काठमाडौं । उपत्यकामा कालो सिसा (ब्ल्याक फिल्म) जडान गरेर सञ्चालन गरिएका सवारीसाधनविरुद्ध ट्राफिक प्रहरीले व्यापक निगरानी र कारबाही अभियान सञ्चालन गरेको छ। अभियानकै क्रममा एकै दिन ८० भन्दा बढी ट्याक्सीसहित सयौँ सवारीसाधन कारबाहीमा परेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विशेष चेकिङ अभियानअन्तर्गत कालो सिसा प्रयोग गरी सञ्चालन गरिएका ८० भन्दा बढी ट्याक्सी नियन्त्रणमा लिइएको हो। त्यस्तै, अन्य निजी सवारीसाधनसमेत गरी उल्लेख्य सङ्ख्यामा गाडीमाथि कारबाही गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार कालो सिसा प्रयोगले सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले यस्ता सवारी अपराध, लुटपाट, अपहरण, अवैध ओसारपसार तथा अन्य आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने सुरक्षा निकायको निष्कर्ष छ। त्यसैले यस्ता सवारीविरुद्ध निगरानी अझ कडा बनाइएको उनले बताए।
कारबाहीमा परेका सवारीधनीलाई प्रचलित कानुनअनुसार न्यूनतम ७ हजार ५ सय रुपैयाँ जरिवाना गराइएको छ। जरिवानासँगै सवारीमा टाँसिएको कालो स्टिकर तत्काल हटाइएपछि मात्र पुनः सञ्चालन गर्न अनुमति दिइएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार कालो सिसाविरुद्धको अभियान कुनै एकदिने कार्यक्रम नभई निरन्तर सञ्चालन हुने सुरक्षा रणनीतिको हिस्सा हो। नियमविपरीत कालो सिसा प्रयोग गर्ने सवारीसाधनलाई आगामी दिनमा पनि नियमित रूपमा निगरानी गरी कारबाही गरिने चेतावनी दिइएको छ।
प्रहरीले सवारीधनीलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, कानुनविपरीत कालो सिसा प्रयोग नगर्न तथा सुरक्षित र पारदर्शी यातायात प्रणाली निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।