काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलको तेस्रो संस्करणले आर्थिक कारोबार थप चलायमान बनाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी एनपिएलले खेल क्षेत्र मात्र नभई समग्र आर्थिक क्षेत्रकै गतिविधि बढाएको हो । एनपिएलले होटल, पर्यटन, खेलकुद सामाग्री र विज्ञापन बजारलाई समेत चलायमान बनाउन ठुलो भूमिका खेलेको छ ।
आठ फ्रेन्चाइज टोली, स्वदेशी तथा विदेशी खेलाडीको सहभागिता, प्रायोजक संस्थाको लगानी, प्रसारण अधिकार र टिकट बिक्री आदिबाट प्रतियोगितामा डेढ अर्ब रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थिक कारोबार हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । (क्यान) का कोषाध्यक्ष पदम खड्का एनपिएलको तेस्रो संस्करणमा अघिल्ला प्रतियोगिताको तुलनामा धेरै आर्थिक कारोबार हुने बताउनुहुन्छ ।
“भोटेकोशी बाढीसहित विभिन्न विपत्बाट निराश बनेका नेपालीलाई एनपिएलले थप आशा जगाएको छ, आर्थिक क्षेत्रमा पनि यसले केही सुधार ल्याउने छ । यस पटक समग्रमा डेढ अर्बमाथिको प्रत्यक्ष आर्थिक कारोबार हुने अपेक्षा हामीले गरेका छौँ,” खड्काले भन्नुभयो । उहाँका अनुसार टिकट बिक्रीबाट ११ देखि १२ करोड रकम सङ्कलन गर्ने लक्ष्य क्यानको छ । यस पटक प्रायोजकबाट २० करोड, प्रसारण अधिकारबाट ३४ करोड र खेल टिमबाट ७० देखि ७५ करोड रकम सङ्कलन गरिने कोषाध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाहेक अप्रत्यक्ष रूपमा अन्य क्षेत्रमा पनि थुप्रै आर्थिक कारोबार हुने छ । आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यको बसोबास र खेल हेर्न आउने दर्शकको आवागमनले होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसायमा आर्थिक गतिविधि बढाएको छ ।
होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह एनपिएलले सानादेखि ठुला होटलहरूमा आर्थिक गतिविधि थप चलायमान भएको बताउनुहुन्छ । “आठ वटा फ्रेन्चाइज टोली काठमाडौँका पाँचतारे होटलमा बसिरहनुभएको छ, त्यसबाहेक विभिन्न टिमका फ्यानहरू पनि आफूले समर्थन गर्ने टिमको खेल हेर्न आइरहनुभएको छ, जसले सानादेखि ठुला होटल थप चलायमान भएका छन्,” शाहले भन्नुभयो, “विभिन्न कारणले शिथिल बनेको होटल व्यवसायमा एनपिएलले चहलपहल बढाएको छ ।” उहाँले एनपिएलले होटल व्यवसायमा कारोबार बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको खेल पर्यटन प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
एनपिएलमा आउने विदेशी खेलाडी र खेल टोलीका विशिष्ट सदस्यका लागि होटलहरूमा महँगा कोठा बुक गरिएको छ । जसले गर्दा ठुला होटलहरूको कारोबार बढेको छ । एनपिएल हेर्नकै लागि स्वदेश तथा विदेशबाट काठमाडौँमा खेल हेर्न आउने दर्शकको सङ्ख्या बढेसँगै होटलको ब्यापार बढेको सुन्धारास्थित एक होटल सञ्चालक युवराज घर्ती बताउनुहुन्छ । यसबाहेक रेस्टुरेन्टहरूमा पनि एनपिएलले व्यापार बढाएको छ । काठमाडौँका विभिन्न रेस्टुरेन्टहरूले ठुलो पर्दामा एनपिएल हेर्ने व्यवस्था मिलाएका छन् । जसका कारण खाना र खेलका पारखीहरू रेस्टुरेन्टमा भेला भएर एनपिएलको मजा लिइरहेका छन् । बानेश्वरको एवान रेस्टुरेन्ट सञ्चालक सविन केसी एनपिएल सुरु भएसँगै रेस्टुरेन्टको कारोबार बढेको बताउनुहुन्छ ।
यसै गरी कीर्तिपुरस्थित रङ्गशालामा हरेक खेल हेर्न जाने दर्शकका कारण त्यस क्षेत्रको आर्थिक कारोबार प्रत्यक्ष रूपमा चलायमान भएको छ । स्थानीय खाजा पसल, पानी, चियाकफी आदिको ब्यापार पनि बढेको छ ।
पहिलो र दोस्रो चरणको एनपिएलको तुलनामा यस पटक पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । एनपिएलमा सहभागी खेलाडीले आफ्नो टोलीबाट आकर्षक पारिश्रमिकसँगै प्रायोजन र अन्य अवसर पाउने छन् । क्यान कोषाध्यक्ष खड्काका अनुसार यस पटक प्रथम हुने टोलीले एक करोड ५० लाख रुपियाँ प्राप्त गर्ने छ । त्यसै गरी दोस्रो हुने टोलीले ८० लाख रुपियाँ प्राप्त गर्ने छ भने तेस्रो हुने टोली ४० लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छ । पहिलो संस्करणमा क्यानले प्रथम पुरस्कार एक करोड घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट आधिकारिक मान्यता प्राप्त गरेसँगै विश्वव्यापी रूपमा एनपिएलको प्रतिष्ठा र महत्व अझ बढेको छ । तेस्रो संस्करणसम्म आइपुग्दा ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस) प्रविधिले प्रतियोगितालाई थप विश्वसनीय र विवादरहित बनाउन सहयोग पुग्ने अपेक्षा क्यानको छ । कृष्ण आचार्य / गोरखापत्र अनलाइन