काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल चारवर्षे कार्यकाल पूरा गरी शुक्रबारबाट अवकाश भएका छन् । अर्याललाई शुक्रबार बिदाइ गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी तथा झण्डा हस्तान्तरण गरे । सोही अवसरमा उनले सङ्गठनको सम्पूर्ण जिम्मेवारी समेत बरबुझारथ गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा सङ्गठनको सर्वोच्च पदमा पुग्नु र सफलतापूर्वक अवकाश हुनु जीवनको महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले सङ्गठन सुधार कुनै एक प्रमुखको कार्यकालमा सुरु भएर अन्त्य हुने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गरे । राष्ट्र, सङ्गठन र जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै मातहत कर्मचारीको हितमा आफूले काम गरेको उनको भनाइ थियो ।
त्यसैगरी, नवनियुक्त महानिरीक्षक पौडेलले सङ्गठनमा स्थापित मूल्य, मान्यता र परम्परालाई सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम, व्यावसायिक तथा जनउत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
उनले सङ्गठन विकास र सुदृढीकरणका लागि सुशासन, पारदर्शिता तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई दीर्घकालीन मार्गदर्शनका रूपमा अघि बढाइने बताए । सङ्गठनलाई राज्य र जनताप्रति अझ विश्वासयोग्य बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै महानिरीक्षक पौडेलले उच्च नैतिक आचरण र दृढ नेतृत्वले स्पष्ट निर्णय र विश्वसनीयता स्थापित गर्ने धारणा राखे ।
समारोहमा अवकाशप्राप्त महानिरीक्षकहरू, अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी तथा सशस्त्र प्रहरीका वरिष्ठ र कनिष्ठ अधिकृत एवं विल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।