बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकखण्ड खुलेको छ। पीडित परिवार र सरकारबिच नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सडक अवरोध हटाएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले चार दिनदेखि बन्द सडक आइतबारदेखि सञ्चालनमा आएको जानकारी दिनुभयो। सडक खुलेसँगै वीरगन्ज–पथलैया सडकखण्डमा रोकिएका सवारीसाधन पुनः सञ्चालनमा आएका छन्।
गरिमा हत्या प्रकरणमा यसअघि भएको सहमति पीडित परिवारले अस्वीकार गरेपछि सडक अवरोध कायमै रहेको थियो। त्यसपछि पीडित बालिकाका आमाबुबा शनिबार साँझ ४ः३० बजेको उडानबाट काठमाडौं पुगेर गृहमन्त्रीसँग भेट गरेपछि पुनः सहमति भएको र आन्दोलन स्थगित गरिएको हो।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार पीडित परिवारका अभिभावकले गृह मन्त्रालय पुगेर गृहमन्त्रीसँग छलफल गरेपछि नयाँ सहमति भएको हो। नयाँ सहमतिपछि सडक खुलाउन पहल गरिएको थियो।
सरकार र पीडित परिवारबिच भएको सहमतिमा जघन्य आपराधिक घटनामा विद्यमान कानुनी व्यवस्था तथा कसुर र सजायसम्बन्धी प्रावधान पुनरावलोकन गरी आवश्यक कानुनी सुधारका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने उल्लेख छ। समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी प्रक्रिया अघि बढाइने सहमति भएको छ।
त्यस्तै, गरिमा चौधरीको सम्झनामा सालिक निर्माणका लागि सहरी विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यक पहल गर्ने तथा पीडित परिवारको रीतिरिवाज र संस्कारअनुसार गरिमाको अन्त्येष्टि गर्ने सहमति भएको छ।
गरिमा हत्या घटनापछि दोषीलाई कडा कारबाही, न्यायको सुनिश्चितता तथा जघन्य अपराधमा कडा कानुनी व्यवस्था हुनुपर्ने माग गर्दै स्थानीयवासी र पीडित परिवार आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा वीरगन्ज–पथलैया सडक अवरुद्ध हुँदा यस क्षेत्रको यातायात तथा औद्योगिक गतिविधिसमेत प्रभावित भएको थियो।
चार दिनपछि सडक खुले पनि घटनाको अनुसन्धान, दोषीमाथिको कारबाही र सरकारसँग भएको नयाँ सहमति कार्यान्वयनको विषय अब मुख्य चासो बनेको छ।