इटहरी । खुला सीमा, तीव्र सहरीकरण र ठुलो जनघनत्वका कारण सुरक्षा चुनौती थपिँदै गएको सुनसरीमा प्रहरीले अपराध नियन्त्रणका लागि डिजिटल प्रविधि, सूचना विश्लेषण र लक्षित निगरानीलाई मुख्य रणनीति बनाउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले प्रविधिको अधिकतम प्रयोग गर्दै अपराधको प्रकृति पहिचान, सम्भावित जोखिमको पूर्वानुमान तथा घटनापछिको अनुसन्धानलाई प्रभावकारी बनाउने रणनीति अघि सारिएको बताउनुभयो ।
इनरुवामा स्थानीय सञ्चारकर्मीसँगको अन्तर्क्रियामा प्रहरी उपरीक्षक मल्लले नागरिकलाई सुरक्षित महसुस गराउने र जिल्लामा शान्ति–सुरक्षा कायम गर्ने विषयलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
ठुलो जनसङ्ख्या, खुला सीमा र बहुआयामिक सुरक्षा चुनौती
राष्ट्रिय जनगणना २०७८ अनुसार सुनसरीको जनसङ्ख्या नौ लाख २६ हजार ९६२ रहेको छ । जिल्लाका इटहरी र धरान उपमहानगरपालिका, इनरुवा नगरपालिकालगायत स्थानीय तहमा तीव्र सहरीकरणसँगै जनसङ्ख्या र आर्थिक गतिविधि बढिरहेका छन् ।
पूर्व–पश्चिम राजमार्ग, कोशी राजमार्ग, भारतसँग जोडिएका सीमा नाका तथा ठुलो व्यापारिक आवागमनका कारण सुनसरी कोशी प्रदेशको महत्त्वपूर्ण आर्थिक तथा यातायात केन्द्रसमेत हो । यही भौगोलिक र आर्थिक अवस्थाले जिल्लाको सुरक्षा व्यवस्थापनलाई थप संवेदनशील बनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अभिलेखमा समेत नेपाल–भारत सीमा सुरक्षासम्बन्धी जिल्ला तहका बैठक तथा समन्वयका गतिविधि निरन्तर भइरहेको देखिन्छ । यही पृष्ठभूमिमा प्रहरीले सीमा क्षेत्रमा हुने चोरी–पैठारी, तस्करी, राजस्व छली तथा अन्य अवैध गतिविधिको निगरानीलाई थप प्रभावकारी बनाउने भएको हो ।
सीसीटीभीदेखि डिजिटल सूचना विश्लेषणसम्म
प्रहरी उपरीक्षक मल्लले जिल्लामा बढ्दै गएका आपराधिक गतिविधिको सूक्ष्म निगरानी, अनुसन्धान तथा सूचना सङ्कलनका लागि अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग, सीसीटीभी सञ्जाल विस्तार तथा त्यसबाट प्राप्त सूचनाको विश्लेषणमा विशेष जोड दिइने बताउनुभयो ।
उहाँका अनुसार प्रविधिको प्रयोगले घटना भइसकेपछि अनुसन्धान गर्ने मात्र नभई सम्भावित जोखिम पहिचान गरी अपराध हुनुअघि नै प्रहरीको उपस्थिति र निगरानी बढाउन सहयोग पुग्नेछ ।
जिल्लाका सहरी क्षेत्रका संवेदनशील स्थान, मुख्य सडक, बजार क्षेत्र, सीमा आसपास तथा बढी आवागमन हुने स्थानमा उपलब्ध सीसीटीभी प्रणालीलाई थप व्यवस्थित गर्दै आवश्यकताअनुसार निगरानीको दायरा विस्तार गर्ने योजना रहेको छ ।
लागुऔषध नियन्त्रणमा वडास्तरबाटै तथ्याङ्क
सुनसरी प्रहरीको नयाँ रणनीतिमा लागुऔषध नियन्त्रणलाई विशेष प्राथमिकता दिइएको छ । युवा पुस्तामा बढ्दै गएको लागुऔषध दुर्व्यसन तथा कारोबार नियन्त्रणका लागि वडास्तरबाटै तथ्याङ्क सङ्कलन गर्ने र त्यसका आधारमा जोखिमयुक्त क्षेत्र पहिचान गरी लक्षित अभियान सञ्चालन गर्ने तयारी रहेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।
नेपाल प्रहरीका पछिल्ला सार्वजनिक विवरणले पनि सुनसरीमा लागुऔषधसम्बन्धी कारबाही निरन्तर भइरहेको देखाउँछन् । पछिल्लो एक घटनामा सुनसरीको इनरुवा–४, बसचोकस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले पाँच ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको थियो ।
त्यस्तै, कोशी गाउँपालिका–४ कोशी कटान क्षेत्रबाट प्रहरीले ११ किलो १२० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको विवरणसमेत सार्वजनिक गरेको छ ।
यी घटनाले पनि सुनसरीमा लागुऔषध नियन्त्रणलाई सुरक्षा व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने अवस्था देखाउँछन् ।

अपराधी खोज्ने मात्र होइन, जोखिम पहिचान गर्ने प्रहरी
सुनसरीमा प्रहरीको नयाँ सुरक्षा रणनीतिको अर्को महत्त्वपूर्ण पक्ष तथ्यमा आधारित प्रहरी परिचालन हो ।
पराध कहाँ बढी भइरहेको छ, कुन प्रकृतिका अपराध बढिरहेका छन्, कुन उमेर समूह जोखिममा छ, कुन क्षेत्रमा लागुऔषधको कारोबार वा प्रयोग बढी देखिन्छ र कुन सीमा नाकाबाट अवैध गतिविधि हुन सक्छ भन्ने विषयको तथ्याङ्क सङ्कलन गरी त्यसकै आधारमा प्रहरी परिचालन गर्ने रणनीति रहेको छ ।
यसले प्रहरीलाई घटना भएपछि मात्र परिचालन हुने परम्परागत अभ्यासबाट जोखिम पहिचान, पूर्वसूचना र लक्षित निगरानीतर्फ लैजाने अपेक्षा गरिएको छ ।
सीमा सुरक्षामा अन्तरनिकाय समन्वय
भारतसँगको खुला सीमाका कारण सुनसरीमा सीमा अपराध नियन्त्रणका लागि नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, भन्सार, राजस्व अनुसन्धान, स्थानीय तह तथा भारतीय सुरक्षा निकायबीचको समन्वय पनि महत्त्वपूर्ण हुन्छ ।
प्रहरी उपरीक्षक मल्लले सीमा क्षेत्रमा हुने चोरी–पैठारी, तस्करी तथा राजस्व छली नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नागरिकलाई केन्द्रमा राखेर प्रहरी सेवा
सुनसरीमा अपराध नियन्त्रणसँगै नागरिकले प्रहरीप्रति विश्वास गर्ने वातावरण निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।
“शान्ति–सुरक्षा कायम गर्नु र नागरिकलाई सुरक्षित महसुस गराउनु प्रहरीको मुख्य दायित्व हो,” उहाँले भन्नुभयो, “यसका लागि परम्परागत शैलीभन्दा माथि उठेर प्रविधिको अधिकतम प्रयोग गरिनेछ ।”
उहाँका अनुसार अपराध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभएकाले स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी, सामाजिक सङ्घसंस्था तथा आम नागरिकसँगको सहकार्यलाई सुरक्षा व्यवस्थापनको महत्त्वपूर्ण आधार बनाइनेछ ।
बदलिँदो सुरक्षा चुनौतीमा नयाँ अभ्यास
करिब नौ लाख २७ हजार जनसङ्ख्या भएको सुनसरीमा ठुलो सहरी क्षेत्र, राजमार्ग, व्यापारिक केन्द्र, औद्योगिक गतिविधि र भारतसँगको खुला सीमा एकैसाथ रहेका छन् ।
इटहरी र धरानजस्ता ठुला सहरी केन्द्रदेखि इनरुवा, सीमावर्ती क्षेत्र तथा ग्रामीण बस्तीहरूसम्म सुरक्षा आवश्यकता फरक–फरक छन् । त्यसैले एउटै शैलीको प्रहरी परिचालनभन्दा क्षेत्रगत जोखिमअनुसार फरक सुरक्षा रणनीति आवश्यक देखिन्छ ।
प्रहरी उपरीक्षक मल्लले अघि सार्नुभएको डिजिटल निगरानी, वडास्तरको तथ्याङ्क सङ्कलन, लक्षित लागुऔषध नियन्त्रण अभियान, सीमा क्षेत्रमा अन्तरनिकाय समन्वय तथा सीसीटीभी विस्तारको योजनाले यही आवश्यकता सम्बोधन गर्ने विश्वास गरिएको छ ।
अपराध नियन्त्रण, लागुऔषधको बढ्दो चुनौती, सीमा अपराध, तस्करी, साइबर अपराध तथा सहरी क्षेत्रमा बढ्दो सुरक्षा जोखिमलाई एउटै रणनीतिले सम्बोधन गर्न कठिन हुने भएकाले प्रविधि, सूचना र नागरिक सहकार्यमा आधारित सुरक्षा प्रणाली प्रभावकारी हुनसक्ने नागरिक समाज इटहरीका पूर्वअध्यक्ष तथा वरिष्ठ समाजसेवी सन्तबहादुर डुम्जनको भनाइ छ ।
“घटना भएपछि प्रहरी पुग्नेभन्दा घटना हुनुअघि जोखिम पहिचान गर्ने सुरक्षा अवधारणा सुनसरीको बदलिँदो सुरक्षा चुनौतीअनुकूल नयाँ अभ्यास हो,” समाजसेवी डुम्जनले भन्नुभयो । उहाँले नयाँ सुरक्षा अवधारणाको कार्यान्वयन गर्ने प्रहरीको अभियानमा आम सर्वसाधारण र सचेत वर्गले पनि साथ दिनुपर्ने बताउनुभयो । गोरखापत्र अनलाइन