काठमाडौँ । नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्यमार्फत आपसी जनताको हितमा केन्द्रित गर्नेबारे छलफल गरेका छन् । चीन भ्रमणमा रहनुभएको नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यीबिच सोमबार चीनको बेइजिङमा यसबारे उच्चस्तरीय छलफल भएको हो ।
द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ । परराष्ट्रमन्त्री खनाल चीनका विदेशमन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नुभएको हो । उच्चस्तरीय भेटबारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभएको छ, “आज बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीलाई भेट्न पाउँदा खुसी लाग्यो । हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्रसहित द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा व्यापक छलफल ग¥यौँ ।” उहाँले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको प्रस्ट पार्नुभयो । परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री यीले नेतृत्व गर्नुभएको दुई देशका प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्तामा आपसी मित्रता, सद्भाव र सहयोगले चिनिएको नेपाल–चीन सम्बन्धको सम्पूर्ण पक्षमा गहन छलफल भएको बेइजिङस्थित नेपालको राजदूतावासले जनाएको छ । छलफलमा मन्त्री खनालले नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्न नदिने प्रस्ट पार्दै एक चीन नीतिप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता दोहो¥याउनुभयो । मन्त्री खनालले नेपाल र चीनबिचको मित्रता सहस्राब्दीदेखि फैलिएको र अटल रहेको औँल्याउँदै नेपालको राष्ट्रिय विकास र जनताको जीविकोपार्जनमा सुधार, नेपाललाई समान मित्रका रूपमा निरन्तर व्यवहार तथा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मानप्रति चीनले देखाएको सद्भावको प्रशंसा गर्नुभयो ।
छलफलमा दुई छिमेकी सम्बन्धलाई राष्ट्रहितमा केन्द्रित गर्दै अघि बढ्नेबारे प्रतिबद्धता जनाइएको छ । दुवै देशले पारस्परिक सम्मान, एक अर्काको प्राथमिकता र संवेदनशीलताप्रति साझा प्रतिबद्धता स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको नेपाली दूतावासले जनाएको छ । दुवै देशबिच पूर्वाधार विकास, सम्पर्क सञ्जाल निर्माण, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल आयात निर्यात, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणसहित जनसम्बन्धलगायत विविध क्षेत्रमा सहकार्यलाई बढाउन सकिने विषयमा पनि दुई मन्त्री सहमत हुनुभएको दूतावासले जानकारी दिएको छ ।
छलफलमा चीनका विदेशमन्त्री यीले नेपाल चीनबिचको परम्परागत मित्रतालाई निरन्तरता दिँदै नेपालको नयाँ उपलब्धि संस्थागत गर्न चीन सरकारको तत्परता व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री खनालसँगको वार्ताक्रममा वाङले राख्नुभएको धारणा उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले भनेको छ, “राजनीतिक पारस्परिक विश्वास बढाउन र समयसँगै चीन–नेपाल रणनीतिक सहयोगमा नयाँ उपलब्धि प्रवर्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक छ ।”
वाङले चीन र नेपाल हिमालय र नदीसँगै साझा भाग्य बाँडेर बसेको देश भएको उल्लेख गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएदेखि, अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको घरेलु परिस्थितिमा आएको परिवर्तनलाई ध्यान नदिई, दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई निरन्तर समर्थन गर्दै आएको प्रस्ट पार्नुभयो । उहाँले द्विपक्षीय सम्बन्धको दिगो विकास यात्रामा सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गर्नुभएको स्मरण गर्नुभयो । जस अनुसार दुई देशले विकास र समृद्धितर्फ उन्मुख दिगो मित्रताको रणनीतिक सहकारी साझेदारी स्थापना भएको औँल्याउनुभयो ।
यीले थप्नुभयो, “चीन सधैँ नेपालको विकास, पुनरुत्थान र आधुनिकीकरण प्रक्रियामा एक विश्वसनीय र भरपर्दो असल छिमेकी र साझेदार हुने छ, चीन नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यान्वयन गर्न इच्छुक छ, जसले पावर ग्रिड, राजमार्ग, बन्दरगाह र उड्डयन जस्ता क्षेत्रमा सहयोगमा ध्यान केन्द्रित गर्दै नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देशमा रूपान्तरण गर्न मद्दत गर्ने छ ।”
नेपालको तर्फबाट परराष्ट्रमन्त्री खनालले चीनको विकास नेपालका लागि अवसर भएको उल्लेख गर्दै नेपाल चिनियाँ लगानीलाई स्वागत गर्ने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले चिनियाँ उद्यमीका लागि निष्पक्ष, कानुनको शासन र मैत्रीपूर्ण व्यावसायिक वातावरण प्रदान गर्न नेपाल इच्छुक रहेको बताउनुभएको चीनको विदेश मन्त्रालयले जनाएको छ । उहाँको भनाइ उद्धृत गर्दै मन्त्रालयले भनेको छ, “नेपाल चीनको शासन अनुभवबाट सिक्न इच्छुक छ, गरिबी निवारण र वातावरण संरक्षणमा चीनको उपलब्धिको प्रशंसा गर्दछ र उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभमा सक्रिय रूपमा कार्यान्वयनमा जाने छ, नेपाल–चीन कनेक्टिभिटी सुधार गर्ने छ, विभिन्न क्षेत्रमा पारस्परिक रूपमा लाभदायक सहयोग प्रवर्धन गर्ने छ ।”
दुवै पक्षले साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा पनि धारणा आदानप्रदान गर्नुभएको थियो । बैठकपछि मन्त्री खनालले उहाँको सम्मानमा विदेशमन्त्री यीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो ।
सिसिपीका विदेश विभाग प्रमुखसँग छुट्टै भेट
परराष्ट्रमन्त्री शिशिर खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङबिच सोमबारै बेइजिङमा भेटवार्ता भयो । उक्त भेटमा दुवै पार्टीबिच भविष्यमा थप गहिरो सहकार्यका सम्भावनाबारे छलफल भएको थियो । मन्त्री खनालले भेटपछि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत छलफल फलदायी भएको अवगत गराउनुभएको छ । उहाँले भन्नुभएको छ, “हामीबिच नेपाल र चीनबिचको सम्बन्ध थप प्रगाढ बनाउने, पार्टीगत सहकार्यलाई विस्तार गर्ने, जनसम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भएको छ ।”
साथै सिपिसीका विदेश विभाग प्रमुख लिउले रास्वपासँग सिपिसीले आपसी आदानप्रदान अझ बढाउने चाहना भेटमा व्यक्त गर्नुभयो । आपसी सम्बन्ध विस्तारसँगै शासकीय अनुभवको साझेदारी विकास गर्न अन्तरपार्टी सहयोग आदानप्रदान गर्न तयार रहेको स्पष्ट पार्नुभएको जनाइएको छ । यसैबिच मन्त्री खनालले सोमबारै चिनियाँ विज्ञान प्रतिष्ठान तथा तिब्बती पठार अनुसन्धान संस्थानको अवलोकन भ्रमण गर्नुभयो । सो क्रममा उहाँले अध्ययन अनुसन्धानसँग सम्बन्धित साझा क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने धारणा सो क्रममा राख्नुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । गोरखापत्र अनलाइन