काठमाडौँ । आज राष्ट्रिय धान दिवस । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ । यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ ।
यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । आधा असार सकिन लाग्दा धान रोपाइँ भने न्यून भएको छ । यस वर्ष पानी नपर्दा धान रोपाइँ कम भएको हो ।
कृषि विभाग अनुसार १२ असारसम्म मुलुकभर ११.३३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो अवधिमा १५.६ प्रतिशत धान रोपाइँ भएको थियो । मुलुकभर धान रोपाइँ हुने १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा रहेकोमा यो वर्ष एक लाख ५६ हजार ५८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
१२ असारसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२.८ प्रतिशत अर्थात् नौ हजार ८७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा २०.९ प्रतिशत अर्थात् ६२ हजार ६७१ हेक्टर क्षेत्रफलमा र गण्डकी प्रदेशमा १२.७ प्रतिशत अर्थात् ११ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
यस्तै बागमती प्रदेशमा १२.६ प्रतिशत अर्थात् १४ हजार ४२० हेक्टर क्षेत्रफलमा, सुदूरपश्चिममा ९.३ प्रतिशत अर्थात् १५ हजार आठ सय हेक्टरमा र कोशी प्रदेशमा ८.३ अर्थात् २२ हजार ८१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा पाँच प्रतिशत अर्थात् १९ हजार १५८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
विभागका वरिष्ठ कृषि अर्थविज्ञ एवं सूचना अधिकारी तिलकराज चौलागाईंले पानी नपरेकाले धान रोपाइँ कम भएको जानकारी दिनुभयो । पहाडी क्षेत्रमा धान रोपाइँ छिटो भए पनि तराईमा भने रोपाइँ ढिला हुने गर्छ ।
सैँतिस अर्बको धानचामल आयात
चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा झन्डै ३८ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख ६२ हजार रुपियाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा ३८ अर्ब ९४ करोड २८ लाख रुपियाँको धानचामल आयात भएको थियो । गत आवको तुलनामा चालु आवमा एक अर्ब १० करोड रुपियाँको कम आयात भएको छ ।
चालु आवको ११ महिनामा १८ अर्ब ५३ करोड ६६ लाख रुपियाँ बराबर चार लाख ६४ हजार १०२ मेट्रिक टन धान आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १५ करोड ७१ लाख रुपियाँ बराबरको पाँच लाख २३ हजार ८३९ मेट्रिक टन धान आयात भएको थियो । यस्तै ११ महिनामा १९ अर्ब ३० करोड २६ लाख १० हजार रुपियाँ बरबरको दुई लाख ४७ हजार ४१८ मेट्रिक टन चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको दुई लाख २९ हजार ४६५ मेट्रिक चामल आयात भएको थियो ।
मुलुकमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि हालको उत्पादनका आधारमा करिब १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ । माग अनुसार उत्पादन नहुनु, उपभोक्ताको खाने बानीमा आएको परिवर्तनसँगै मसिनो तथा बास्नादार चामलको माग बढ्दा धानचामलको आयात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । भारत, चीन, सिङ्गापुर, इन्डोनेसिया, साउदी अरब, थाइल्यान्ड, भियतनामलगायतका देशबाट धानचामल आयात हुने गर्छ । गोरखापत्र अनलाइन