काठमाडौँ । केन्द्रीय कृषि प्रयोगशालाले २५ हजार ९० तरकारी नमुना परीक्षण १२६ वटामा उपभोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ । प्रयोगशालाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा देशका १२ स्थानमा त्यो सङ्ख्याका नमुना परीक्षण गरेकामा १२६ वटा खान नहुने र ४९ वटा केही दिन पर्खेर मात्रै खान मिल्ने विषादीको मात्रा पाइएको थियो ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटीबाहेक बिर्तामोड, बुटवल, पोखरा, नेपालगन्ज, सुर्खेत, धरान, लालबन्दी, कावासोती, सिन्धुली, ढल्केबर, अत्तरिया प्रयोगशाला सञ्चालनमा
ल्याइएको छ । केन्द्रीय प्रयोगशालाका अनुसार कालीमाटी २६ वटा, पोखरामा २६ वटा, कावासोतीमा २६ वटा, अत्तरियामा १३ वटा, नेपालगन्ज र सुर्खेत सात/सात वटा, बुटवल पाँच वटा, ढल्केबर चार वटा, लालबन्दी, कावासोती, बिर्तामोड तीन/तीन वटा खान नहुने विषादीको अवशेष भेटियो ।
नेपालमा हाल यीबाहेकका विषादी प्रयोग भएमा ती प्रयोगशालाले पत्ता लगाउन सक्दैनन् । नेपालमा हाल १६९ प्रकारका विषादी दर्ता भएर प्रयोगमा छन् ।
विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र खान मिल्ने भनी वर्गीकरण गरिएको छ । विषादी अवशेषको रोकावट दर ३५ देखि ४५ प्रतिशतसम्म भएको केही दिनपछि पर्खेर पुनः परीक्षणमा ठिक भएमा बिक्रीका लागि बजार पठाउन सकिने व्यवस्था छ । विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी भएमा नष्ट गर्नु पर्छ ।
प्रयोगशाला प्रमुख डा. शान्ता कार्कीले खान नहुने विषादी भेटिएका तरकारीको परीक्षण गरेपछि यस्ता वस्तुको नष्ट गर्नुपर्ने सुझावसहितको रिर्पोट सम्बन्धित तरकारी बजार सञ्चालन समिति, प्रहरी प्रशासन र स्थानीय पालिकालाई बुझाउने गरेको जानकारी दिनुभयो । परीक्षण गरेर प्रतिकूल देखिएका तरकारी तथा फलफूल नष्ट गर्ने काम ठुलो चुनौती हुने गरेको उहाँको भनाइ छ । कार्कीले प्रयोगशालामा सानो युनिटले काम गरी दिएको सुझाव अनुसार सम्बन्धित निकायबाट प्रतिकूल देखिएका वस्तुको नष्ट गरेको सूचना नदिने ठुलो समस्या रहेको बताउनुभयो ।
हाल केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत देशभर १२ वटा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत १५ वटा प्रयोगशालाले विषादी परीक्षण गर्दै आएका छन् । गोरखापत्र