पर्सा । नेपाल–भारत सीमामा पर्ने वीरगन्ज महानगरपालिका–१७ को सिवान टोल एउटा यस्तो गाउँ हो, जहाँ अन्तर्राष्ट्रिय सीमाले भूगोललाई दुई देशमा विभाजन गरेको छ, तर गाउँलेहरूको सम्बन्ध, संस्कृति र सामाजिक जीवनलाई छुट्याउन सकेको छैन । एउटै गाउँको एक भाग नेपालमा र अर्को भाग भारतको बिहार राज्यअन्तर्गत पनटोक्का पञ्चायत, हरैया–१२ मा पर्छ ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) को पश्चिममा रहेको यो गाउँको मुख्य सडक नै नेपाल–भारत सीमा छुट्याउने ‘दशगज्जा’ हो । यही दशगज्जाले दुई देशको सीमा निर्धारण गरे पनि गाउँलेहरूको दैनिकी, भाषा, संस्कार, खानपान र चाडपर्व भने साझा छन् । गाउँको मुख्य बाटोमै सीमास्तम्भ देखिन्छ । अझ कतिपय गाउँलेको आँगनमै पनि सीमास्तम्भ देख्दा आश्चर्य लाग्छ ।
दुवै देशतर्फ गरी करिब ५ सय घरधुरी रहेको सिवान गाउँका अधिकांश बासिन्दाको मुख्य पेसा खेतीपाती हो । पुस्तौंदेखि यहाँका बासिन्दाले आपसी भाइचारा कायम राख्दै आएका छन् । अर्मपर्म, ऐँचोपैँचोदेखि विवाह सम्बन्धसम्म दुवै देशका परिवारबीच सहज रूपमा चल्ने गरेको स्थानीयहरू बताउँछन् । गाउँमै नेपाल र भारतका परिवारबीच ‘बेटी–रोटी’ सम्बन्धका थुप्रै उदाहरण छन् ।
नेपालतर्फका ७० वर्षीय कमल पटेलले आफूले होस सम्हालेदेखि गाउँमा नेपाल र भारतका नागरिकबीच कुनै विवाद वा वैमनस्यता भएको सम्झना नरहेको बताए । ‘आजसम्म हामीबीच कुनै पनि बहानामा झैझगडा भएको छैन,’ उनले भने, ‘गाउँमा समस्या परे सबै मिलेर समाधान गर्छौं ।’
भारततर्फका ६५ वर्षीय परमेश्वर पटेलका अनुसार सीमाले बाटो छुट्याए पनि मन छुट्याउन सकेको छैन । ‘हाम्रो विचार, व्यवहार, धर्मकर्म र मन सबै एउटै छ,’ उनले भने, ‘दशगज्जाले गाउँको बाटो छुट्याएको हो, सम्बन्ध होइन ।’ उनका अनुसार भारततर्फ अनियमित विद्युत् आपूर्तिका कारण अन्धकारको समस्या रहे पनि नेपालतर्फ भने चौबीसै घण्टा विद्युत् उपलब्ध छ । यो समस्या भारतीय सरकारी संरचनासँग सम्बन्धित भएकाले स्थानीयहरू आफैं समाधान गर्न नसक्ने अवस्थामा छन् ।
स्थानीय युवा सन्दीप पटेलका अनुसार गाउँका युवाहरूको मित्रता पनि सीमापार फैलिएको छ । नेपाली युवा नेपालमै रोजगारीमा संलग्न छन् भने कतिपय भारतीय युवा वीरगन्जका उद्योग, कलकारखाना र व्यापारिक प्रतिष्ठानमा काम गर्छन् ।
तर गाउँलेहरूको साझा समस्या भने दशगज्जा नै बनेको छ । गाउँको मुख्य सडक सीमारेखामै परेकाले त्यसलाई पक्की बनाउन वा नाला निर्माण गर्न दुवै देशका सुरक्षा निकायले अनुमति नदिने गरेको स्थानीयको गुनासो छ । त्यसका कारण वर्षायाममा आवतजावत निकै कठिन हुने गरेको उनीहरू बताउँछन् ।
‘यो गाउँ सीमा कोरिनुभन्दा पहिलेदेखिको हो । दशगज्जामा बस्दा हामीलाई समस्या छैन,’ पटेल भन्छन्, ‘तर यही कारण हाम्रो मुख्य सडक कहिल्यै कालोपत्रे हुन सकेन । यो दुवै देशका गाउँलेको साझा पीडा हो ।’ सीमाले भूगोललाई दुई भागमा बाँडे पनि सिवान टोलले भने सामाजिक सद्भाव, पारिवारिक सम्बन्ध र सहअस्तित्वको एउटा दुर्लभ उदाहरण प्रस्तुत गरिरहेको छ । दुई देशका नागरिक एउटै गाउँमा मिलेर बस्न सकिन्छ भन्ने सन्देश सिवानले वर्षौंदेखि दिँदै आएको छ । शंकर आचार्य / कान्तिपुर