत हुने गरेको सुनियो, यसपटक पनि यस्ता विकृति आयो भने कसरी हटाउने?
शिक्षकहरू आफ्नो जिम्मेवारप्रति सचेत हुनुहुन्छ। केन्द्रै किनेर गर्ने के? कक्षा १० को नतिजाले के हुन्छ ? कक्षा ११ मा भर्ना गर्ने परिणाम हो कक्षा १० को नतिजा। यसकारण अब त्यतातिर जानुपर्ने अवस्था आउँदैन भन्ने हामीलाई लागेको छ।
२०७६ सालको एसइईमा विद्यालयलाई जिम्मेवारी दिइएको थियो; अधिकांश विद्यालयका विद्यार्थीले जिपिए ४ ल्याएको तथ्यांक छ नि?
त्यतिबेलाको परिवेश फरक थियो। सबै विद्यालय प्रभावमा परेका छन् भन्ने होइन। तुलनात्मक रूपमा केही विद्यालय प्रभावमा परेका होलान् तर त्यसलाई उदाहरण बनाएर शिक्षकमाथि अविश्वास गर्नुपर्छ भन्ने मलाई लाग्दैन।
त्यतिखेर कोरोनाकाल थियो। जमघट गरी परीक्षा लिइएको होइन । वर्षभरि विद्यार्थीले गरेका गतिविधिका आधारमा मूल्यांकन गरी मार्कस्लिप पठाउन बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको थियो। तत्कालीन अवस्थामा परीक्षा नै गरेर मूल्यांकन गरेको होइन। आफ्नो शिक्षकबाटै मूल्यांकन गरिएकाले केही प्रभाव पर्यो होला, तर हाल त्यो अवस्था होइन। आफूले पढाएका विद्यार्थीका शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्ने होइन । यसकारण शिक्षकमाथि हामीले विश्वास गर्नुपर्छ । अविश्वास गर्न मिल्दैन।
एसइई नतिजा छिटो प्रकाशन गर्ने सरकारको निर्णयमा समुदायले पनि अपनत्व लिनुपर्छ। हामी आफ्ना बालबच्चा सुम्पिएको शिक्षकमाथि उत्तरपुस्तिका परीक्षण सबाललाई लिएर अविश्वास गर्नु ठिक होइन। शिक्षकहरूले आफ्नो जिम्मेवारी अक्षरशः निर्वाह गर्नुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास छ। सबै परीक्षण केन्द्रका साथीहरूले समयमै स्वच्छ रूपमा उत्तरपुस्तिका परीक्षण गरेर बोर्डको निर्देशनअनुसार अभिलेख तयार गरी परीक्षा नियन्त्रण कार्यालयमा उपलब्ध गराउन परीक्षा नियन्त्रकको हैसियतले म सबैसँग अनुरोध गर्छु। रूबी रौनियार / नागरिक दैनिक