राजविराज । खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेपछि सप्तरीसहित मधेश प्रदेशका ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसाधारणले वैकल्पिक इन्धनको प्रयोग बढाउन थालेका छन् । ग्यास सहज रूपमा नपाएपछि कतिपय परिवारले दाउरा र गोबरबाट बनाइएको गुइँठाको जोहो गर्न थालेका छन् ।
रुपनी गाउँपालिका–२ की सुगन्धीदेवीले ग्यासको अभाव हुन सक्ने अनुमान गर्दै पहिल्यैदेखि गोबरको गुइँठा जोहो गरेर राख्नुभएको छ । घरमा आवश्यक पर्ने गुइँठा आफैँ बनाएर राख्नुका साथै छरछिमेकबाट समेत केही मात्रामा खरिद गरेर भण्डारण गरेको उहाँले बताउनुभयो ।
“ग्यास नपाउँदा खाना पकाउन समस्या हुन्छ । त्यसैले गोबरको गुइँठा बनाएर राखेकी छु । केही छिमेकीबाट पनि किनेर जोहो गरेकी छु,” सुगन्धीदेवीले भन्नुभयो ।
राजविराज नगरपालिका–९ विषहरियाकी लखियादेवीले पनि ग्यास अभावका बेला प्रयोग गर्न गुइँठा भण्डारण गर्नुभएको छ । उहाँले गुइँठा राख्नकै लागि घरनजिकै छुट्टै ‘गुइँठा घर’ समेत बनाउनुभएको छ । वर्षभरि घरायसी प्रयोजनका लागि प्रयोग गर्ने गरी गुइँठा बनाउने गरेको उहाँको भनाइ छ ।
ग्यास अभाव भएपछि अहिले छरछिमेकमा आवश्यक परेका परिवारलाई थोरै–थोरै गुइँठा सहयोगसमेत गर्ने गरेको लखियादेवीले बताउनुभयो । “गुइँठा बेच्नका लागि बनाएको होइन । आफ्नै घरमा वर्षभरि प्रयोग गर्न भण्डार गरेर राख्छु । अहिले ग्यास नपाउँदा छिमेकीलाई पनि चाहिएको बेला थोरै दिने गरेकी छु,” उहाँले भन्नुभयो ।
कात्तिकदेखि गुइँठा बनाउन थालिन्छ
स्थानीय महिलाका अनुसार गुइँठा बनाउने काम विशेषगरी कात्तिक–मङ्सिरदेखि सुरु हुन्छ । जाडो सकिएपछि चैत–वैशाखतिर पर्याप्त मात्रामा गुइँठा बनाएर वर्षायाम र आवश्यकताका लागि भण्डारण गरिन्छ ।
स्थानीय सुमित्रादेवीका अनुसार गुइँठा बनाउन पनि पछिल्लो समय समस्या हुन थालेको छ । गाउँघरमा किसानले व्यक्तिगत रूपमा गाईभैँसी पाल्ने क्रम घट्दै गएपछि गोबर सहज रूपमा पाउन छाडिएको उहाँले बताउनुभयो ।
“पहिले प्रायः घरघरमा गाईभैँसी हुन्थे । गोबर पनि पर्याप्त हुन्थ्यो । अहिले पशुपालन घट्दै गएको छ । जर्सी तथा विकासी जातका गाईभैँसीको गोबरबाट पनि पहिलेको जस्तो गुइँठा बनाइँदैन,” उहाँले भन्नुभयो ।
परम्परागत रूपमा गोबरलाई माटो वा भुससँग मिसाएर गोलो, चेप्टो, आकारमा बनाई घाममा सुकाएर गुइँठा तयार गरिन्छ । सुकिसकेपछि यसलाई वर्षायामसम्म सुरक्षित राख्ने गरिन्छ ।
ग्यास आएपछि घटेको थियो दाउराको प्रयोग
सहरी क्षेत्रमा एलपी ग्यासको प्रयोग बढ्दै गएपछि दाउरा बेच्ने व्यवसायसमेत लगभग बन्दजस्तै भएको स्थानीयको भनाइ छ । ग्यास सहज भएपछि दाउराको माग घटेकाले जंगलबाट दाउरा ल्याएर बिक्री गर्ने काम छोडेको रुपनी गाउँपालिकाका बिन्दा मण्डलले बताउनुभयो ।
“पहिले जंगलबाट दाउरा ल्याएर बजारमा बेच्थ्यौँ । ग्यासको प्रयोग बढेपछि दाउराको माग घट्यो । त्यसैले त्यो काम छोड्यौँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार अहिले वन क्षेत्रमा सुकेको दाउरा पाउनसमेत कठिन हुन थालेको छ । सुकेको दाउरा खोज्न जंगलभित्र निकै टाढासम्म जानुपर्ने भएकाले एक दिन दाउरा संकलन गर्न र अर्को दिन बजारमा बिक्री गर्न जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
“वनमा पहिले जस्तो सजिलै सुकेको दाउरा पाइँदैन । दाउरा खोज्न जंगलको निकै भित्र जानुपर्छ । एक दिन ल्याउने र अर्को दिन बजारमा बेच्न जाने हो भने श्रमअनुसारको आम्दानी पनि हुँदैन,” मण्डलले भन्नुभयो ।
ग्यासको आपूर्ति नियमित हुँदा दाउरा र गुइँठाको प्रयोग घट्दै गएको भए पनि पछिल्लो समय ग्यास अभाव देखिएपछि ग्रामीण क्षेत्रमा परम्परागत इन्धन गुइँठा दाउराको महत्व फेरि बढेको छ । स्थानीयका अनुसार गुइँठा र दाउरा तत्कालीन विकल्प बने पनि यसको धुवाँका कारण स्वास्थ्य तथा वातावरणमा पर्ने असरलाई समेत ध्यान दिनुपर्ने आवश्यकता छ ।
सर्वसाधारणले खाना पकाउने इन्धनको नियमित र सहज आपूर्ति हुनुपर्ने बताएका छन् । ग्यास अभाव लामो समयसम्म रहेमा वैकल्पिक इन्धनको जोहो गर्न ग्रामीण तथा न्यून आय भएका परिवारलाई थप कठिन हुने उनीहरूको भनाइ छ । धीरेन्द्रप्रसाद साह / गोरखापत्र अनलाइन