काठमाडौँ । जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभाको कामकारबाहीमा शीर्ष नेताहरूको रुचि कम देखिएको छ । प्रतिनिधि सभाको चालु दोस्रो अधिवेशनमा असार मसान्तसम्म दलहरूका संसदीय दलका नेताको उपस्थिति निकै कमजोर देखिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबाहेक अन्य दलका नेताहरूको उपस्थिति औसत छ ।
प्रतिनिधि सभामा प्रतिनिधित्व रहेका छमध्ये पाँच दलका संसदीय दलका नेताहरूको उपस्थिति कमजोर छ । २०८३ असार ३१ गतेसम्म सभाले ३८ दिन काम गरेको छ । ३८ दिनमा ४१ बैठक बसेका छन् । संसद् सचिवालयका अनुसार चैतमा ६, वैशाखमा ४, जेठमा १५ र असारमा १३ दिन गरी ३८ दिन प्रतिनिधि सभाले काम गरेको छ । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति छ दिन छ भने ३२ दिन अनुपस्थित देखिनुभएको छ । पार्टी सभापतिसमेत रहनुभएका रवि लामिछाने २० दिन अनुपस्थित हुनुहुन्छ । उहाँ १८ दिन उपस्थित हुनुहुन्छ ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली ३४ दिन उपस्थित, चार दिन अनुपस्थित रहनुभएको छ । सत्तापक्षका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी तीन बैठकमा अनुपस्थित र ३५ मा उपस्थित हुनुहुन्छ । रास्वपाकै सचेतक प्रकाशचन्द्र परियार छ दिन अनुपस्थित, ३२ दिन उपस्थित तथा सचेतक क्रान्तिशिखा धिताल ११ दिन अनुपस्थित र २७ दिन उपस्थित हुनुहुन्छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता आङ्देम्बेको उपस्थिति अन्य नेताको तुलनामा राम्रो छ ।
३८ दिनमा आङ्देम्बे ३२ दिन उपस्थित र छ दिन अनुपस्थित हुनुहुन्छ । कांग्रेसकै प्रमुख सचेतक वासना थापा ३६ दिन उपस्थित दुई दिन अनुपस्थित तथा सचेतक निश्कल राई ३३ दिन उपस्थित र पाँच दिन अनुपस्थित हुनुहुन्छ ।
प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाको उपस्थिति पनि औसत छ । अधिवेशनमा ३८ दिनमध्ये थापा २१ दिन उपस्थित र १७ दिन अनुपस्थित रहनुभएको सचिवालयको विवरणमा उल्लेख छ । यस्तै एमालेका प्रमुख सचेतक ऐनबहादुर महर ३३ दिन उपस्थित तथा पाँच दिन अनुपस्थित हुनुहुन्छ । सचेतक निता घतानी ३६ दिन उपस्थित तथा दुई दिन अनुपस्थित हुनुहुन्छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेतामध्ये सबैभन्दा कम उपस्थित हुनुहुन्छ । प्रचण्ड ३३ दिन अनुपस्थित र पाँच दिन उपस्थित हुनुहुन्छ । नेकपाका प्रमुख सचेतक युवराज दुलाल ३५ दिन उपस्थित तथा तीन दिन अनुपस्थित हुनुहुन्छ । सचेतक पार्वती विक ३४ दिन उपस्थित चार दिन अनुपस्थित रहनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीको उपस्थिति पनि औसत छ । शाही ३८ दिनमध्ये २२ दिन उपस्थित तथा १६ दिन अनुपस्थित हुनुहुन्छ । दलका प्रमुख सचेतक खुश्बु ओली ३४ बैठकमा उपस्थित र चार दिन अनुपस्थित हुनुहुन्छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई अधिवेशनका ३८ दिनमध्ये २२ दिन उपस्थित र १६ दिन अनुपस्थित रहनुभएको छ । श्रम संस्कृतिकै प्रमुख सचेतक आरेन राई ३५ दिन उपस्थित तथा तीन दिन अनुपस्थित हुनुहुन्छ ।
छ जनाको शतप्रतिशत उपस्थिति
विवरण अनुसार प्रतिनिधि सभाले काम गरेको ३८ दिनमा छ सांसदको उपस्थिति शतप्रतिशत रहेको छ । सबै दिन उपस्थित हुनेमा रास्वपाका गोविन्द पन्थी, सुनील केसी र रत्नाकुमारी थापा रहेका छन् । यस्तै कांग्रेसका नरेन्द्रकुमार केरुङ र भरतबहादुर खड्का हुनुहुन्छ । नेपाली कम्युनिस्ट पार्टीका निराशा चौधरीको उपस्थिति पनि ३८ दिन नै रहेको छ । गोरखापत्र अनलाइन