बागलुङ । साथीको जन्मदिन मनाएर फर्किहाल्छु भन्दै घरबाट निस्किएका बागलुङका एक किशोर आठ दिनदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। बडिगाड गाउँपालिका–१ थानका १७ वर्षीय लजिन थापा साउन १ गतेदेखि बेपत्ता छन्।
परिवारका अनुसार साउन १ गते साँझ करिब ८ बजे नजिकैका साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका लजिन त्यसयता घर फर्किएका छैनन्। आठ दिन बितिसक्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवार शोक र चिन्तामा डुबेको छ।
लजिनका बुबा बोमबहादुर थापाले भन्नुभयो, “छोराको प्रतीक्षामा आठ दिन बित्यो। कहाँ छ, के गर्दै होला, कस्तो अवस्थामा होला भन्ने चिन्ताले सताइरहेको छ।” स्थानीयवासी र प्रहरीले निरन्तर खोजी गरिरहेको भए पनि लजिन अझै फेला परेका छैनन्।
“एक हप्ताभन्दा बढी भयो। छोराको अवस्थाबारे कुनै जानकारी छैन। यति दिनसम्म घर नफर्किएपछि झन् डर लाग्न थालेको छ,” उहाँले भावुक हुँदै भन्नुभयो, “भगवान्सँग यही प्रार्थना छ, छोरालाई केही नभएको होस्।”
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बेपत्ता भएको दिन लजिनसँग रहेका साथीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार लजिन सम्पर्कविहीन भएयताका गतिविधिबारे अनुसन्धान भइरहेको छ। “शंकास्पद देखिएका केही साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ,” उहाँले भन्नुभयो।
यसैबिच, बडिगाड गाउँपालिका–१ किर्तुल नेपानेकी ८० वर्षीया भूमी सलामी पनि बुधबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको छ।
उहाँका छोरा यमबहादुर सलामीका अनुसार सुस्त मनःस्थितिकी भूमी बिहान करिब ७ बजे घरबाट निस्किनुभएको थियो। बडिगाड गाउँपालिका–२ स्थित लब्दीखोला आसपास स्थानीयले उहाँलाई देखेको बताएका भए पनि अहिलेसम्म फेला पार्न सकिएको छैन।
स्थानीयसँगको जानकारीअनुसार भूमीले खौलार बजारतर्फ जाने बताएकाले जलजला र खौलार क्षेत्र वरपर खोजी कार्य जारी रहेको यमबहादुरले बताउनुभयो। गोरखापत्र अनलाइन