काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा अधिवेशन स्थगित भएको तथा पाँच जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो । रास्वपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ २३ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो । पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिएलगत्तै मङ्गलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ ।
रास्वपाका प्रवक्ता मनीष झाका अनुसार हालसम्म सम्पन्न भएका ५६ जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेशका अधिकांश जिल्लामा नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको पनि उहाँले जानकारी दिनुभयो । हालसम्म कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामा अधिवेशन सम्पन्न भएको छ । उदयपुरमा निर्वाचन प्रक्रिया जारी छ ।
त्यसै गरी मधेश प्रदेशका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा निर्वाचन सम्पन्न भएको छ । धनुषामा आज निर्वाचन हुँदै छ । त्यसै गरी सप्तरी र बारामा भोलि बुधबार मतदान हुने कार्यतालिका छ । यसै गरी अन्य जिल्लामा पनि नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको रास्वपाले जनाएको छ । बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुली, धादिङ, रामेछाप, चितवन, रसुवा र ललितपुरमा अधिवेशन सम्पन्न भएको छ । सिन्धुपाल्चोकको अधिवेशन भने स्थगित गरिएको छ । स्थगन हुनुको कारण भने खुलाएको छैन । गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ, गोरखा र बाग्लुङमा अधिवेशन सम्पन्न भएका छन् । बाग्लुङ र नवलपुरमा भने निर्वाचन प्रक्रिया सुरु हुन बाँकी छ ।
यसै गरी लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी (पश्चिम), पाल्पा, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देहीलगायत सबै जिल्लामा अधिवेशन सम्पन्न भएको रास्वपाले जनाएको छ । लुम्बिनी पहिलो प्रदेश बनेको छ, जहाँ सबै जिल्ला अधिवेशन सकिएका छन् । कर्णाली प्रदेशका कालिकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सम्पन्न भइसकेको छ । सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया जारी छ । डोल्पा, हुम्ला र रुकुम पूर्वमा भने अधिवेशन सुरु हुन बाँकी छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका बैतडी, डडेलधुरा, अछाम, दार्चुला, कैलाली र कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको छ । डोटी र बाजुरामा पुनः निर्वाचन हुने भएको छ भने अन्य जिल्लामा नेतृत्व चयन सम्पन्न भइसकेको छ । मनाङ र मुस्ताङमा भने हालसम्म जिल्ला अधिवेशन हुन सकेको छैन । यससँगै अधिवेशन हुन बाँकी जिल्लाको सङ्ख्या पाँच पुगेको छ ।
त्यसै गरी रास्वपाले वडा र पालिका तहको अधिवेशन सम्पन्न गरिसकेपछि जिल्ला अधिवेशनमार्फत सङ्गठनलाई थप सुदृढ बनाउने अभियानलाई तीव्रता दिएको हो । पार्टी नेतृत्वले तल्लो तहबाट नेतृत्व चयन गर्ने प्रक्रियालाई लोकतान्त्रिक अभ्यासको महìवपूर्ण आधारका रूपमा व्याख्या गर्दै सङ्गठन निर्माणमा सदस्यहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको जनाएको छ ।
रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ । पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ ।