हुम्ला। सशस्त्र प्रहरी बल नेपालले नेपाल–चीन सीमामा रहेको १२ नम्बर सीमास्तम्भको अनुगमन तथा रेखदेख गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हेडक्वाटर हुम्लाका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र विक नेतृत्वको टोलीले उक्त सीमास्तम्भको अनुगमन गरेको हो।
मोबाइल तथा इन्टरनेट सेवाको पहुँचभन्दा बाहिर रहेको उक्त सीमास्तम्भको रेखदेख तथा अवस्थाबारे जानकारी लिने उद्देश्यले अनुगमन गरिएको सशस्त्र प्रहरी निरीक्षक विकले बताउनुभयो।
उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हेडक्वाटर हुम्लाको प्रमुख जिम्मेवारीमध्ये सीमा सुरक्षा तथा अनुगमन पनि एक भएकाले यसलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको हो।
गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदको निर्देशनमा नेपाल–चीन अन्तर्राष्ट्रिय सीमामा रहेका सीमास्तम्भहरूको अभिलेखीकरण, वर्तमान अवस्था तथा सीमासम्बन्धी अन्य विवरणको वस्तुगत जानकारी संकलनलाई प्राथमिकता दिँदै अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो।
दुई देशबीचको सीमारेखा तथा सीमास्तम्भको अवस्था सन्तोषजनक रहेको बताउँदै उहाँले यस्तो अनुगमन वर्षमा कम्तीमा दुई पटक तथा आवश्यकताअनुसार थप गरिने जानकारी दिनुभयो।
समुद्री सतहबाट करिब ५,०१८ मिटर उचाइमा रहेको उक्त सीमास्तम्भको अनुगमन गर्न निरीक्षक विकको टोली बिहान ६ बजे सिमकोटबाट सवारीसाधनमार्फत लाप्चासम्म पुगेको थियो। त्यसपछि करिब एक घण्टा पैदल यात्रा गरी टोली सीमास्तम्भसम्म पुगेको थियो।
दुर्गम भूगोलका कारण टोलीले तयारी खाना बोकेर अनुगमनमा जानुपरेको थियो। अनुगमनपछि सीमास्तम्भ तथा आसपासको अवस्था सन्तोषजनक रहेको निरीक्षक विकले बताउनुभयो। गोरखापत्र अनलाइन