पोखरा । बेलायती खर्बपति व्यवसायी, राजनीतिज्ञ, लेखक तथा परोपकारी लर्ड माइकल एसक्रफ्ट आफ्नो चार दिने पोखरा भ्रमण सकेर आइतबार बेलायततर्फ फर्किएका छन् । गत बिहीबार आफ्नै निजी विमानमार्फत बेलायतबाट माल्टा र सिंगापुर हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी आइतबार दिउँसो ११ घण्टाको सिधा उडान भरेर स्वदेश फर्किए । यो पोखराबाट बेलायतका लागि भएको पहिलो ‘नन्–स्टप’ निजी उडान हो ।
चालक दलका दुई सदस्यसहित बिहीबार बिहान ७:२५ बजे पोखरा विमानस्थलम ओर्लिएका उनी लेकसाइडस्थित होटल ल्यान्डमार्कमा बसेका थिए । चालक दलका सदस्य भने वर पीपल रिसोर्टमा बसे । पोखरा बसाइँका क्रममा उनी ब्रिटिस गोर्खा क्याम्पसँगै रहेको गोर्खा स्मृति संग्रहालय पुगे ।
गोर्खा वीरताको इतिहाससँग दशकौंदेखि गहिरो सम्बन्ध राख्दै आएका उनले संग्रहालयमा पुगेर गोर्खा सैनिकले विश्वभर छरेको वीरताको चर्चा गर्दै उनीहरूको त्याग र समर्पणप्रति सम्मान व्यक्त गरे । म्युजियममा रहेका ऐतिहासिक सामग्री र पदकको अवलोकन गर्दै उनले लामो समय बिताएका थिए । त्यसअघि उनी ब्रिटिस क्याम्पको संयोजनमा पोखराकै अर्मला क्षेत्रमा पदयात्रा पनि निस्किएका थिए ।
चार दिनको पोखरा बसाइँलाई बिट मार्दै उनी आइतबार लन्डनतर्फ प्रस्थान गरेका हुन् । दिउँसो २:२५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उनको निजी जेट डेसल्ट फाल्कन ७ एक्स ११ घण्टापछि लन्डन अवतरण गर्ने विमानस्थलकी सूचना अधिकारी जसुधा रेग्मीले बताइन् । तीनवटा इन्जिन भएको अत्याधुनिक प्रविधिको उक्त विमानले ५ हजार ९ सय नटिकल माइलसम्मको दूरीबिना बिसौनी पार गर्न सक्छ ।
पोखराबाट लन्डनको दूरी करिब ७ हजार ३ सय किलोमिटर रहेकोमा यो विमानले ११ घण्टाको उडानमा उक्त यात्रा पूरा गर्ने रेग्मीले बताइन् । यस्ता उच्च क्षमताका जेटको पोखरामा आवागमन हुनु नेपालको विमानस्थल पूर्वाधारको प्राविधिक सक्षमताको प्रमाण रहेको उनको भनाइ छ ।
२ सयभन्दा बढी ‘भिक्टोरिया क्रस’का संग्रहकर्ता
उनी र गोर्खा सैनिकबीचको सम्बन्ध निकै पुरानो र सम्मानपूर्ण छ । उनी विश्वमै वीरताका लागि दिइने सर्वोच्च बेलायती पदक ‘भिक्टोरिया क्रस’को सबैभन्दा ठूलो निजी संग्रहकर्ता हुन् । उनको संग्रहमा २ सय भन्दा बढी भिक्टोरिया क्रसहरू रहेका छन्, जसमध्ये कैयौं पदक गोर्खा सैनिकले विभिन्न विश्वयुद्ध र सैन्य अभियानका क्रममा देखाएको अतुलनीय साहसका लागि प्राप्त गरेका थिए ।
उनको संग्रहमा रहेका केही अत्यन्तै महत्त्वपूर्ण गोर्खा पदकहरू छन्, जसले नेपाली सैनिकको विश्वव्यापी योगदानलाई झल्काउँछन् । दोस्रो विश्वयुद्धमा बर्माको मोर्चामा अदम्य साहस देखाएका गजे घलेले प्राप्त गरेको भिक्टोरिया क्रस एसक्रफ्टको संग्रहको एक महत्त्वपूर्ण हिस्सा हो । सन् १९४४ मा बर्मामै असाधारण वीरता प्रदर्शन गरेका अगनसिंह राईको पदक पनि उनले संरक्षण गरेका छन् ।
सन् १९०४ को तिब्बत अभियानका क्रममा बहादुरी देखाएका गोर्खा राइफल्सका कर्नल जोन डन्कन ग्रान्टको पदक पनि एसक्रफ्टकै संग्रहमा छ । सन् १८७५ मा मलाया अभियानमा वीरता देखाएका प्रथम गोर्खा रेजिमेन्टका सैनिक जनरल जर्ज निकोलस च्यानरको भिक्टोरिया क्रस पनि उनीसँगै छ । उनले यी पदक व्यक्तिगत सजावटका लागि मात्र नभई वीरताको इतिहासलाई जीवित राख्न संग्रह गरेका हुन् । १५ वर्षसम्म लन्डनको इम्पेरियल वार म्युजियममा प्रदर्शन गरिएका यी पदकलाई अब नयाँ लर्ड एसक्रफ्ट मेडल कलेक्सनमार्फत सार्वजनिक गर्ने उनको योजना छ ।
को हुन् लर्ड माइकल एसक्रफ्ट ?
७९ वर्षीय लर्ड एसक्रफ्ट बेलायतका शीर्ष धनीहरूको सूचीमा पर्ने बहुआयामिक व्यक्तित्व हुन् । उनको पहिचान राजनीतिज्ञ, व्यवसायी, लेखक र परोपकारीका रूपमा छ ।
उनी बेलायतको कन्जरभेटिभ पार्टीका पूर्व उपाध्यक्ष तथा कोषाध्यक्ष हुन् । हाल उनी बेलायती ‘प्रिभी काउन्सिल’को सदस्यका रूपमा सक्रिय छन् । प्रिभी काउन्सिल बेलायती राजपरिवारको सल्लाहकार निकाय हो, जसमा पूर्व मन्त्री र उच्च पदस्थ व्यक्ति मात्र नियुक्त हुन्छन् ।
उनी ‘वाटरलू इन्भेस्टमेन्ट होल्डिङ्स’का अध्यक्ष र विभिन्न बहुराष्ट्रिय कम्पनीका सञ्चालक हुन् । उनको व्यावसायिक साम्राज्य सुरक्षा सेवा, फाइनान्स र निर्माणदेखि विभिन्न क्षेत्रमा फैलिएको छ । बेलायतको सन्डे टाइम्सको धनाढ्य सूचीमा उनी खर्बपतिको शीर्ष स्थानमा थिए ।
राजनीति र वीरताका विषयमा ३१ वटा चर्चित पुस्तकका लेखक एसक्रफ्टले आफ्नो पुस्तक ‘भिक्टोरिया क्रस हिरोज’ र अन्य सैन्य इतिहासका कृतिमा गोर्खा सैनिकको वीरतालाई उच्च स्थान दिएका छन् । उनका पुस्तकमा विस्तृत अनुसन्धान र व्यक्तिगत कथाहरू रहेका हुन्छन्, जसले सैन्य इतिहासलाई जीवन्त बनाउँछन् ।
सन् २०१३ मा ‘गिभिङ प्लेज’मा हस्ताक्षर गर्दै उनले आफ्नो सम्पत्तिको आधाभन्दा बढी हिस्सा परोपकारमा खर्च गर्ने घोषणा गरेका थिए । यो प्रतिज्ञामा वारेन बफेट र बिल गेट्स जस्ता विश्वका शीर्ष धनीहरू आबद्ध छन् । उनी बेलायतमा अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्था ‘क्राइमस्टपर्स’ को पपनि संस्थापक हुन् । उनी र उनको परिवारले गोर्खा सैनिक र उनीहरूका परिवारको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउने गोर्खा वेलफेयर ट्रस्टका विभिन्न कार्यक्रमलाई सहयोग गर्दै आएका छन् ।
उनी केबल पदक संग्रहमा मात्रै सीमित छैनन् । उनले बेलायती प्रधानमन्त्रीको विशेष प्रतिनिधिको रूपमा काम गर्दै भूपू सैनिकको सामाजिक र आर्थिक पुनर्स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनको परोपकारी कार्यमा गोर्खा भेट्रान्सहरू पनि समावेश छन् ।
उनले गोर्खा वेलफेयर ट्रस्टसँग मिलेर नेपालमा बसोबास गर्ने भूपू गोर्खा सैनिक र उनीहरूका परिवारका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गरेका छन् । यसमा शिक्षा, स्वास्थ्य सेवा र आर्थिक सहयोग समावेश छ । उनका पुस्तकबाट आउने रोयल्टी समेत प्रायः परोपकारी काममै खर्च हुने गर्दछ । उनी जनमत सर्वेक्षक पनि हुन् । उनीद्वारा गरिने राजनीतिक सर्वेक्षण विश्वभर विश्वसनीय मानिन्छन् ।
खर्चालु पर्यटकमाझ पोखरा प्रवर्द्धन
पोखरा भ्रमणका क्रममा उनले शुक्रबार सामाजिक सञ्जाल एक्समा माछापुच्छ्रे हिमालको सुन्दर तस्बिर साझा गर्दै ‘गुड मर्निङ फ्रम नेपाल’ लेखेका थिए ।
उनको उक्त पोस्टले पनि अन्तर्राष्ट्रिय स्तरमा पोखराको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा बताउँछन् । ‘यस्तो सामाजिक सञ्जाल प्रचारले पोखरालाई विश्वव्यापी मञ्चमा पुर्याउन सक्छ,’ उनी भन्छन्, ‘एसक्रफ्ट जस्ता प्रभावशाली व्यक्तिले नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दा यसले अन्य खर्चालु पर्यटकलाई समेत आकर्षित गर्छ ।’
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपछि लर्ड एसक्रफ्ट जस्ता उच्च ओहदाका व्यक्तित्वको भ्रमणले नेपालको ‘लक्जरी’ पर्यटनमा ठूलो टेवा पुग्ने उनको विश्वास छ । भन्छन्, ‘निजी जेट लिएर सिधै पोखरा आउने र यहाँबाट ११ घण्टाको सिधा उडान भर्नुले विश्वका अन्य धनाढ्यहरूका लागि पनि यो एक सुरक्षित र सुविधायुक्त गन्तव्य रहेको सन्देश दिएको छ ।’
परिषद्का उपाध्यक्ष हरि भुजेल एसक्रफ्ट जस्ता प्रभावशाली व्यक्ति निजी विमान लिएर पोखरा आउनुले यहाँको विमानस्थलको अन्तर्राष्ट्रिय साख र विलासी पर्यटनको सम्भावनालाई थप बल पुर्याउने बताउँछन् ।
‘यो भ्रमणले पोखरालाई विलासी पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ,’ उनी भन्छन्, ‘यदि यसलाई राम्रोसँग प्रयोग गरियो भने यसले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउन सक्छ ।’ इकान्तिपुर