काठमाडौँ । कहिले यात्रुको लगेजमा, कहिले कागजातको आवरणमा कुरियरबाट त कहिले विमानस्थलमा लगेज नै साटेर अन्तर्राष्ट्रिय गाँजा तस्करले विदेशी गाँजाको ट्रान्जिट बनाउन सक्ने देखिएपछि निगरानी र कारबाही बढाइएको छ ।
परम्परागत शैलीको तस्करीलाई बदलेर निगरानी छल्न लागुऔषधका कारोबारीले अनौठो शैली अपनाउन थालेपछि प्रहरीले उच्च निगरानी र कारबाही सुरु गरेको हो । लागुऔषध नियन्त्रण ब्युरोले कात्तिक १० गते थाइल्यान्ड हुँदै मलेसियाबाट काठमाडौँ आएको बाटिक एयरको उडान नम्बर ओडी–१८२ का दुई भारतीय नागरिकलाई १५ केजी ‘थाई गाँजा’ सहित पक्राउ गर्यो । पक्राउ पर्नेमा ४६ वर्षीय सबानाबानु महम्मद सेख र सरिफ अब्बास अन्सारी छन् ।
सोही दिन अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा पठाइएको गाँजा लिन आएका थप दुई भारतीय नागरिक पनि पक्राउ परे । ब्युरोका अनुसार २३ वर्षीय भवरसिंह र ३३ वर्षीय वन्दित पटेलबाट १.३३८ केजी गाँजा बरामद भएको थियो । छ वटा पार्सलमा कागजात भनेर पठाइएको उक्त गाँजा भारततर्फ लैजान खोजिएको पाइएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार थाइल्यान्ड, मलेसिया र सिङ्गापुरलगायतका मुलुकबाट यात्रु तथा कुरियरमार्फत गाँजा नेपाल भित्रिने गरेको छ । तस्करले प्रहरीको निगरानी छल्न हवाईमार्ग र ओसारपसारको शैली परिवर्तन गरिरहेको उहाँले बताउनुभयो ।
निगरानी छल्न नयाँ तरिका
ब्युरोको विवरण अनुसार थाइल्यान्डबाट सिधै काठमाडौँ आउने मार्गमा निगरानी बढेपछि तस्करले हङकङ, मलेसिया र सिङ्गापुर हुँदै आउने मार्ग प्रयोग गर्न थालेका छन् । लगेजमा गाँजा भेटिने क्रम बढेपछि विमानस्थलमा लगेज नलिई बाहिरिने र पछि हराएको भन्दै दाबी गरेर लैजाने गरेका समेत पाइएको छ । पछिल्लो समय म्यानमारका नागरिकलाई समेत लगेज बोक्न प्रयोग गरिएको ब्युरोले जनाएको छ ।
तस्करले थाइल्यान्ड र भारतबाट काठमाडौँ आउने भारतीय नागरिकको उडान समय मिलाएर विमानस्थलको शौचालयमा गाँजासहितको लगेज साट्ने गरेको पाइएको छ । कतिपय अवस्थामा नेपाली नागरिकलाई बिहान काठमाडौँबाट दिल्ली पठाएर साँझ फर्किने उडानमा गाँजा बुझ्ने काममा लगाइएको छ ।
“लगेज साट्ने, शौचालयमा पार्सल लुकाउने र नेपाली नागरिकलाई दिल्ली पठाएर फर्किने उडानमा गाँजा बुझाउनेसम्मका तरिका अपनाइएको पाइएको छ,” ब्युरो प्रमुख बोहोराले भन्नुभयो । तस्करीमा संलग्न व्यक्तिको हवाई टिकट, खानपान र बसोबासको खर्च गिरोहले बेहोर्ने गरेको छ । एक पटक गाँजा ओसारेबापत २० देखि २५ हजार भारतीय रुपियाँसम्म दिने गरेको ब्युरोको विवरणमा उल्लेख छ ।
तीन महिनामै १६८ केजी बरामद
ब्युरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा तेस्रो मुलुक हुँदै नेपाल ल्याइएको १४५ केजी गाँजा बरामद हुँदा ४८ जना पक्राउ परेका थिए । आव २०८२/८३ मा बरामद परिमाण २१० केजी पुगेको थियो । त्यस अवधिमा ६७ जना विदेशी नागरिक पक्राउ परेका थिए ।
चालु आव २०८३/८४ को तीन महिनामै १६८ केजी गाँजासहित ४२ जना पक्राउ परेका छन् । उनीहरूमध्ये २८ भारतीय, आठ म्यानमारका र छ नेपाली नागरिक छन् । अघिल्ला आर्थिक वर्षमा यस्तो कारोबारमा नेपालीको संलग्नता नदेखिए पनि अहिले चार पुरुष र दुई महिलासहित छ नेपाली पक्राउ परेको ब्युरोले जनाएको छ ।
थाइल्यान्ड हुँदै आउने भएकाले ‘थाई गाँजा’ को बजार मूल्य प्रतिग्राम २५ अमेरिकी डलरसम्म र प्रतिकेजी ३५ लाख रुपियाँसम्म पर्ने गरेको ब्युरोको विवरणमा उल्लेख छ । नेपालका दुर्गम पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा पनि भारतलगायतका मुलुकमा तस्करी हुने गरेको छ । स्थलमार्गमा निगरानी बढेपछि सुनकोशी, नारायणी, सेती र कर्णाली नदीबाट गाँजा बगाएर भारत पुर्याउने प्रयाससमेत भएको ब्युरोले जनाएको छ । गोरखापत्र अनलाइन