काठमाडौँ । मनसुन सुरु भएसँगै नेपाली नागरिक बाढीपहिरो र डुबानको जोखिमबारे सचेत हुन्छन् । तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ । त्यो हो सर्पदंश; जसले बर्सेनि सयौँ परिवारको खुसी खोसिरहेको छ । तराईका खेतमा धान रोप्दै गरेका किसानदेखि अँध्यारो कोठाका भुइँमा सुतिरहेका बालबालिकासम्म सर्पदंशको जोखिममा छन् । एउटा विषालु सर्पको डसाइले केही घण्टामै जीवन र मृत्युबिचको दुरी तय गरिदिन सक्छ । यो समस्या अझै पनि राष्ट्रिय बहसको केन्द्रमा आउन सकेको छैन ।
यस वर्षको तथ्याङ्कले सर्पदंशको गम्भीरता झन् स्पष्ट बनाएको छ । २०८३ वैशाख १ गतेदेखि हालसम्म देशभर सर्पदंशका ९५६ घटना भएका छन् भने ६६ जनाले ज्यान गुमाएका छन् । यही अवधिमा पहिरोमा ४३ र बाढीमा २० जनाको मृत्यु भएको छ । सर्पदंशबाट भएको मानवीय क्षति बाढी र पहिरोको संयुक्त क्षतिभन्दा बढी छ ।
सर्पदंशको बढ्दो जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘सर्पदंश रोकथाम तथा नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सर्पदंश अब केवल स्वास्थ्य समस्या नभई जनस्वास्थ्य, विपत् व्यवस्थापन र सामाजिक–आर्थिक विकाससँग जोडिएको राष्ट्रिय चुनौतीका रूपमा हेरिन थालिएको छ । कार्ययोजना अनुसार नेपालका छ प्रदेशका २४ जिल्ला सर्पदंशको उच्च जोखिममा छन् । विशेष गरी तराई र भित्री मधेश बढी प्रभावित क्षेत्र हुन् ।
जलवायु परिवर्तन, वन क्षेत्रको क्षयीकरण, अव्यवस्थित सहरीकरण र मानव बस्ती विस्तारसँगै सर्पको बासस्थान परिवर्तन भइरहेको छ । त्यसको प्रभावस्वरूप सर्प र मानिसबिचको सम्पर्क बढ्दै गएको छ । एक समय तराईमा सीमित मानिएको जोखिम अहिले पहाडी जिल्लासम्म फैलिन थालेको प्रतिवेदनमा उल्लेख छ ।
प्राधिकरणको दशक लामो अभिलेखले पनि समस्या गम्भीर रहेको देखाउँछ । २०७३ देखि २०८३ असार मसान्तसम्म सर्पदंशका घटनाबाट ३०१ जनाको मृत्यु भएको छ भने एक हजार ४०१ जना घाइते भएका छन् । मृतकमध्ये महिला र बालबालिकाको सङ्ख्या उल्लेख्य छ । यसले सर्पदंश स्वास्थ्यको मात्र होइन, सामाजिक र लैङ्गिक आयामसँग जोडिएको चुनौती भएको देखाउँछ ।
मृत्युको कारण ढिलो उपचार
विशेषज्ञहरूका अनुसार नेपालमा सर्पदंशबाट हुने धेरै मृत्यु विषको असरभन्दा पनि उपचारमा हुने ढिलाइका कारण हुने गर्छ । ग्रामीण बस्तीबाट स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने समय, एन्टिभेनमको सीमित उपलब्धता, दक्ष स्वास्थ्यकर्मीको अभाव र कमजोर उद्धार प्रणाली प्रमुख समस्या हुन् । त्यसमाथि कतिपय समुदायमा अझै पनि झारफुक, धामीझाँव्रmी र घरेलु उपचारप्रतिको विश्वास कायम छ । फलस्वरूप बिरामी अस्पताल पुग्दासम्म अवस्था जटिल भइसकेको हुन्छ ।
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार विषालु सर्पको टोकाइले शरीरमा फरक फरक असर पार्छ । केही सर्पको विषले रगत जम्न नदिने समस्या ल्याउँछ भने केहीले स्नायु प्रणालीमा असर गर्छ । गोमन र करेतले टोकेको अवस्थामा सुरुमा वाकवाकी लाग्ने, आँखा खोल्न गाह्रो हुने, अचेत हुँदै जाने र अन्ततः श्वासप्रश्वास नै बन्द हुने अवस्था आउन सक्छ ।
सबै सर्प विषालु हुँदैनन्
इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका अनुसार सबै सर्प विषालु हुँदैनन् । नेपालमा पाइने धेरै सर्प मानिसका लागि घातक हुँदैनन् । सर्पले प्रायः आफूलाई खतरा महसुस गरेपछि मात्र प्रतिरक्षाका लागि टोक्ने गर्छ । त्यसैले सर्प देख्दा अनावश्यक आव्रmमण वा उत्तेजना देखाउनु जोखिमपूर्ण हुन सक्छ ।
चिकित्सकहरूका अनुसार सर्पले टोकेपछि सबैभन्दा महìवपूर्ण कुरा आत्तिनु हुँदैन । दौडिने वा भाग्ने गर्दा विष शरीरभरि छिटो फैलिन सक्छ । बिरामीलाई सकेसम्म शान्त राख्ने, टोकेको अङ्ग कम चलाउने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पु¥याउनु नै सही प्राथमिक उपचार हो । तर गोबर लगाउने, घाउ काट्ने, रगत चुस्ने वा धामीझाँव्रmीकहाँ लैजाने जस्ता कार्यले उल्टो जोखिम बढाउँछ ।
सर्पदंश साझा मुद्दा
अधिकारकर्मी दुर्गाप्रसाद दाहालका अनुसार लामो समयसम्म सर्पदंशलाई ‘ग्रामीण समस्या’ भनेर सीमित रूपमा हेरियो तर नयाँ राष्ट्रिय कार्ययोजनाले यसलाई सार्वजनिक स्वास्थ्य र विपत् व्यवस्थापनको साझा मुद्दाका रूपमा स्थापित गरेको छ ।
मनसुनका प्रत्येक वर्षासँगै सर्पदंशको जोखिम दोहोरिन्छ तर समयमै उपचार, पर्याप्त एन्टिभेनम, जनचेतना र प्रभावकारी पूर्वतयारी भए सर्पदंशबाट हुने अधिकांश मृत्यु रोक्न सकिन्छ । अन्यथा बाढीपहिरोको समाचारबिच गाउँघरको यो मौन विपत्तिले परिवारहरूको खुसी खोसिरहने दाहालले बताउनुभयो । गोरखापत्र अनलाइन