काठमाडौं । नेपाल–चीन उत्तरी कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुन सकेको छैन । व्यापारिक दृष्टिले महत्वपूर्ण बन्दै गएको नाकामा दैनिक कन्टेनर र विद्युतीय सवारीसाधनको चाप बढ्दै गए पनि पूर्वाधार निर्माणमा सरकारी उदासीनता देखिएको छ ।
विसं २०७९ फागुनमा सरकारले कोरला नाकामा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायत संरचना निर्माणका लागि डिपिआर सर्भे गरेको थियो । त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायत संरचना निर्माणका लागि सरकारका नाममा प्राप्ति गरिसकिएको थियो ।
तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार दुई महिना लगाएर गरिएको सर्भेमा प्रस्तावित निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो । सितारा इन्टुसीप–फुलराइट जेभीले एक करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी डिपिआर तयार पारेको थियो ।
तर, प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दा पनि निर्माण अघि नबढेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए । उनका अनुसार कोरला नाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधार नहुँदा निकासी, पैठारी र पारवहन व्यवस्थापनमा समस्या भइरहेको छ ।
कोरला नाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ । गत वर्ष यस नाकाबाट ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ ।
पछिल्लो समय नाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० वटा विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन् । तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेका बेला कोरलाबाट व्यापारिक गतिविधि थप बढेको छ । बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन् ।
व्यापारिक चहलपहल बढेसँगै लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा सवारीसाधनको चाप पनि बढेको छ । सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकका तीन लेनसम्म ढाकिने गरी पार्किङ गर्नुपर्ने अवस्था छ । यसले नाकातर्फ जाने मुख्य सडकको यातायातसमेत प्रभावित हुने गरेको छ ।
बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलका अनुसार सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा राख्नुपर्ने बाध्यता छ । विद्युतीय गाडीसमेत खोला किनार र भिरको छेउमा असुरक्षित रूपमा पार्किङ गर्नुपर्ने अवस्था रहेको उनले बताए । आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा समस्या थपिएको उनको भनाइ छ ।
कोरला नाकाको अवलोकनका लागि सङ्घ र प्रदेशका मन्त्री तथा विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणमा आश्वासनबाहेक ठोस काम हुन नसकेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापारका लागि महत्वपूर्ण मानिएको नाकाको पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको माग छ ।
यसै साता नाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले पूर्वाधार निर्माण र पहुँचमार्गको स्तरोन्नतिलाई प्राथमिकता दिन आग्रह गरेका थिए । समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले नाकाबाट राजस्व सङ्कलनमा मात्रै नभई आवश्यक संरचना निर्माणमा पनि सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।
कोरला नाकामा मात्रै नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा समेत सरकारी निकायका लागि जग्गा उपलब्ध गराइएको लामो समय भइसकेको छ । विसं २०७५ मै विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो । नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा छुट्याइएको थियो ।
न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमनका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो । त्यसमध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन् । भन्सार कार्यालयको स्तरोन्नति पनि आंशिक रूपमा मात्रै अघि बढिरहेको छ । नेपाललिड