काठमाडौँ । सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको संवेदनशील जिम्मेवारी बोकेका सैनिक सङ्गठनहरू राष्ट्रिय हित र सुरक्षाप्रति सधैँ सचेत रहन्छन् । सामरिक स्वार्थ र सुरक्षा चुनौती रहेका छिमेकी मुलुकका सेना प्रायः तनावमा रहने भए पनि नेपाल र भारतका सेनाबिच भने दशकौँदेखि आपसी विश्वास, सम्मान, सहकार्य र सद्भावपूर्ण सम्बन्ध कायम छ ।
नेपाल र भारतबिचको यो सैनिक सम्बन्धको एउटा महत्वपूर्ण विशेषता एकअर्काका सेना प्रमुखलाई विगत सात दशकभन्दा लामो समयदेखि मानार्थ सेनापतिको दर्जा आदानप्रदान गर्नु रहेको छ । यही परम्परालाई निरन्तरता दिँदै भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई विशेष समारोहबिच नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरिँदै छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने भ्रमणमा आइतबार नेपाल आउन लाग्नुभएका जनरल सेठलाई राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले विशेष समारोहबिच उक्त सम्मान प्रदान गर्दै हुनुहुन्छ ।
नेपाली सेनाका प्रवक्ता, सहायक रथी राजाराम बस्नेतका अनुसार नेपाल र भारतबिच एकअर्काका सेना प्रमुखलाई मानार्थ प्रधान सेनापतिको सम्मान प्रदान गर्ने परम्पराले सात दशकभन्दा लामो इतिहास बोकेको छ ।
विसं २००७ मा भारतीय सेनाका तत्कालीन फिल्ड मार्सल केएम करिअप्पालाई नेपाली सेनाको मानार्थ प्रधान सेनापति र विसं २०२६ मा नेपाली सेनाका तत्कालीन प्रधान सेनापति सुरेन्द्रबहादुर शाहलाई भारतीय सेनाको मानार्थ स्थल सेनाध्यक्षको दर्जा प्रदानसँगै यो परम्परा सुरु भएको थियो ।
“दुवै देशका नवनियुक्त सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गर्ने परम्परा निरन्तर रहँदै आएको छ,” प्रवक्ता बस्नेतले भन्नुभयो, “यसअघि नेपाली सेनाका प्रधान सेनापति सिग्देलले भारत भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्जा ग्रहण गर्नुभएको थियो ।”
रणनीतिक सुरक्षाविद् पूर्वरथी डा. आशबहादुर तामाङले नेपाल–भारतबिच दशकौँदेखि कायम रहेको नागरिक–सैनिक सम्बन्धलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । सैनिक सम्बन्ध र सुरक्षा आयाम अत्यन्त संवेदनशील हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “विगतमा समस्या तथा सङ्कट उत्पन्न हुँदा यो सम्बन्धले ठुलो सहयोग पु¥याएको छ । यो सम्बन्धलाई राष्ट्रिय हितमा अझ बढी उपयोग गर्नेतर्फ हामीले ध्यान दिनु पर्छ ।”
विपत् व्यवस्थापन, सैनिक तालिम, संयुक्त अभ्यास र क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा दुई देशका सेनाबिच निरन्तर सहकार्य हुँदै आएको छ । २०७२ सालको विनाशकारी भूकम्पका बेला भारतीय सेनाले नेपालमा उद्धार तथा राहत कार्यमा महत्वपूर्ण सहयोग गरेको थियो । त्यस्तै भारतीय सेनामा कार्यरत गोर्खा सैनिकले भारतको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षामा लामो समयदेखि योगदान दिँदै आएका छन् । दुवै देशका सैनिकले एकअर्काको अनुभव, सिप र दक्षताको उपयोग गर्दै आएका छन् ।
भारतीय सेनाका विभिन्न प्रतिष्ठित सैनिक शिक्षण संस्थामा नेपाली सैनिक अधिकारीले तालिम तथा अध्ययन गर्दै आएका छन् । नेपाली सेनाले पनि उच्च हिमालीक्षेत्रमा सैनिक सञ्चालन तथा ‘हाई अल्टिच्युड एन्ड माउन्टेन वारफेयर’ सम्बन्धी आफ्नो अनुभव भारतीय सैनिकलाई प्रदान गर्दै आएको छ ।
दुई देशका सैनिकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०११ देखि संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ पनि निरन्तर सञ्चालन हुँदै आएको छ । यसमा सैनिक सिप, विपत् व्यवस्थापन, खोज तथा उद्धारलगायतका विषयमा अनुभव आदानप्रदान हुँदै आएको छ ।
नेपाल–भारत सैनिक सम्बन्धको मानार्थ परम्परा त्यसैले केवल सम्मानको औपचारिक अभ्यास मात्र नभई इतिहासमा जोडिएको बलिदान, वर्तमानमा कायम विश्वास र भविष्यको सहकार्यको प्रतिविम्ब बनेको छ । बदलिँदो विश्वसुरक्षा परिवेशमा यसले द्वन्द्वभन्दा सहकार्य, अविश्वासभन्दा विश्वास र प्रतिस्पर्धाभन्दा पारस्परिक सम्मानको सन्देशसमेत दिएको छ ।