काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोग अपरिहार्य रहेको बताउनुभएको छ। अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक के.सी.ले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन परिवर्तन हुँदै गएको र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ चुनौतीहरू थपिँदै गएको उल्लेख गर्नुभयो।
“आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानस् वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान” भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषयवस्तु “वित्तीय अपराध अनुसन्धानस् प्रमाण सङ्कलनदेखि फैसलासम्म” रहेको छ।
कार्यशालालाई सम्बोधन गर्दै डा. के.सी. ले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ विश्लेषण गरी प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउन कार्यशालाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
वित्तीय अपराध नियन्त्रण र अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, वित्तीय नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदान आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरू, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
सोही अवसरमा प्रहरी महानिरीक्षक के.सी.ले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह – भाग ३’ नामक पुस्तकसमेत लोकार्पण गर्नुभएको थियो। वित्तीय अपराध अनुसन्धानलाई प्रमाणमा आधारित, प्रविधिमैत्री र अन्तरनिकाय समन्वयमा केन्द्रित बनाउने उद्देश्यसहित आयोजित कार्यशालाले अपराध अनुसन्धानदेखि न्यायिक फैसलासम्मको प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।