नेपालको ऊर्जा क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय विस्तार देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार मुलुकको कुल जडित विद्युत् क्षमता चार हजार २९६ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित विद्युत्का आधारमा यो क्षमता निर्धारण गरिएको हो। परीक्षण चरणमा रहेका आयोजना र वैकल्पिक स्रोतबाट उत्पादित ऊर्जा भने यसमा समावेश गरिएको छैन।
मन्त्रालयले चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता चार हजार पाँच सय मेगावाटभन्दा माथि पुग्ने प्रक्षेपण गरेको छ। अहिले करिब तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् भने थप सोही हाराहारी क्षमताका आयोजना निर्माण प्रक्रियामा प्रवेश गर्ने तयारीमा रहेको जनाइएको छ। यसले आगामी केही वर्षभित्र नेपालको ऊर्जा उत्पादन क्षमतामा तीव्र वृद्धि हुने संकेत देखिएको मन्त्रालयको भनाइ छ।
विद्युत् पूर्वाधार विस्तारतर्फ पनि प्रगति देखिएको छ। हालसम्म ६६ केभीभन्दा माथिका करिब सात हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ। त्यस्तै १४ हजार ३२३ एमभिए क्षमताका सवस्टेसन सञ्चालनमा आइसकेका छन्। ३३ केभी क्षमताका प्रसारण लाइनतर्फ आठ हजार २२५ सर्किट किलोमिटर नेटवर्क विस्तार भएको छ भने तीन हजार ३०८ एमभिए क्षमताका सवस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
ऊर्जा क्षेत्रमा सबैभन्दा उल्लेखनीय सुधारमध्ये एक विद्युत् चुहावट नियन्त्रणलाई मानिएको छ। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको विशेष अभियान र सरकारी सक्रियताका कारण देशभरको विद्युत् चुहावट घटेर १२ दशमलव ५ प्रतिशतमा सीमित भएको मन्त्रालयको दाबी छ। प्राविधिक तथा प्रशासनिक सुधारमार्फत आगामी दिनमा चुहावट अझ घटाउँदै लैजाने लक्ष्य राखिएको छ।
मन्त्रालयका अनुसार सवस्टेसनको क्षमता विस्तार, प्रसारण लाइन स्तरोन्नति र आधुनिक प्रविधिको प्रयोगमार्फत वितरण प्रणालीलाई थप प्रभावकारी बनाइँदैछ। यसले विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो बनाउनुका साथै दीर्घकालीन रूपमा ऊर्जा नोक्सानी घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
देशमा विद्युत् पहुँच र खपत दुवै बढ्दो क्रममा छन्। हाल प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टासम्म पुगेको छ। राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जाको माध्यमबाट ९९ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको मन्त्रालयले जनाएको छ। ऊर्जा पहुँच विस्तारसँगै ग्रामीण क्षेत्रको आर्थिक गतिविधि र जीवनस्तरमा पनि सुधार देखिन थालेको सरकारी दाबी छ।
विद्युत् व्यापारतर्फ पनि नेपालले प्रगति गरेको देखिन्छ। हालसम्म दुई हजार ९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको छ भने करिब ५९० गिगावाट घण्टा विद्युत् आयात गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ। उत्पादन वृद्धि र आन्तरिक माग व्यवस्थापनसँगै आगामी वर्षहरूमा विद्युत् निर्यात अझ बढ्ने अपेक्षा गरिएको छ।
वैकल्पिक ऊर्जातर्फ सौर्य विद्युत् उत्पादन क्षमता ६२ दशमलव ७ मेगावाट पुगेको छ। लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५ दशमलव ३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा वैकल्पिक ऊर्जा पहुँच विस्तारले स्थानीयस्तरमा ऊर्जा उपयोग बढाउन सहयोग पुर्याएको मन्त्रालयले जनाएको छ।
सिँचाइ क्षेत्रतर्फ हालसम्म १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। तीमध्ये पाँच लाख ३२ हजार ९० हेक्टर जमिनमा वर्षभरी नै सिँचाइ सुविधा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाका लागि सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ।