लहान । तीन तहका सरकारमध्ये नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकारअन्तर्गत वडाबाट हुने कामको समेत अपेक्षा प्रतिनिधिसभा सदस्यबाट गर्न थालिएको सिरहा–१ का सांसद तथा पूर्वखेलकुदमन्त्री बब्लु गुप्ताले बताउनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएपछि मतदाता भेटघाट कार्यक्रममा जाँदा स्थानीयवासीले वडा तहबाटै मर्मत तथा सुधार गर्नुपर्ने बाटोघाटो, खानेपानी र सरसफाइका कामको सूचीसमेत बुझाउन थालेको उहाँले बताउनुभयो ।
“नौ वर्षमा स्थानीय, प्रदेश र सङ्घीय सरकारसमेतको गरी पाँच करोडदेखि १० करोड रुपियाँसम्म बजेट स्थानीय तहमा गएको छ । तर गाउँको विद्यालय, एक सय मिटर सडक निर्माण, खानेपानीको व्यवस्था र सामाजिक न्यायका काम भएका छैनन्,” सांसद गुप्ताले सञ्चारकर्मीसँगको भेटघाटमा भन्नुभयो, “सङ्घीय सरकारको सांसदको हैसियतले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सिँचाइ योजनाका लागि ठुलो आकारको सङ्घीय बजेट ल्याउन पहल गर्ने हो । सानातिना काम निष्पक्ष भएर स्थानीय तहले गर्नुपर्ने हो ।”
लहान नगरपालिका–१३ घलेटोलमा स्थानीयवासीसँगको भेटघाटका क्रममा दुई सय मिटर सडकमा ग्राभेल, विद्यालयको सरसफाइ, खानेपानी, बाटो फराकिलो बनाउने तथा सामाजिक न्यायसम्बन्धी समस्या स्थानीय दलित समुदायले राखेको सांसद गुप्ताले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “यी काम स्थानीय तह र वडाले गर्नुपर्ने हो तर भएका छैनन् । आफू निर्वाचित भएको छ महिनामा सङ्घीय स्तरबाट शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा काम गरिरहेका छौँ । स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधिसँग समन्वय गरेर स्थानीय जनताका समस्या समाधानका लागि पहल गर्नेछौँ ।”