नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ नेतृत्व चयनका लागि आन्तरिक निर्वाचन सुरु गरेको छ। निर्वाचनलाई प्रविधिमैत्री बनाउँदै पार्टीले विद्युतीय मतदान प्रणाली प्रयोग गरेको हो।
९९ जना केन्द्रीय समिति सदस्य चयनका लागि भइरहेको निर्वाचनमा राम–लक्ष्मण इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ। राति ढिलो सुरु भएको मतदानमा समाचार तयार पार्दासम्म एक हजार दुई सयभन्दा बढी प्रतिनिधिले मतदान गरिसकेको रास्वपा चितवनका सभापति मिनिमाधव खनालले जानकारी दिनुभयो।
निर्वाचन समितिका अनुसार बिहीबार बिहान १० बजेसम्म मतदान गर्न पाइने कार्यतालिका छ।
रास्वपाका प्रवक्ता मनीष झाले निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन जडान गरिएको जानकारी दिनुभयो। प्राविधिक समस्याका कारण मतदान ढिलो सुरु भएको बताउँदै उहाँले समस्या समाधान भएपछि मतदान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो।
उहाँका अनुसार विद्युतीय मतदान प्रणाली प्रयोग गरिएकाले मतदान सुरु भएपछि प्रक्रिया सहज बनेको छ। विदेशमा रहेका रास्वपाका मतदाताका लागि अनलाइन मतदानको व्यवस्था पनि गरिएको छ।
निर्वाचनमा धेरै उम्मेदवारलाई मतदान गर्नुपर्ने भएकाले एक मतदातालाई मतदान गर्न करिब १५ मिनेट समय लाग्ने बताइएको छ। यस आधारमा मतदान प्रक्रिया सम्पन्न हुन करिब १३ घण्टा लाग्ने अनुमान गरिएको छ।
यस निर्वाचनमा चार हजार दुई सयभन्दा बढी प्रतिनिधि मतदाता सहभागी भएका छन्।
निर्वाचन आयोगकी सदस्य सुमित्रा कार्कीले उम्मेदवारहरूको फोटो विद्युतीय प्रणालीमा समावेश गर्ने क्रममा समस्या देखिएकाले मतदानमा ढिलाइ भएको बताउनुभयो। समस्या समाधान भएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको उहाँको भनाइ छ।
“केन्द्रीय सदस्यहरूको पहिलो चरणको निर्वाचन हो। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ,” उहाँले भन्नुभयो।
पहिलो चरणको निर्वाचनबाट सभापतिसहित ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन्। ती ९९ पदका लागि ३८४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सभापति पदमा रवि लामिछानेको मात्र उम्मेदवारी परेकाले उक्त पदका लागि मतदान भएको छैन।
लामिछानेको उम्मेदवारीका प्रस्तावक पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह रहनुभएको थियो। सभापति पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था संशोधित विधानमा रहेको छ।
पहिलो चरणबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यहरूमध्येबाट पार्टीका अन्य पदाधिकारी चयन गरिनेछ। विधानअनुसार रास्वपामा एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, छ सहमहामन्त्री, एक प्रवक्ता, एक सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहने व्यवस्था छ।
पहिलो चरणको मतपरिणाम सार्वजनिक भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु गरिने निर्वाचन समितिले जनाएको छ। दोस्रो चरणमा पनि सबै प्रतिनिधिहरूले मतदान गर्नेछन्।
रास्वपाले प्रयोगमा ल्याएको विद्युतीय मतदान प्रणाली नेपाली प्रविधिमा आधारित हो। यस प्रविधिमार्फत यसअघि पनि विभिन्न निर्वाचन सम्पन्न भइसकेका छन्। प्रविधि विकासकर्ता संस्थाका प्रबन्ध निर्देशक रेग्मीका अनुसार यस प्रणालीमार्फत नेपालमा हालसम्म २५० भन्दा बढी निर्वाचन सम्पन्न भइसकेका छन्। पछिल्लो पटक रास्वपाको बागमती प्रदेशस्तरीय निर्वाचन पनि यही प्रणालीमार्फत काठमाडौंमा सम्पन्न गरिएको थियो। गोरखापत्र अनलाइन