बारा । फेटा गाउँपालिकाभित्रका विद्यालयहरूको शैक्षिक अवस्था दशकौँ पुरानो अवस्थामा समेत सुधार हुन नसकेको भन्दै जनमत पार्टीका केन्द्रीय सदस्य तथा फेटा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवार युवा नेता उमेश दुबेले स्थानीय सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
दुबेले विद्यालयको शिक्षा अवस्था सुधार गर्न नसक्ने स्थानीय निकायले आफूलाई सफल स्थानीय सरकार भनेर दाबी गर्नु नैतिक रूपमा नसुहाउने कडा टिप्पणी गरेका छन् । स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि शिक्षाको गुणस्तर, विद्यार्थीको नियमित उपस्थिति, शिक्षक व्यवस्थापन र विद्यालयको प्रशासनिक प्रणालीमा अपेक्षित सुधार आउन नसक्नु स्थानीय सरकारको स्पष्ट कमजोरी भएको उनको आरोप छ ।
उनका अनुसार फेटा गाउँपालिकाका सातवटै वडामा रहेका अधिकांश विद्यालयमा शिक्षा क्षेत्र राजनीतिक हस्तक्षेपबाट मुक्त हुन नसकेको कारण सुधारको गति रोकिएको छ । “शिक्षालयलाई राजनीतिको अखडा बनाएर विद्यार्थीको भविष्य निर्माण हुन सक्दैन,” दुबेले भने, “शिक्षा सुधारको नाममा भाषण गरेर होइन, विद्यालयभित्रको वास्तविक अवस्था परिवर्तन गरेर स्थानीय सरकारले आफ्नो सफलता प्रमाणित गर्नुपर्छ ।”
दुबेले कतिपय विद्यालयमा देखावटी रूपमा विद्यार्थी भर्ना गर्ने तर नियमित उपस्थिति न्यून रहने अवस्था रहेको दाबी गरे । विद्यालयमा वितरण हुने दिवा खाजासमेत पारदर्शी बनाउन नसक्दा अनियमितताको प्रश्न उठ्ने गरेको उनको आरोप छ । “विद्यार्थीको पेटका लागि आएको बजेटसमेत अनियमितताको माध्यम बन्नु लज्जास्पद विषय हो,” उनले कडा रूपमा टिप्पणी गरे ।
त्यसैगरी, शिक्षक सरुवाको नाममा हरेक वर्ष ठूलो रकमको चलखेल हुने गरेको आरोप लगाउँदै दुबेले यसको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् । “शिक्षक सरुवा सेवा हो कि आर्थिक कारोबार ?” भन्दै उनले स्थानीय सरकारसँग जवाफ मागेका छन् ।
फेटा गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका विभिन्न विद्यालयमा करार शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको दाबी गर्दै दुबेले शिक्षक व्यवस्थापनमा समेत नियम र विधिको पालना नभएको आरोप लगाए । फेटा–४ स्थित अन्चित माध्यमिक विद्यालयमा माध्यमिक तहका शिक्षक हुँदाहुँदै निम्न माध्यमिक तहका शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको विषय गम्भीर भएको उनले बताए ।
त्यस्तै, फेटा–२ जगतपुरमा समेत करार शिक्षकलाई आर्थिक प्रभावका आधारमा प्रधानाध्यापकको जिम्मेवारी दिइएको भन्ने गुनासो आएको दाबी गर्दै उनले यस्ता विषयको निष्पक्ष छानबिन गरेर दोषी देखिए कारबाही गर्नुपर्ने माग गरे ।
दुबेले शिक्षा क्षेत्रको वर्तमान अवस्थाका लागि स्थानीय सरकार मात्र नभई अभिभावक र समुदाय पनि जिम्मेवार रहेको बताए । आफ्ना छोराछोरीको भविष्यप्रति अभिभावक गम्भीर नबन्दा विद्यालयमा विद्यार्थीको नियमितता र शैक्षिक वातावरणमा समेत असर परेको उनको भनाइ छ ।
“विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन । विद्यालय सुधार स्थानीय सरकारको मात्र जिम्मेवारी होइन, अभिभावक, शिक्षक, जनप्रतिनिधि र सम्पूर्ण समुदायको साझा दायित्व हो,” दुबेले भने ।
उनले फेटा गाउँपालिकामा शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलखेलबाट मुक्त गर्दै गुणस्तरीय शिक्षा, पारदर्शी शिक्षक व्यवस्थापन, नियमित विद्यार्थी उपस्थिति र जवाफदेही विद्यालय प्रशासन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताए ।
“अब विद्यालयमा राजनीति होइन, पढाइ चाहिन्छ; शिक्षक सरुवामा चलखेल होइन, योग्यता र आवश्यकता चाहिन्छ; बजेटमा अनियमितता होइन, विद्यार्थीको भविष्यमा लगानी चाहिन्छ,” दुबेले भने, “शिक्षा सुधार हुन नसकेको अवस्थालाई सामान्य मानेर बस्ने दिन सकिए । जनताको करबाट चल्ने स्थानीय सरकारले अब परिणाम देखाउनैपर्छ ।”
उनले शिक्षा क्षेत्र सुधारका लागि स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउँदै फेटाका विद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त, पारदर्शी र गुणस्तरीय शिक्षाको केन्द्र बनाउने अभियानमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।