पर्सा । बारा फेटा गाउँपालिका–१ त्रिवेणीका पारस ठाकुर मेसिनबाट आलु रोप्छन् । मेसिनले नै आलु खन्छन् । आफ्नो ३ बिघा खेतमा केही वर्षयता दुई बाली आलु पनि फलाइरहेका उनी वर्षमा १० लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन् ।
६९ वर्षीय ठाकुरले आफ्नो मिहनेत र यान्त्रीकरणको प्रयोगले गाउँमै राम्रो आम्दानी गरिरहेका हुन् । उनले हरेक वर्ष असोजदेखि चैतसम्म २ बाली आलु भित्र्याउछन् । त्यसपछि साेही खेतमा एक बाली धान पनि लगाउँछन् ।
कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगन्जले सोमबार आयोजना गरेको हिउँदे बाली प्राविधिकहरुको एक दिवसीय स्थलगत अवलोकन तथा मूल्यांकन भ्रमणमा ठाकुरले फलाएको आलु देखाएका थिए । केन्द्रले सरोकारवालालाई 'पोटाटो डिगर' मेसिनले आलु उखेलेर देखाए ।
उनले वर्सेनि असोज मध्यमा पहिलो आलु बाली लगाएर दुई महिनामै बेच्ने गरेका छन् । '६० दिनमै आलुले पूर्ण आकार पाइसकेको हुँदैन । सानै दाना भए पनि यसले मूल्य राम्रो दिन्छ,' उनले भने । आफूले पहिलो बाली भित्र्याएर बिक्री गरे लगत्तै खेतमा दोस्रो पटक आलु लगाउने गरेको उनले बताए । दोस्रो पटक लगाएको आलु चैत पहिलो सातातिर खन्ने गरेका छन् । 'सामान्यतया आलु बाली ८० दिनसम्म खेतमा राख्नु पर्ने हुन्छ । दोस्रो बालीले पहिलो जस्तो राम्रो मूल्य तत्कालै पाउँदैन,' उनले भने, 'चैतमा खनेको आलु केही दिन भण्डारण गरेर बिक्री गर्दा राम्रै मूल्य पाउँछ, वर्षमा दुई पटक आलुबाट राम्रो कमाई गर्न सकिन्छ ।’
उनले अरुण गोल्ड, केटु र ३७९७ जातका आलु रोप्ने गर्छन् । प्रतिकठ्ठा कम्तीमा १० क्विन्टलको दरले ६ सय क्विन्टल आलु उत्पादन गर्छन् । यसरी एक वर्षमा करिब १ हजार २ सय क्विन्टल आलु उनले सहजै उत्पादन गर्छन् । उनले आलु रोप्ने 'पोट्याटो प्लान्टर मेसिन' ४ लाख रुपैयाँमा खरेका हुन् । ३ वर्षयता यो मेसिन भाडामा लगाएर करिब ३ लाख रुपैयाँ कमाइसकेका छन् । आलु उखेल्ने 'पोट्याटो ड्रिगर मेसिन' उनलाई कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराउने गरेको छ ।
ठाकुरले पहिलो कृषि उपकणको रुपमा २०६९ सालमा ट्याक्टर किनेका थिए । कुनै पनि कृषि उपकरण चलाउन ट्याक्टर आवश्यक पर्ने भएकाले उनले सबैभन्दा पहिले ट्याटर भित्र्याएको बताए । लगत्तै क्रमशः मकैको बोट काटेर माटोमा मिलाउने ह्यारो, माटो तान्ने कल्टिभेटर, माटो सम्याउने लेभलर, काटो काट्ने ल्यान्ड लेभलर, माटो चिरफार गर्ने इन्टरकल्चर अपरेटर मेसिन र माटोलाई भुवादार बनाउने रोटाभेटर, धान झार्ने थ्रेसर मेसिन पनि जोडिसकेका छन् ।
वर्सेनि कृषि मजदुरको अभाव हुँदै गए पनि यान्त्रीकरणले आफूलाई मजदुर अभावले असर नगरेको र खेतीको लागत पनि कम भएको ठाकुरको अनुभव छ । ‘एक त मजदुर पाउनै छाड्यो, त्यस माथि पाइहाले महँगा हुन्छन्,’ उनले भने, ‘कृषि यन्त्र भएपछि हामी परिवारकै सदस्यले सहजै खेतीपाती गर्न भ्याउँछौं ।’
एसएलसीसम्म पढेका यी अगुवा किसान इन्टरनेटबाट कृषि क्षेत्रमा भित्रिएका नयाँनयाँ प्रविधि, उन्नत जातका बीउविजन, अर्गानिक बाली, घरेलु विधिबाट किटनासक बनाउने जस्ता कुराको जानकारी लिइरन्छन् । गत वर्ष भारतको पन्जावमा भ्रमण गरेर त्यहाँका किसानले गर्ने आलु खेतीको विधि र बीउविजनबारे बिस्तृत जानकारी लिएर आएका छन् । त्यहाँका किसानले एलआर र ३७९७ जातका आलु बाली लगाएर नेपाली किसान भन्दा दोब्बर आलु उत्पादन गरिरहेकाले नेपालमा पनि उन्नत जातका आलुको बीउविजन भित्र्याउन आवश्यक भइसकेको ठाकुर बताउँछन् ।
कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जका प्रमुख, इन्जिनियर सचिनकुमार मिश्रा ठाकुर उदाहरणीय किसान रहेको बताउँछन् । त्रिवेणीमा मात्रै हाल ५० बिघा भन्दा बढी खेतमा आलु खेती भइरहेको छ । यहाँ आलु खेती बिस्तारको क्रममा रहेको उनले बताए । इकान्तिपुर